Comments Add Comment

किसानको दैनिकी : बिस्कुन सुकाउने बेला

घरमा आमाले घरधन्दा सकेर गाईबस्तु फुकाइसकेपछि आमालाई अर्कै चटारोले छोएको हुन्छ । त्यो हो बिस्कुन सुकाउने काम । झट्ट हेर्दा त्यो कुनै काम हो जस्तो देखिँदैन । आमाको घरमा यस्तै कामहरु धेरै हुने गर्छन् । त्यही मध्येको एउटा बिस्कुन सुकाउने काम पनि बेला बेलामा आइरहन्छ ।

गाउँघरमा एउटा ठूलो त्रिपाल या प्लास्टिकलाई विशेषगरी आँगन या अरु खुल्ला ठाउँमा सुकाएपछि धेरैलेअनुमान गर्छन्, पक्कै पनि अब यहाँ केही न केही अन्न राखिन्छ । यही नै एक किसिमको बिस्कुन हो ।

बिस्कुनमा जति पातलो हुनेगरी अन्न राख्यो त्यति नै छिटो सुक्ने भएकोले सकेसम्म धेरै क्षेत्रफलमा यस्ता प्लास्टिकहरु बिच्छ्याउने गरिन्छ । यसमा एकातिर घामको प्रत्यक्ष किरणले अन्नमा रहेको पानीको मात्रा सोस्ने गर्छ भने बिस्कुन सुकाउँदा पनि घामले छिट्टै तातो हुने प्लास्टिक या गुन्द्री जस्ता समग्रीमा सुकाउने गरिन्छ । गाउँघरको मौसम, दिउँसोको समय नै बिस्कुनको लागि आवश्यक समय हो । ठीक १० बजेपछिको घाममा सुकाउन राखिने बिस्कुन साँझ घाम ढल्किनुभन्दा केही अघि नै उठाइन्छ ।

शहरमा भने यसको शैली केही भिन्न हुन्छ । यहाँ ढुंगा बिच्छ्याईएको ठाउँमा सफा गरेर त्यसैको माथि बिस्कुन सुकाउने गरिन्छ । या त पिच गरेको गाउँमा पनि सफा गरेर बिस्कुन सुकाउने गरिन्छ । पिच र डुंगा समेत घामको तापले छिट्टै तात्ने भएकोले यहाँ कुनै प्लास्टिक या त्रिपालको आवश्यकता नपरेको हो ।

बिस्कुन र गाउँले जीवन

यद्यपि बिस्कुन र गाउँले जीवनको छुट्टै महत्व हुन्छ । मंसिरमा फलेको धान घर भित्र्याएसँगै धेरैको घर आगनमा बिस्कुनको लहरै लाग्ने गर्छ । त्यही बिस्कुन नै घाममा सुकाएपछि कुटेर चामल बनाउन लायकको बन्छ ।

बिस्कुन र घामबीच पनि अन्योन्याश्रति सम्बन्ध हुने गर्छ । नेपालीमा एउटा उक्ति नै छ । ‘जुनमा बिस्कुन सुक्दैन’ भन्ने । सामान्य किसिमको घामको तापमा र उदाउँदो र अस्ताउँदो घाममा बिस्कुन सुकाईँदैन । यो त केवल मध्याहृनको आसपासको घामको तापमा मात्रै बिस्कुन सुकाउन सकिन्छ । साँझ घाम अस्ताउने बेलामा बिस्तारै सित पर्न थाल्ने भएकोले घाम अस्ताउनुभन्दा निकै अघि नै बिस्कुन उठाउनु पर्छ । त्यसैले बिस्कुन भनेको कुनैपनि अन्नलाई घाममा सुकाएर त्यसको ओसिलोपना कम गराउने शैली हो ।

गाउँ घरमा बिस्कुन चराहरुको आहारा पनि हो । बिस्कुन सुकाएको घरमा आएका चराचुरुङ्गीहरु भोकै फर्किनु पर्दैन । प्रायः बिस्कुन सुकाएर गोठालो बस्ने गरिँदैन । धेरै धान या मकै सुकाएको बेलामा चराहरुको गोठालो लाग्नेभन्दा पनि उनीहरु आएर खाउन् भन्ने सोचाई धेरैको हुन्छ । त्यसैले त गाउँघरमा बिहान बिस्कुन सुकाएर गएकाहरु एकैपटक बेलुका आएर मात्रै उठाउने गर्छन् ।

नेपाली शब्दकोशले बिस्नुकलाई आफ्नै किसिमले परिभाषित गरेको छ । शब्दकोषका अनुसार ‘घाममा सुकाउनका निम्ति पाँजिएको वा फिँजाईएको अन्न नै बिस्कुन हो ।’ यो आफैंमा मेलोमेसो बिना नै फिँजाईएको हुन्छ । सबै चिजहरु अलपत्र हुन्छन् । यही नै हो बिस्कुनको विशेषता ।

बिस्कुनको बारेमा लेखक सौरभले एक आलेखमा उल्लेख गर्दै यसलाई चराचुरुङ्गीहरुसँग सम्बन्धित गराएका छन् । उनले ‘बिस्कुन काठमाडौंको काँठ क्षेत्रमा जब धान वा अन्य अन्न सुकाइन्छ त्यसैको नाम भएको’ उल्लेख गरेका छन् । यो बिस्कुन शब्द बि र सकुनबाट बनेको हो । जसमा सकुनको अर्थ चरा बोधक नाम हो भन्ने उनको बुझाई छ । त्यसैले यो चरालाई अन्न पस्किने संस्कार रहेको उनले बताएका छन् ।

तर, यो चरालाई पस्किएको हो नै भन्न सकिने आधार भने देखिँदैन । पहिलेपहिले ढिकीमा धान कुट्ने बेलामा होस् या त जाँतोमा मकै पिस्ने बेलामा पनि पूरा नसुकेको धान काटिएर कनिका जस्तो हुने गर्छ । त्यस्तै मकै पनि नसुकाई पिस्दा राम्रोसँग पिठो आउने गर्दैन । त्यसैले यो चरालाई पस्किने नभई कुट्न वा पिस्न सजिलो होस् भन्नको लागि बिस्कुन सुकाउने गरिन्छ ।

मंसिरमा भित्र्याईएको धान सबै एकैपटक राम्रोसँग पाकेका हुँदैनन् । घमाईलो ठाउँमा फलेका बाहेक घामको ओझेलमा परेको गरामा पर्ने धानहरु त मंसिरसम्म पनि काँचा नै हुन्छन् । त्यस्ता धान कुट्नको लागि असहज हुने भएकोले त्यस्ता धानहरुलाई ध्यानमा राखेर बिस्कुनमा सुकाउने गरिन्छ । त्यसलाई दिनमा तीन/चार पटक चलाएर तल परेका अन्नलाई माथि हुँडलेर ल्याउने गरिन्छ । यसरी एक दिनभरी बिस्कुनमा सुकाएपछि मात्रै त्यो धान कुट्न लायकको हुने गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment