Comments Add Comment

दिगो विकास लक्ष्य प्राप्तिको प्रगति हेर्न सिंहदरबारमा स्रोत केन्द्र

८ मंसिर, काठमाडौं । दिगो विकासको लक्ष्य प्राप्तिको प्रगति हेर्न सिंहदरबारमा स्रोत केन्द्र स्थापना गरिएको छ । संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (युनडिपी)को सहयोगमा राष्ट्रिय्सभाको दिगो विकास तथा सुशासन समितिले आफ्नै कार्यकक्षमा दिगो विकास स्रोत केन्द्र (एसडीजी रिर्सोस कर्नर) को स्थापना गरेको हो ।

आइतबार एक कार्यक्रमका बीच राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले उक्त कर्नरको उद्घाटन गरे ।

दिगो विकासका १७ वटा लक्ष्य नेपालले सन् २०३० सम्ममा पूरा गर्ने प्रतिवद्धता गरेको छ । जसमा हरेक क्षेत्रमा रहेका गरिबिको अन्त्य गर्ने, भोकमरीको अन्त्य गर्ने, सबै नागरिकको स्वस्थ जीवनको सुनिश्चितता गर्ने, लैङ्गिक समानता हासिल गर्ने, न्यायमा सबैको पहुँच सुनिश्चित गर्ने लगायत छन् ।

सरकारी र गैरसरकारी निकायका गतिविधि अनुगमन

दिगो विकाससँग सम्बन्धित सबै निकाय (सरकारी तथा गैरसरकारी) का गतिविधि एकै ठाउँबाट हेर्न सकियोस् र लक्ष्य प्राप्तिको प्रगतिबारे तथ्याङ्कगत रुपमा अध्ययन/विश्लेषण गर्न सकियोस् भनेर कर्नरको स्थापना गरिएको समिति सभापति तारादेवी भट्टले जानकारी दिइन् ।

कर्नरमा एउटा डिस्प्ले डिभाइस रािखएको छ । जसबाट सबै मन्त्रालयहरु, संसद तथा संसदीय समितिहरु, प्रदेश र स्थानीय तहका गतिविधि, गैरसरकारी निकायका गतिविधि, विभिन्न सञ्चारमाध्यममा सम्प्रेषण भएका समाचार तथा अन्य सामाग्री हेर्न सकिन्छ ।

यस्तै, समितिले दिगो विकाससँग सम्बन्धित विषयमा संवाद गर्नका लागि ‘डायलग रुम’ समेत तयार पारेको छ । विज्ञहरुलाई बोलाएर छलफल गर्न डायलग रुमको ब्यवस्था मिलाइएको जानकारी दिँदै समिति सभापति भट्टले उक्त रुममा सांसदहरुले भेला भएर छलफल गर्न/गराउन सक्ने बताइन् ।

यस्तै, कर्नरमा १७ वटा डिस्प्ले बोर्डसमेत राखिएको छ । एउटा डिस्प्लेमा इन्फोग्राफिक्सको माध्यमबाट एउटा लक्ष्य प्राप्तिको पछिल्लो तथ्याङ्कहरु देखाइएको छ ।

खर्च विवरण लुकाइयो

उक्त स्रोत केन्द्रको स्थापनाका लागि कति खर्च लाग्यो र युनडपीले के कति सहयोग गर्यो भन्ने समितिले स्पष्ट जानकारी दिएको छैन । समिति सचिवालय भन्छ, ‘डिस्प्लेहरु राख्ने र प्राविधिक सहयोग युनडिपीले गरेको हो । कर्नरको ब्यवस्थापन र संयोजन समितिले गरेको छ ।’

दिगोपनामा शंका

उद्घाटन कार्यक्रममा सहभागी सांसदहरुले केन्द्रको दिगोपनामाथि आशंका गरे । नेपाली कांग्रेसका राष्ट्रिय सभाका संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले स्रोत केन्द्रको प्रभावकारिता र दिगोवनाको निरन्तारताको कामना गरे ।

‘हामी माननीयहरुको अध्ययनको कमी वा सम्बन्धित विषयसँगको जानकारीमा पहुँच नहुँदा केही न केही समस्या भएकै छ । यस्ता समस्या समाधान गर्नका लागि यस्ता स्रोत केन्द्र फलदायी हुन सक्छन्’ सांसद पाण्डेले भने ।

महालेखापरीक्षक टंकमणि शर्माले सिष्टमलाई प्रभावकारी बनाउन र अपडेटमा ख्याल गर्न सुझाव दिए । ‘भविष्यमा यसैको बारेमा टिप्पणी गर्नुपर्ने अवस्था नआसोस्’, उनले भने, ‘त्यसकारण सिस्टमको अपडेटमा ख्याल गर्नुपर्छ ।’

सचिवालयकै प्रश्न 

राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयाँलले युनडिपीले गर्ने सहयोग संसदको प्राथमिकतामा हुनुपर्ने बताए । ‘संसदलाई सहयोग गर्दा संसदको आवश्यकता र प्राथमिकतामा ध्यान जानुपर्छ’ उनले भने ।

कार्यक्रममा युनडीपीका नेपाल प्रमुख आइसानी लबे उपस्थित थिइन् । फुयाल भन्दा अगाडि बोलेकी लबेले दिगो विकास लक्ष्य पूरा गर्ने चुनौतीका रुपमा रहेका जलवायु परिवर्तनजस्ता विषयमा विश्वका सबै देशहरुले सहकार्य गर्न आवश्यक रहेको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment