Comments Add Comment

कसरी ठगिन्छन् विदेशी पाहुना ?

आन्तरिक उडानमा विदेशी पर्यटकमाथि चर्को विभेद

काठमाडौं । नेपाली र भारतीयबाहेक तेस्रो मुलुकबाटआउने पर्यटकलाई माउन्टेन फ्लाईटको भाडा जति तोकिएको छ त्यही भाडाले भारतीय पर्यटकलाई माउन्टेन फ्लाईटबाट फर्किएर पनि फेरि पोखरा जान पुग्छ । तेस्रो देशका पर्यटकहरुले पोखरा जानको लागि जति भाडा तिर्छन् त्यही भाडाले भारतीय पर्यटकहरुलाई भने तीन पटक पोखरा जान आउन पुग्छ । त्यतिमात्रै होइन एकपटक विदेशीले पोखरा जाँदा तिर्नुपर्ने भाडाले नेपाली र भारतीयहरु दिल्ली पुग्न सक्छन् । अर्थात् काठमाडौंबाट दिल्ली पुग्नभन्दा महंगो छ पोखरा जान ।

यी माथिका उदाहरणहरु भारतीय पर्यटकको खर्च गर्ने शैलीका कारण होइन, एयरलाइन्स कम्पनीहरुले भारतीय र अरु पर्यटकलाई गरेको विभेदका कारण भाडामा आएको भिन्नता हो । जसका कारण एउटै गन्तव्यमा पुग्नको लागि अन्य देशका पर्यटकहरुले ३ गुणासम्म बढी भाडा तिर्नुपर्ने बाध्यता छ ।

कुनै पनि एयरलाईन्सबाट नेपालभरी यात्रा गर्नको लागि नेपाली र भारतीयहरुले मात्रै नेपाली मुद्रामा टिकट काट्न पाउने व्यवस्था विद्यमान छ । यसबाहेकका सबै मुलुकहरुले अमेरिकी डलरमा भुक्तानी गरेर मात्रै टिकट लिन सक्छन् । यही व्यवस्थाका कारण नेपालीहरुले पाउने सुविधामा भारतीयहरु सस्तो दरमा यात्रा गरिरहेका छन् भने अन्यदेशका पर्यटकहरु हरेक यात्रामा ठगिने गरेका छन् ।

पर्यटक भड्काउने परिपाटी

सरकारले २०२० लाई भ्रमण वर्षको रुपमा धुमधामका साथ मनाउने तयारी गरिरहेको छ । आउँदो वर्ष २० लाख पर्यटक भित्र्याउनलक्ष्य बोकेको सरकारले तामझामका साथ यसको प्रचारप्रसार पनि गरिरहेको छ । पर्यटकहरुलाई विभिन्न किसिमका सेवा सुविधा दिने विषयमा पनि सरकार सक्रियताका साथ लागिरहेको छ । तर, विदेशी पर्यटकहरु ठगिँदै आएको आन्तरिक उडानमा भने पर्यटकहरुलाई सुविधा दिने विषयमा कुनै योजना अघि सारिएको छैन ।

पर्यटन क्षेत्रका जानकारहरु आन्तरिक उडानमा रहेको यो विभेदकारी व्यवस्थाले भ्रमणवर्षमा समेत असर गर्ने बताउँछन् । एउटै गन्तव्यमा पुग्ने कुनै पर्यटकलाई ६ हजार रुपैयाँ लिने र कसैलाई २१ हजार रुपैयाँसम्म लिने परिपाटीका कारण निश्चित ठाउँमा पुगेका पर्यटकहरु अर्काे गन्तव्यमा जान डराउन सक्ने पर्यटन व्यवसायीहरु बताउँछन् । भाडामा देखिएको यो भिन्नताका कारण पर्यटकको भ्रमण छोटिन सक्ने आशंका मन्त्रालयका अधिकारीहरुको समेत छ । पर्यटन व्यवसायीहरुले नेपाल आएका पर्यटकहरु यात्राकै क्रममा ठगिनुपर्ने यस्ता विभेदकारी नीति नसच्याउने हो भने अन्तराष्ट्रिय स्तरमा नेपालको छवि राम्रो नहुने चेतावनी समेत दिएका छन् ।

कमिसनको लागि मनपरी शुल्क

एउटा भारत बाहेकको विदेशी पर्यटकले काठमाडौंबाट पोखरा जानको लागि १२३ डलर तिर्नुपर्छ । जबकी नेपाल एयरलाइन्समा सस्तो दरमा टिकट पाएको बेलामा ८० डलरसम्ममा भारतको राजधानी दिल्ली पुग्न सकिन्छ । समयको हिसाबमा पनि काठमाडौंबाट पोखरा आधा घण्टाको यात्रामा पुग्न सकिन्छ भने दिल्लीको लागि एक घण्टा ४० मिनेट यात्रा गर्नुपर्छ ।

यो समाचार तयार पार्दा (शनिबार)सम्मको विनिमय दर अनुसार उसले नेपाली १४ हजार ४ सय ४५ रुपैयाँ हुन पोखरा जानको लागि मात्रै तिर्नुपर्छ । काठमाडौंबाट पोखरा नै जानको लागि भारतीय र नेपाली पर्यटकहरुले भने न्यूनतम २७ सय रुपैयाँदेखि अधिकतम ५ हजार ५० रुपैयाँसम्म तिरे हुन्छ । यो झण्डै ३ गुणा बढी मूल्य अरु केही नभएर कमिसनकै लागि लिइने गरेको हो ।

काठमाडौंबाट पोखरा जाने विदेशी यात्रुसँग १२३ डलर लिएबापत त्यसको २५ प्रतिशतले हुन आउने ३० डलरभन्दा धेरै पैसा ट्राभल एजेन्सीले कमिसनबापत पाउँछन् । सोही कमिसनको लागि नै पर्यटकहरु चर्काे मूल्य तिर्न बाध्य छन् । त्यसैमाथि डलर फेयरमा भने सिट खाली हुँदा पाइने छुट पनि दिने गरिएको छैन ।

बुद्ध एयरका मार्केटिङ डाइरेक्टर रुपेश जोशीले डलर फेयरमा महंगो शुल्क नलिने हो भने एयरलाइन्स सञ्चालन गर्न नसकिने जानकारी दिए । डलर फेयरमा अरुभन्दा धेरै कमिसन पनि दिनुपर्ने भएकोले डलर फेयरको शुल्क घटाउने हो भने नेपाली यात्रुहरुको भाडा बढाउनुपर्ने उनको तर्क छ ।

कहाँ जाँदा ट्राभल एजेन्सीलाई कति कमिसन ?

ट्राभल एजेन्सीहरुले डलर फेयरमा सबैभन्दा कम काठमाडौंबाट सिमारा र सुर्खेत जाँदा ९ प्रतिशत मात्रै कमिसन पाउने गरेका छन् । यही दर विराटनगरबाट तुम्लिङटार जाँदा, पोखराबाट नेपालगञ्ज जाँदा पनि पाइन्छ । काठमाडौंबाट भरतपुर जाँदा र पोखराबाट काठमाडौं आउँदा १५ प्रतिशत मात्रै कमिसन ट्राभल एजेन्सीले पाउने गरेका छन् ।

मन्त्रालय भन्छ,’डलर फेयर नै हटाउनुपर्छ’

उता, मन्त्रालयले भने यसरी ठगी हुने गरेको विषय सुनाएपछि यसबारे मन्त्रालय गम्भीर रुपमा अघि बढिरहेको बताएको छ । भ्रमण वर्षमा घुम्न आएका पर्यटकहरुलाई महंगो शुल्क लिनु नित्तान्त राम्रो नभएको भन्दै मन्त्रालयले अध्ययन गरेर आवश्यक परेमा डलर फेयर नै हटाउने जनाएको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका सहसचिव सुरेश आचार्यले नेपाली र भारतीय पर्यटकको तुलनामा ३ गुणाभन्दा धेरै शुल्क विदेशीसँग उठाउनु जायज नरहेको बताए । उनले एयरलाइन्सले आधामात्रै राखेर बाँकी एजेन्टहरुलाई कमिसन दिने गरेको गुनासो मन्त्रालयमा समेत आएको बताएका छन् । विदेश जाँदा पनि नेपाली भएकै आधारमा महंगो भाडा तिर्नु नपर्ने भन्दै नेपालमा पनि यो विषयलाई पारदर्शी गराउनुपर्ने तर्क आचार्यले गरे ।

८० प्रतिशत पर्यटकमाथि ठगी

विदेशीलाई भिन्दै भाडा र स्वदेशीलाई भिन्दै भाडा लगाउने प्रचलन नेपालमा दशक अघिदेखि चल्दै आएको छ । पहिले भारतमा पनि यही प्रचलन थियो । त्यसैको सिको गरेर नेपालमा ल्याएको भएपनि भारतले दुईवटा हवाई भाडादर हटाएको एक दशकपछिसम्म पनि नेपालले भने हटाउन सकेको छैन । सन् २००७ देखि नै भारतले स्वदेशी र विदेशीलाई भिन्दा भिन्दै भाडादर हटाएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

नेपाली वायुसेवा कम्पनीहरुले अहिले उठाउँदै आएको भाडादर परिवर्तन भएन भने नेपाल भ्रमण वर्ष सफल गराउन आउने झण्डै ८० प्रतिशत पर्यटकहरु आन्तरिक उडानमा ठगिने निश्चित छ । नेपाल सरकारले कूल २० लाख पर्यटक प्रक्षेपण गरेकोमध्ये जम्मा ४ लाख मात्रै भारतीय पर्यटक आउने अनुमान छ । यसबाहेक १६ लाख पर्यटकहरु तेस्रो मुलुकबाट आउने अपेक्षा गरिएको छ ।

नियामक निकायले तोकेको नियम अनुसार नेपाली र भारतीय पर्यटकहरुले नेपाली मुद्रामा टिकट काट्न सक्छन् । बाँकी पर्यटकहरुले अनिवार्य रुपमा अमेरिकी डलरमा टिकट काट्नु पर्ने हुन्छ ।

सूचीमा हेर्नुहोस् पर्यटकहरुको आगमन

कुन कुन उडानमा कति छ भिन्नता ?

विभिन्न निजी हवाई सेवा प्रदायकहरुले हवाई टिकट काट्ने ट्राभल एजेन्सीहरुलाई दिएको भाडा दर अनुसार काठमाडौंबाट झापाको भद्रपुर जानको लागि नेपाली मूल्यमा सस्तोमा ५५ सय रुपैयाँदेखि महंगोमा नौ हजार एक समय रुपैयाँसम्म तिर्नुपर्छ । महंगो र सस्तोको फरक टिकट फिर्ता हुने नहुने जस्ता सेवामा आधारित हुने गरेको छ । तर, नेपाली र भारतीय नागरिकबाहेक अरुको लागि अनिवार्य गरिएको अमेरिकी डलरमा भाडा तिर्नुपर्नेको लागि १३९ अमेरिकी डलर तोकिएको छ । यो मूल्य यो समाचार तयार पार्दाको दिनको डलरको मूल्य अनुसार २० हजार ८ सय ५० हुन आउँछ ।

त्यस्तै, काठमाडौंबाट भरतपुर जाने नेपाली एवं भारतीय यात्रीले कर सहित २९ सय ५० रुपैयाँदेखि ३६ सय ५० रुपैयाँसम्म तिर्नुपर्छ । तर, अमेरिकी डलरमा भाडा तिर्नुपर्नेको लागि भने यो दर ११० डलर अर्थात् १२ हजार ६ सय ६० नेपाली रुपैयाँ छ । यो विदेशी भाडा भारतीयको लागि भन्दा साढे ३ गुणा बढी हो ।

काठमाडौंबाट विराटनगर जानको लागि नेपाली र भारतीय नागरिकको लागि ट्याक्स सहितको भाडा ४७ सय रुपैयाँदेखि ७ हजार ५५० रुपैयाँसम्म छ । तर, अमेरिकी डलरमा भाडा तिर्नेहरुको लागि भने ११५ डलर अर्थात् १३ हजार २२५ रुपैयाँ तिर्नुपर्छ ।

काठमाडौंबाट भैरहवासम्म जानको लागि नेपाली तथा भारतीय यात्रीको भाडा ४३ सय रुपैयाँदेखि ६२ सय रुपैयाँसम्म रहेको छ । तर, अमेरिकी डलरबाट भाडा तिर्नेहरुको लागि भने यो मूल्य ११३ डलर अर्थात् १२ हजार ९ सय ९५ रुपैयाँ लाग्ने गरेको छ ।

काठमाडौंबाट धनगढी जानको लागि एउटा नेपाली या भारतीय यात्रुले ५ हजार ९ सय रुपैयाँदेखि १२ हजार ६ सय ५० रुपैयाँसम्म तिर्नुपर्ने हुन्छ । तर, यही यात्रामा कुनैपनि तेस्रो देशमा पर्यटकहरुले भाडा तिर्दा २५ हजार ५२३ रुपैयाँ तिर्नुपर्ने हुन्छ ।

यस्तै विभेदकारी शुल्क काठमाडौंबाट जनकपुर जाँदा, काठमाडौंबाट नेपालगञ्ज जाँदा, पोखरा, सिराहा, सुर्खेत तुम्लिङटार जाँदाको लागि पनि तोकिएको छ ।

माउन्टेन फ्लाइटमा त्यस्तै मनोमानी

माउन्टेन फ्लाईटमा जानेमाथि त झनै अर्काे किसिमको मनोमानी छ । काठमाडौंबाट माउन्टेन फ्लाईट जानको लागि नेपाली मुद्रामा भाडा तिर्दा ११ हजार ३ सय रुपैयाँ तिरे हुन्छ । तर, डलरमा पैसा तिर्दा २२ हजार ८८५ रुपैयाँ तिर्नुपर्ने हुन्छ । दोब्बरभन्दा धेरै आम्दानी हुने भएकोले माउन्टेन फ्लाईटमा नेपाली र भारतीयहरुलाई सकेसम्म ट्राभल एजेन्सीहरुले समेत टिकेट नदिने गरेको आरोप लाग्ने गरेको छ ।

यो पनि पढ्नुहोस पाहुनाका अनौंठा आनीबानी : इजरायलीले होटलमा कोठा पाउँदैनन्, खर्चै गर्दैनन् एशियन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment