Comments Add Comment

तीन महिनादेखि स्वास्थ्य केन्द्र डाक्टरविहीन

६ मंसिर, रामेछाप । लिखु तामाकोसी गाउँपालिका-६ खिम्तिको प्राथमिक स्वास्थ्य केन्द्र ३ महिनादेखि डाक्टरविहीन भएको छ । डाक्टर नहुँदा स्वास्थ्य केन्द्रमा जाने बिरामीहरु स्वास्थ्य सेवाबाट बञ्चित भएका छन् ।

स्वास्थ्य केन्द्रका डाक्टर गुटी झा समायोजन भएपछि ३ महिना पहिल्यै सरुवा भए । उनको सरुवा भएपछि स्वास्थ्य केन्द्रमा नयाँ डाक्टर आएका छैनन् ।

तामाकोसी मावि खिम्तिका शिक्षकसमेत रहेका स्थानीय गणेश दाहाल घरै अगाडि स्वास्थ्य केन्द्र भए पनि चिकित्सक नहुँदा उपचार पाउन नसकेको बताउँछन् । उपचारको लागि खिम्तिवासीले सदरमुकाम मन्थली पुग्नु पर्ने बाध्यता रहेको उनले बताए ।

लिखु तामाकोसीका बासिन्दाका साथै मन्थली नगरपालिका, गोकुलगंगा गाउँपालिका र दोलखा जिल्लाका बिरामी स्वास्थ्य चौकीमा उपचारका लागि बिरामी आउने गर्छन् । तर, डाक्टर नहुँदा उनीहरु अहेबसँग सामान्य जाँच गराएर फर्किने गरेका छन् ।

स्वास्थ्य कार्यालय रामेछापकी प्रमुख विद्या खनालले पनि पुराना डाक्टर सरुवा भएर गएको र समायोजना भएर आउने नयाँ डाक्टर नआएकोले समस्या भएको बताइन् । नयाँ डाक्टर आउने नआउने केही भन्न नसकिने उनको भनाइ छ ।

स्वास्थ्य केन्द्रमा डाक्टर नभएपछि सेवा प्रवाहमा समस्या भएको भन्दै डाक्टरको व्यवस्था गर्न स्वास्थ्य चौकी व्यवस्थापन समितिले त्यतिबेलै गाउँपापालिकामा माग गरेको थियो ।

तर, गाउँपालिका अध्यक्ष र उपाध्यक्ष फौजदारी मुद्दाको विवादमा फसेकोले स्व्ाास्थ्य चौकीमा डाक्टर नभएको विषयमा उनीहरुको ध्यान गएको छैन ।

अन्य स्थानीय तहले आफ्नै स्रोतमा स्वास्थ्यकर्मीहरु राखी सेवा प्रवाह गरिरहेका छन् । तर, यो प्राथमिक स्वास्थ्य केन्द्रमा दरबन्दी  भए पनि डाक्टर छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment