Comments Add Comment

जेठो लघुवित्तको वृतान्त : निर्धनका हरिहर

९ मंसिर, काठमाडौं । गरीब अर्थात धन नभएका मान्छेहरु । अझ भनौं समाजमा अपहेलित हुने एउटा ठूलो समूह । हाम्रो समाजमा वित्तीय स्रोतबाट बन्चितहरु जहिल्यै गरीब रहे र अरुको सेवा गरिरहे ।

अरुको सेवामा जीवन बिताउने गरीबहरुको कसरी होला त उत्थान ? नेपाल राष्ट्र बैंकका दिवंगत डेपुटी गभर्नर डा. हरिहरदेव पन्तको मनमा यो प्रश्न खेलिरहन्थ्यो । जागिरको क्रममा देश-विदेशमा काम गरेका उनले केन्द्रीय बैंकको माथिल्लो ओहदामा रहँदा यसमा निकै गम खाए ।

विदेशका गाउँहरुमा वित्तीय स्रोत परिचालनका लागि गरिएका कामहरुबाट उनलाई नेपालमा पनि केही गर्न सकिन्छ भन्ने लाग्यो । त्यसैको परिणाम हो, आज प्रायः सबैले सुनेको/जानेको निर्धन उत्थान बैंक ।

करिब तीन दशक राष्ट्र बैंकमा बिताएका डा. पन्तले सुरुमा गैर-सरकारी संस्था ‘निर्धन’ को परिकल्पना गरे, जसबाट निर्धन उत्थान बैंक जन्मियो । यो नै नेपालको बैंकिङ इतिहासमा पहिलो लघुवित्त संस्था थियो ।

लघुवित्तको परिकल्पना

विश्व लघुवित्तको इतिहासमा बंगलादेशी मोडललाई सर्बाधिक सफल मानिन्छ । त्यसका प्रयोक्ता डा. मोहम्मद युनुस नोवेल शान्ति पुरस्कारबाट समेत सम्मानित भए । युनुसको मोडल अहिले संसारभर प्रचलनमा छ ।

बैंकिङ पहुचभन्दा टाढाका जनतालाई सामूहिक जमानी वा बिना धितो सा-सानो ऋण सुविधा दिएर आर्थिक क्रियाकलापमा सहभागी गराउँदै बचत गर्ने बानी बसाउनु लघुवित्त अवधारणाको उद्देश्य हो । नेपालमा यसको सुरुवात डेपुटी गभर्नर डा. पन्तले गरेका थिए ।

डा. हरिहरदेव पन्त

सन् १९६८ मा राष्ट्र बैंक प्रवेश गरेका बैंकको अनुसन्धान, नियमन, सुपरीवेक्षणलगायतका विभागहरुमा काम गरे । राष्ट्र बैंकमा डेपुटी गभर्नर रहँदै १९९१ मा अनुसन्धान सल्लाहकारको रुपमा अफ्रिकी मुलुक गाम्बियाको केन्द्रीय बैंकमा करिब एक वर्ष बिताएका उनी अन्य धेरै देशहरु घुमे । त्यसक्रममा डा. युनुशसँग पनि उनको भेट र छलफल भयो ।

१९९२ मा गाम्बियाबाट फर्कंदा राष्ट्र बैंकमा डा. पन्तको डेपुटी गभर्नरको कार्यकाल दुई वर्ष र सेवा अवधि चार वर्ष बाँकी थियो । त्यही बसे गभर्नर बन्ने बाटो पनि खुल्ला थियो, तर उनले अब उपरान्त विपन्नहरुका लागि काम गर्ने भन्दै २६ वर्ष बिताएको केन्द्रीय बैंक छाडेर २०४७ सालमा ‘निर्धन’ नामक गैर-सरकारी संस्था खोले ।

‘निर्धन’को एकमात्र उद्देश्य गरिबहरुमा लघुवित्त सेवा प्रवाह गर्नु थियो । त्योबेला बिना धितो कर्जा लगानी गर्ने कुरा बैंकहरुको सोच बाहिर थियो । डा. पन्तले राष्ट्र बैंकमा छँदा बैंकहरुले विपन्न वर्गमा लगानी गर्नुपर्ने बाध्यकारी व्यवस्थाको लागि भूमिकाचाहिँ खेलिसकेका थिए ।

निर्धन संस्थाले पहिलो पटक २०४९ सालमा रुपन्देहीको सिक्टहनमा बिना धितो लघुकर्जा वितरण गर्यो । त्यसपछि १२ कात्तिक २०५५ मा कम्पनी ऐन, २०२१ र विकास बैंक ऐन, २०५२ अनुसार अनुसार निर्धन उत्थान बैंक खोलेर निर्धनका २५ हजार सदस्यसहित सबै वित्तीय स्वामित्व स्थानान्तर गरियो । विकास बैंक ऐन, २०५२ अहिले खारेज भइसकेको छ ।

निर्धन उत्थान बैंकले अहिले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ अनुसार गरीबीको रेखामुनि रहेका नेपालीहरुलाई वित्तीय तथा तालिम लगायतका गैर-वित्तीय सेवा दिइरहेको छ ।

लक्ष्यमा सफल ‘लघुवित्तका पिता’

विसं. २००१ सालमा पाल्पाको हुँगी गाउँमा जन्मिएका हरिहरदेव पन्त त्यसबेलाको चलन अनुसार १२ वर्षको उमेरमा बिवाह बन्धनमा बाँधिए । सम्पन्न भैरवदेव पन्तले छोरा हरिहरदेवको शिक्षादीक्षाका लागि घरमै एकजना भारतीय शिक्षक राखिदिएका थिए । कक्षा ७ र ८ पढ्न उनलाई पाल्पाको तानसेन पठाइयो । त्यसपछि भने पन्त परिवार नै काठमाडौं सर्‍यो ।

२०१२ सालमा काठमाडौं आएका पन्त पद्मोदय हाइस्कूलबाट २०१४ सालमा एसएलसी उत्तीर्ण गरेर आईएस्सी पढ्न त्रिचन्द्र कलेज भर्ना भए । त्यसपछि नेशनल कलेजबाट अर्थशास्त्रमा स्नातक, त्रिभुवन विश्वविद्यालय क्याम्पसबाट स्नात्तकोत्तर र भारतको युनिभर्सिटी अफ मुम्बईबाट विद्यावारिधि गरे । उनी मौद्रिक अर्थशास्त्रमा विद्यावारिधि गर्ने पहिलो नेपाली थिए ।

डा. पन्त सन् १९९१ देखि २०१५ सम्म निर्धन संस्था र २००७ देखि २०११ सम्म निर्धन उत्थान बैंकको अध्यक्ष रहे । त्यस्तै, सन् १९९३ देखि १९९५ सम्म सुदूरपश्चिमाञ्चल ग्रामीण विकास बैंक र पूर्वाञ्चल ग्रामिण विकास बैंकको संस्थापक अध्यक्ष भएका उनले रुरल सेल्फ डेभलपमेन्ट फण्ड अध्यक्षमा जिम्मेवारी समेत बहन गरे ।

डा. पन्त नेपालको पहिलो ज्वाइन्ट भेञ्चर नविल बैंक (तत्कालीन नेपाल अरब बैंक), सरकारको बहुमत सेयर रहेको कृषि विकास बैंक, पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक लिमिटेड र एग्रिकल्चर प्रोजेक्ट सर्भिसेज सेन्टरको समेत सञ्चालक रहे ।

विभिन्न सामाजिक संघ-संस्था, मठमन्दिर लगायतको संरक्षक, कार्य समिति पदाधीकारीको रुपमा समेत थुप्रै काम गरेका डा. पन्त २०७२ भदौं २१ गते लगभग सकृय अवस्थामै दिवंगत भए । नेपालमा उनलाई धेरैले ‘लघुवित्तका पिता’ भनेर सम्झन्छन् ।

गरीबको जीवनस्तर उकास्ने औजार

देशका कुनाकाप्चामा रहेका विपन्न वर्गमा वित्तीय सेवा पुर्याउन डा. पन्तले खोलेको निर्धन संस्थाको पहिलो प्राथमिकता ग्राहक सदस्य संख्या थियो । त्यसैले अहिले ‘घ’ वर्गको लघुवित्त वित्तीय संस्था भए पनि शाखा सञ्जालको आधारमा यो संस्था वाणिज्य बैंकहरुभन्दा माथि छ ।

अहिले निर्धन उत्थान बैंकको १८१ शाखा छन् । ७७ जिल्लामै शाखा विस्तार गर्ने यो पहिलो वित्तीय संस्था हो । देशभर तीनलाख ५२ हजार ९४१ सदस्य छन् । उनीहरुले नियमित बचत र कर्जा लिएर उद्यम गरिरहेका छन् । गत आर्थिक वर्षमा १८ हजार ३८९ समूहलाई यो संस्थाले सेवा दिएको तथ्यांकले देखाउँछ ।

अहिले दुईलाख २० हजार ५९३ जनाले यो संस्थाबाट कर्जा लिएर उद्यम गरिरहेका छन् । संस्थाले एक खर्ब १८ अर्ब १९ करोड कर्जा प्रवाह र १० अर्ब ५९ करोड निक्षेप संकलन गरेको छ ।

संस्था प्रमुख उद्देश्य नै विपन्न वर्गको आर्थिक उपार्जनका लागि लगानी गर्ने हो । यो उद्देश्यमा सधैं दृढ निर्धन उत्थान बैंकले विवाहित वा एकल नेपाली महिलालाई सदस्य बनाउँछ । भूमिहीन, सुकुम्वासी, प्रतिपरिवार सिंचित ७.५ कठ्ठा वा १० रोपनीभन्दा कम जमिन भएका, अव्यवस्थित झुपडीमा बस्ने, प्रतिपरिवार वार्षिक १ लाख ३८ हजारभन्दा कम आम्दानी हुने र स्थायी आय नभएकालाई सेवा दिँदै आएको छ ।

संस्थाको पहिलो प्राथमिकतामा कृषि नै छ । यसबाट लाखौं घरधुरी साना किसान उद्यमी बनेका छन् । कृषिमा तरकारी खेति, गाई, भैँसी तथा बाख्रापान साथै सेवा क्षेत्रमा किराना, कस्मेटिक पसल, तरकारी व्यापार, ब्युटिपार्लर लगायतमा संस्थाले लगानी गरेको छ ।

कुटिर उद्योगहरुमा पनि संस्थाको लगानी छ । संस्थाले दालमोट, ढाका, भाँडा, मैनवत्ती, खेलौना, अगरवत्तीलगायतका लघु उद्यम गर्न कर्जा दिनका साथै लघुउद्यम सम्बन्धी तालिममा समेत लगानी गरेको छ ।

‘सीईओ’ उत्पादन गर्ने कारखाना !

निर्धनबाट ‘करिअर’ थालेका धेरै मानिसहरु बैंक तथा वित्तीय संस्थाहरुको प्रमुख कार्यकारी अधिकृत (सीईओ) भएका छन् । त्यसैले निर्धन उत्थान बैंकलाई सीईओ उत्पादन गर्ने विश्वविद्यालय पनि भन्ने गरिएको छ ।

नेशनल माइक्रोफाइनान्सका सीईओ तथा लघुवित्त बैंकर्स संघका महासचिव रामबहादुर यादव पनि निर्धनकै उत्पादन हुन् । सबैको लघुवित्तका सीईओ केशव पौडेलले पनि निर्धनबाटै करियर सुरु गरेका हुन् । उनी थुप्रै लघुवित्तको सीईओ भइसकेका छन् ।

स्वाभिमान लघुवित्तका सीईओ कृष्ण चौधरी, स्वावलम्बन लघुवित्तका सीईओ भोजराज बस्याल, सूर्योदय लघुवित्तका सीईओ मोक्ष पंगेनी, उन्नति लघुवित्त वित्तीय संस्थाका सीईओ प्रेम पाठक पनि निर्धनकै उत्पादन हुन् । निर्धनका पवन श्रेष्ठ लघुवित्तका पछिल्ला सीईओ हुन् ।

लघुवित्त वित्तीय संस्थाका सीईओहरुको छाता संस्था लघुवित्त बैंकर्स संघका निवर्तमान उपाध्यक्ष प्रकाशराज शर्मा पनि निर्धनका पूर्व कर्मचारी हुन् । तर उनले करियर भने नेपाल बैंकबाट शुरू गरेका थिए । निर्धनमा सेकेन्ड म्यान भएर काम गरेका शर्मा अहिले लक्ष्मी लघुवित्त वित्तीय संस्थाको सीईओ छन् ।

छोराको पालो

कम्पनी ऐन, २०२१ अनुसार स्थापना भएको निर्धन उत्थान बैंक २०७५ जेठ २९ गतेदेखि निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको नामबाट कारोबार गरिरहेको छ । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ ले ‘घ’ वर्गका संस्थाले लघुवित्त वित्तीय संस्था नै लेख्नु पर्ने बाध्यकारी व्यवस्था गरेपछि निर्धन उत्थान लघुवित्त वित्तीय संस्था बनेको हो ।

‘घ’ वर्गको सानो संस्था कसरी यति ठूलो वित्तीय कारोबार गर्ने बन्यो भन्ने जिज्ञासा लाग्न सक्छ । स्वर्गीय डा. पन्तले संस्था जन्माए । अहिले संस्थाको अध्यक्ष पूर्व गभर्नर गणेशबहादुर थापा र कार्यकारी प्रमुख स्व. पन्तकै जेठा छोरा जनार्दनदेव छन् ।

पन्तसँग नेपाल इन्भेष्टमेन्ट बैंक र प्रुडेन्सियल इन्स्योरेन्सको सञ्चालक भइसकेको अनुभव छ । थापा र पन्त संस्थालाई स्वर्गीय डा. हरिहरदेवले चाहेको उचाइमा पुर्‍याउन दत्तचित्त छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment