Comments Add Comment

वर्डक्याम्प पोखरा २१ मंसिरमा

९ मंसिर, पोखरा । वर्डप्रेस सम्बन्धी सेमिनार ‘वर्ड क्याम्प पोखरा २०१९’ यही मंसिर २१ र २२ गते हुने भएको छ । २१ गते पहिलो दिन बिरौटास्थित होटल पोखरा ग्रान्डमा र २२ गते दोस्रो दिन रानीपौवास्थित इन्फमेटिक्स कलेजमा कार्यक्रम हुने संयोजक पितम बहादुर सेनले जानकारी दिए ।

दुईदिने प्रशिक्षण कार्यक्रममा पहिलो दिन विभिन्न देशबाट आएका प्रशिक्षकहरुबाट सूचना प्रविधिका विभिन्न विषयमा विज्ञहरुद्वारा प्रशिक्षण तथा सामूहिक छलफल हुने छ ।

दोस्रो दिन योगदान दिवस, जसमा वर्डप्रेसका विभिन्न विधाहरुमध्ये भाषा अनुवाद, थिम रिभ्यु तथा सपोर्टका विषयहरुमा कार्यशाला हुने उनले जानकारी दिए ।

कार्यक्रममा नेपाल, भारत, बङ्गलादेश, जापान, अमेरिकालगायतका देशका प्रशिक्षकहरुले प्रशिक्षण दिइने जनाइएको छ । कार्यक्रममा भाग लिनका लागि १५ सय शुल्क निर्धारण गरिएको छ । सो शुल्क आगामी मंसिर ३० गतेभित्र नाम दर्ता गर्नेहरुको लागि तोकिएको हो ।

नोभेम्बर ३० भन्दा पछि पनि नाम दर्ता गर्न सकिने, तर शुल्क २ हजार रुपैयाँ लाग्ने अर्थ संयोजक प्रतिमा शर्माले जानकारी दिइन् ।

प्रशिक्षण कार्यक्रम अवधिभर सहभागीहरुलाई खाजा, खाना, टि-सर्टको व्यवस्था गरिने आयोजकले जनाएको छ ।

करिब १० लाख रुपैयाँ लागतमा हुने कार्यक्रममा ३ सय जनाभन्दा बढीको सहभागिता रहने अनुमान गरिएको छ । कार्यक्रमबाट वर्डप्रेसमा व्यवसायिक रुपमा काम गर्दै गरेका र काम गर्न इच्छुक व्यक्ति र कम्पनी, सूचना प्रबिधिमा भविष्य निर्माण गर्न खोजेका विद्यार्थी तथा वर्डप्रेससँग काम गरी ख्यातिप्राप्त व्यक्तिहरुसँग प्रत्यक्ष भेटघाट गरी लाभ लिन सकिने छ ।

वर्डक्याम्प विश्वव्यापी रुपमा आयोजना हुने अन्तर्राष्ट्रिय कार्यक्रम हो । विश्वमा पहिलो पटक सन् २००६ जुलाई ९ मा वर्डक्याम्प कार्यक्रम भएको थियो । नेपालमा भने सन् २०१२ देखि सुरु गरी हरेक वर्ष आयोजना हुँदै आएको छ । राजधानी बाहिर पहिलोपटक वर्डप्रेस पोखराले सन् २०१८ मा कार्यक्रम गरेको थियो । पोखरामा यो कार्यक्रम दोस्रो पटक हुन लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment