Comments Add Comment

यी हुन् विश्वका सर्वोत्कृष्ट सुपर कम्प्युटर

विश्वका सबैभन्दा तीव्र गतिका सुपर कम्प्युटरहरूको नयाँ सूची सार्वजनिक भएको छ ।

उत्कृष्ट सुपर कम्प्युटरको अर्धवार्षिक सूची टप ५०० को नयाँ सूचीमा चिनियाँ र अमेरिकी सुपर कम्प्युटरको दबदबा कायमै रहेको छ ।

अमेरिकी कम्पनी आईबीएमले तयार पारेको समिट नामक सुपर कम्प्युटर विश्वका सर्वाधिक तेज सुपर कम्प्युटरको सूचीमा पहिलो नम्बरमा रहेको छ ।

अमेरिकाको ओक रिज नेसनल ल्याबमा जडित यो सुपर कम्प्युटरको क्षमता १४८.६ पेटाफ्लप्स रहेको छ ।

अमेरिकाको लरेन्स लिभरमोर नेसनल ल्याबमा जडित सिरा सुपर कम्प्युटर दोस्रो स्थानमा रहेको छ । यो पनि आइबिएम कम्पनीले नै बनाएको हो । यसको क्षमता ९४.६ पेटाफ्लप्स छ ।

तेज सुपर कम्प्युटरको तेस्रो स्थानमा चिनियाँ सुपर कम्प्युटर सनवे ताइहुलाइट रहेको छ । चीनको वुसीस्थित नेसनल सुपर कम्प्युटिंग सेन्टरमा यो कम्प्युटर जडित छ । यसको क्षमता ९३ पेटाफ्लप्स रहेको छ ।

चीनकै तियान्हे टु ए नामक सुपर कम्प्युटर विश्वको सबैभन्दा तीव्र गतिको सुपर कम्प्युटरको चौथो स्थानमा रहेको छ । ग्वान्झाउस्थित नेसनल सुपर कम्प्युटर सेन्टरमा जडित यो कम्प्युटरलाई चीनको प्रतिरक्षा प्रविधि विश्वविद्यालयले तयार गरेको हो । यसको क्षमता ६१.४ पेटाफ्लप्स छ ।

अमेरिकाको टेक्सासस्थित एड्भान्स्ड कम्प्युटिंग सेन्टरमा रहेको फ्रोन्टेरा नामक सुपर कम्प्युटर पाँचौं स्थानमा रहेको छ । यो डेल कम्पनीले बनाएको सुपर कम्प्युटर हो । यसको क्षमता २३.५ पेटाफ्लप्स रहेको छ ।

स्विजरल्याण्डको स्विस नेसनल सुपर कम्प्युटिंग सेन्टरमा रहेको पिज डाएन्ट कम्प्युटर छैटौं तेज सुपर कम्प्युटर हो । यसको क्षमता २१.२ पेटाफ्लप्स हो । यो युरोपकै सबैभन्दा तीव्र गतिको सुपर कम्प्युटर पनि हो ।

अमेरिकाको लस अलामोस नेसनल ल्याब तथा सान्डिया नेसनल ल्याबमा रहेका ट्रिनिटी सुपर कम्प्युटर सातौं स्थानमा छ । यसको क्षमता २०.२ पेटा फ्लप्स रहेको छ ।

विश्वको आठौं तीव्र गतिको सुपर कम्प्युटरको रूपमा जापानको सुपर कम्प्युटर परेको छ । नेसनल इन्स्टिच्युट अफ एडभान्स्ड इन्डस्ट्रियल साइन्स एण्ड टेक्नोलोजीमा जडित एबीसीआई नामक कम्प्युटर फुजित्सु कम्पनीले बनाएको छ । यसको क्षमता १९.९ पेटाफ्लप्स रहेको छ ।

जर्मनीको लिबनिजस्थित सुपर कम्प्युटिंग सेन्टरमा रहेको सुपर एमयुसी एनजी कम्प्युटर नवौं तेज सुपर कम्प्युटर हो । जसको क्षमता १९.५ पेटाफ्लप्स छ । यसलाई लेनोभो कम्पनीले बनाएको हो ।

विश्वका तीव्र गतिका सुपर कम्प्युटरको दशौं स्थानमा अमेरिकाको लासेन सुपर कम्प्युटर रहेको छ । यसको क्षमता १८.२ पेटाफ्लप्स रहेको छ ।

विश्वका तीव्र गतिका ५ सय सुपर कम्प्युटरमध्ये २ सय २७ वटा चिनियाँ सुपर कम्प्युटर रहेका छन् । दोस्रो स्थानमा अमेरिका रहेको छ । ५ सय सुपर कम्प्युटरमध्ये १ सय १८ अमेरिकी कम्प्युटर रहेका छन् । त्यस्तै जापानका २९ वटा, जर्मनीका १६ वटा, नेदरल्याण्डका १५ वटा, आयरल्याण्डका १४ वटा र बेलायतका ११ वटा सुपर कम्प्युटर टप ५०० मा परेका छन् ।
एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment