Comments Add Comment

कार्यकारी अध्यक्षको अभ्यास कसरी गर्दैछन् प्रचण्ड ?

Photo Credit : प्रचण्डको सचिवालय

९ मंसिर, काठमाडौं । पार्टी सचिवालय बैठकबाट कार्यकारी अध्यक्षको परिभाषित जिम्मेवारी पाएपछि उत्साहित बनेका नेकपा अध्यक्ष प्रचण्डले स्थायी कमिटी बैठक आह्वान गर्ने भएका छन् । विधान अनुसार तीन-तीन महिनामा बस्नुपर्ने बैठक एक वर्षदेखि बस्न सकेको छैन ।

नेकपा स्रोतका अनुसार केही स्थायी कमिटी सदस्यहरुले बैठक बोलाउन दबाब दिनेगरी हस्ताक्षर संकलन समेत थालेपछि प्रचण्डले परामर्श थालेका छन् । उपचुनावको अन्तिम जनसभा धरानमा सकिएपछि स्थायी कमिटी बैठक बोलाउने तयारी भइरहेको नेकपा स्रोतले जनाएको छ ।

कार्यकारी अध्यक्षको जिम्मेवारी पाएपछि प्रचण्डले महासचिव विष्णु पौडेललाई साथमा लिएर चुनावी सभाहरुलाई सम्बोधन गरिरहेका छन् । उनी मंगलबार कास्की जाने बताइएको छ ।

नेकपाको पछिल्लो बैठकले बैठकको अध्यक्षता गर्ने अधिकारसहित प्रचण्डलाई कार्यकारी भूमिका परिभाषित गरिदिएको थियो ।

अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग परामर्शपछिमात्र स्थायी कमिटी बैठकको मिति तय हुने प्रचण्ड निकट स्रोतले जनाएको छ । यसबीचमा प्रचण्डले बरिष्ठ नेता माधवकुमार नेपालसँग पनि छलफल गरेका छन् । नेपालले पार्टीका बैठकहरु नियमित राख्न र संस्थागत ढंगले निर्णय गर्ने परिपाटी बसाल्न प्रचण्डलाई सुझाव दिएका छन् ।

ओली र माधव नेपालसँग समदूरीमै रहेर पार्टी सञ्चालन गर्ने तर महत्वपूर्ण निर्णयमा भने ओलीसँगै परामर्श गर्नुपर्ने बाध्यतामा प्रचण्ड छन्

नेकपा स्रोतका अनुसार स्थायी कमिटी बैठकको आगामी बैठकको अध्यक्षता ओली र प्रचण्डले संयुक्त रुपमा गर्ने सम्भावना छ । सो बैठकमा प्रचण्डले ६ महिने कार्ययोजना राख्नेछन् । सोही बैठकमा बामदेव गौतमलाई उपाध्यक्ष बनाउने सचिवालय बैठकको प्रस्ताव पेश हुनेछ । स्थायी कमिटीले विधानमा उपाध्यक्षको व्यवस्था गर्न बाटो खुलाउनुपर्नेछ ।

स्थायी कमिटी नै कार्यकारी र जुनसुकै बेला निर्णय लिनुपर्ने कमिटी भए पनि पार्टी एकतापछि सचिवालय बैठकलाई कार्यकारी बनाइएको भन्दै नेकपामा असन्तुष्टि छ । तर प्रधानमन्त्री तथा अध्यक्ष ओली भने भारिभर्कम कमिटीहरुमा तत्कालै निर्णय गर्नुपर्ने एजेण्डा लगेर छलफल गराउँदा अनिर्णयको बन्दी हुने भन्दै सचिवालयलाई नै कामकाजी बनाउनुपर्ने पक्षमा रहेको बताइन्छ ।

स्थायी कमिटी बैठकपछि केन्द्रीय कमिटी बैठक पनि बोलाउने तयारी भइरहेको प्रचण्ड निकट स्रोतले जनाएको छ । अब प्रचण्डले अध्यक्षता गर्ने पार्टीका बैठकहरु पार्टी केन्द्रीय कार्यालयमै हुने उनी निकट नेता हरिबोल गजुरेलले बताए ।

तत्कालै पार्टी र सरकार सञ्चालनका सन्दर्भमा गर्नुपर्ने महत्वपूर्ण निर्णय भने सचिवालय बैठकबाटै हुनेछन् र सचिवालय बैठक प्रधानमन्त्रीको समेत उपस्थितिमा हुनुपर्नेमा ओलीलाई पायक गर्ने गरी राखिने नेकपा स्रोतले जनाएको छ ।

नेकपा स्रोतका अनुसार प्रचण्डले लगातार पार्टीका सबै कमिटी बैठकहरु राखेर आन्तरिक जनवादलाई अभ्यास गराउनेछन् । यसबीचमा अध्यक्ष ओलीसँग सरसल्लाह गरेर पोलिटव्यूरो समेत गठन गर्ने तयारी प्रचण्डको छ । तर ओलीसँग छलफल नगरी पार्टीका नियमित काम बाहेक अरु निर्णय भने नगर्ने पक्षमा प्रचण्ड छन् ।

अध्यक्ष प्रचण्ड पूर्व एमालेभित्रको अभ्यास र नेताहरुका मनोभावना बुझेर पार्टी सञ्चालन गर्ने पक्षमा छन् । ओली र माधव नेपालसँग समदूरीमै रहेर पार्टी सञ्चालन गर्ने तर महत्वपूर्ण निर्णयमा भने ओलीसँगै परामर्श गर्नुपर्ने बाध्यतामा प्रचण्ड छन् ।

उनी निकट एक नेताले भने- पछिल्लो निर्णयबाट प्रचण्ड कार्यकारी अध्यक्षका रुपमा परिभाषित जिम्मेवारी पाए पनि ओलीको सहमति र परामर्शबिना पार्टी सन्चालन गर्न नसक्ने बाध्यतामा छन् । कम्तिमा अर्को महाधिवेशनसम्म सहमतिमै पार्टी सञ्चालन गर्नुपर्ने भएकाले प्रचण्ड र ओलीको सहमतिबिना कुनै निर्णय हुँदैनन् ।

अध्यक्षहरुको कार्य बिभाजनको निर्णयमै सरकार र पार्टी सञ्चालनका महत्वपूर्ण निर्णय गर्दा दुई अध्यक्षबीच परामर्श गर्नुपर्ने भनिएकाले प्रचण्ड एक्लैले कमिटी बैठकहरु बोलाएर ओलीलाई नसोधी भटाभट निर्णय गराउन नसक्ने ती नेताको भनाइ छ ।

एकीकरण टुंगिए पनि नेकपामा पूर्वएमाले र पूर्व माओवादीको भागबण्डा यथावत छ । अब सभामुख चयनमै त्यो देखिनेछ । त्यसैले पनि पूर्व समूहबीच सन्तुलन मिलाउने भन्नेबित्तिकै कार्यकारी अध्यक्ष भए पनि प्रचण्डले पूर्व एमालेतर्फको सन्तुलन मिलाउन ओलीसँगै सहमति कायम गर्नुपर्ने बाध्यता छ ।

ओली पहिलो बरियताको अध्यक्षसमेत भएकाले उनले चाहेको बेला बैठक उनकै अध्यक्षतामा गर्न दिने र आपसी विश्वास तथा समझदारीमै अघि बढ्ने योजना प्रचण्डले निकटस्थहरुलाई सुनाएका छन् । प्रचण्डले ओलीको विश्वास जित्ने र माधव नेपाललाई पनि सन्तुलनमा राख्ने रणनीति बनाएका छन् ।

पार्टी एकीकरणको काम लगभग सकिएकाले अब पार्टीका सबै तहका बैठक र भेलाहरु गरी सरकार तथा पार्टीको पक्षमा देशव्यापी अभियान सञ्चालन गर्ने तयारी भइरहेको नेकपा स्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment