Comments Add Comment

प्रधानमन्त्रीको शैली हिटलरको जस्तो : रेणु यादव

पार्टी अध्यक्ष स्वदेश फर्केपछि सरकारबारे निर्णय गर्छौं

७ मंसिर, काठमाडौं । सत्ता साझेदार समाजवादी पार्टीकी उपाध्यक्ष रेणुकुमारी यादवले मन्त्रिमण्डल पुनर्गठनमा प्रधानमन्त्री केपी शर्मा ओलीले हिटलरवादी शैली अपनाएको बताएकी छन् । मन्त्रीहरू हेरफेर गर्दा सत्ता साझेदार पार्टीलाई जानकारीसमेत नदिएको यादवको आरोप छ ।

पूर्वमन्त्रीसमेत रहेकी नेतृ यादवले अर्को एक फरक प्रसंगमा राजपाका ६ नेताको व्यवस्थापन नै दुई पार्टीबीचको एकताको बाधक रहेको धारणा राखिन् । यद्यपि एकिकरणका लागि आफ्नो पार्टी सरकार छाड्न समेत तयार रहेको उनको भनाई छ ।

प्रस्तुत छ, नेतृ यादवसँग अनलाइनखबरले गरेको वार्तालापको संक्षिप्त अंश :

मन्त्रिपरिषद पुनर्गठनका बेला सत्ता साझेदार पार्टीका नाताले हामीसँग कुनै परामर्श भएन । हाम्रो पार्टी अध्यक्ष देश बाहिर भएका बेला मन्त्रीहरू हेरफेर भए । त्यति मात्र होइन, उपप्रधानमन्त्रीज्यूको मन्त्रालय फेरियो । हाम्रो पार्टीका नेता सुरेन्द्र यादवलाई सोध्दै नसोधी राज्यमन्त्रीबाट हटाइयो । उहाँको उपचार चलिरहेको थियो ।

को मन्त्री हटे भन्नुभन्दा पनि यो शैली राम्रो भएन । यो हिटलरवादी शैली भयो । यस्तो शैली समाजवादी पार्टीका लागि मात्र होइन, समग्र राजनीतिकै लागि सोचनीय विषय हो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कै बहुमत हुँदाहुँदै हामी सरकारमा छौं । हामी नबस्दा पनि सरकारलाई फरक पर्दैन । तर, जसरी मन्त्रीहरू फेरबदल भए, त्यो शैली वास्तवमै राम्रो होइन । राजनीतिमा मात्रै होइन, व्यवहारिक जीवनमा पनि यस्तो शैली राम्रो हुँदैन ।

प्रधानमन्त्रीज्यूमा मै सबथोक हुँ भन्ने सोचाइ देखियो । मैले जे गरे पनि हुन्छ भन्ने हिटलरको जस्तो शैली देखियो । यसले गलत सन्देश गएको छ । यसले सरकारको उचाइ घटेको छ, बढेको छैन ।

एकपटक प्रधानमन्त्रीलाई भेट्छौं

संविधान संशोधन गर्न सरकारलाई पनि सहयोग पुगोस् भनेर हामी सरकारमा सहभागी भएका हौं । दुई बुँदे समझदारी गरेर हामी सरकारमा गएका हौं । तर, संविधान संशोधनको मुद्दामा सरकार गम्भीर देखिएन । अब पार्टी अध्यक्ष फर्कनु भएपछि सरकारमा बस्ने कि नबस्ने निर्णय गर्छौं ।

संविधान संशोधन समाजवादी पार्टीको मात्रै माग होइन । संविधानप्रति विभिन्न क्षेत्र, जाति लगायतको असन्तुष्टि छ । मधेसी, महिला, आदिवासी जनजाति, दलित, अपाङ्गता भएका, पिछडिएका क्षेत्रका जनताहरूले संशोधनको माग गरिरहेका छन् । आ-आफ्नो क्षमताअनुसार उनीहरूले आवाज उठाई पनि रहेका छन् ।

त्यसकारण समानुपातिक समावेशिता, पहिचानको मुद्दामा धेरैको जोड देखिन्छ । त्यो मुद्दा सम्बोधनका लागि हाम्रो संख्या थोरै भए पनि दुई तिहाइ पुर्‍याउन हामी सरकारमा बसेका हौं । तर, सरकार यसमा त्यति गम्भीर देखिएन ।

यो विषयमा हामी एकपटक प्रधानमन्त्रीसँग कुरा गछौर्ं । उहाँको के समस्या छ त्यो पनि बुझ्छौं । प्रधानमन्त्रीज्यूलाई हाम्रो समर्थन चाहिएको हो कि होइन सोध्छौं र निर्णय लिन्छौं ।

एकताको बाधक नेता व्यवस्थापन

राष्ट्रिय जनता पार्टी (राजपा) सँगको एकताको कुरा धेरै अगाडि बढिसकेको छ । उपनिर्वाचनमा केन्दि्रत भएकाले तत्काललाई रोकिएको हो । विभिन्न जिल्लामा दुई पार्टी मिलेर चुनाव लडिरहेका छौं ।

कतिपयले हामी सरकारमा बस्नुलाई एकीकरणको बाधक भन्ने रुपमा पनि लिएका छन् । तर, यो कुरा सही होइन । एकीकरणका लागि नभई नहुने नीति, व्यवहार कुराहरू मिलेपछि सरकार छाड्न गाह्रो छैन ।

खासमा समस्या राजपाका ६ जना नेता व्यवस्थापनको हो । समाजवादीतर्फ त्यस्तो समस्या केही पनि छैन । हामी पार्टी मिलाउन तयार नै छौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment