Comments Add Comment

चितवनको जगतपुरमा सामूहिक तरकारी खेती  

९ मंसिर, चितवन । पश्चिम चितवनको जगतपुरमा ६२ बिघा जमिनमा सामूहिक तरकारी खेती थालिएको छ । भरतपुर महानगरपालिका- २४ का किसानहरुले केरुङ्गा सामूहिक तरकारी कृषि फार्म खोलेर सामूहिक खेती थालेका हुन् ।

वडाध्यक्ष समेत रहेका अगुवा किसान कान्छा मल्लका अनुसार, सामूहिक खेती गर्न प्रतिबिघा वार्षिक ४० हजार रुपैयाँका दरले पाँच वर्षका लागि जग्गा भाडामा लिइएको हो । १२ बिघामा सामूहिक तरकारी खेती गर्दा सफल भएपछि उत्साही भएर ५० बिघा थपेको मल्लले बताए । ठूलो परिमाणको तरकारी खेतीका लागि पानी अपुग भएपछि पाँच ठाउँमा बोरिङ्ग गाडिएको छ ।

केरुङ्गा ताजा तरकारी तथा फलफूल उत्पादक सहकारी संस्थामा आबद्ध २५ जना किसान सामूहिक उत्पादनमा जुटेका हुन् । सहकारीका अध्यक्ष जनकराज पुरीले तरकारी उत्पादनमा ७० जनाले प्रत्यक्ष रोजगारी पाउने बताए ।

पहिलेको १२ बिघामा चिचिण्डा, फर्सी, लौका लगायतको फसल तयार छ । नयाँ जग्गामा १५ दिन भित्रै काउली, खुर्सानी, करेला र बोडी लगाउने तयारी गरेको अध्यक्ष ओलीले बताए ।

नयाँ प्लटमा पानी, मल, बीउ, थाक्रा, विषादी, बिजुली, कामदार आदिका लागि करिब दुई करोड रुपैयाँ खर्च लाग्ने अनुमान सहकारीका अध्यक्ष पुरीले सुनाए । उनले थोपा सिँचाइ र ग्रिन हाउस प्रविधि अपनाउँदा प्रतिकठ्ठा करिब सात लाख खर्च हुने जानकारी दिए ।

पश्चिम चितवनलाई तरकारीको पकेट क्षेत्रमा रुपमा लिइन्छ । अझ भरतपुर- २४ त तरकारी उत्पादनको केन्द्र नै हो, जहाँ केरूङ्गा सहकारी कृयाशील छ । सहकारीले तरकारी संकलन र बिक्रीमा बिचौलियाहरुलाई किसान ठग्न नदिने यसका अध्यक्ष ओली बताउँछन् ।

युवा सहभागीतामा देशकै नमूना अर्गानिक कृषि फार्म बनाउने काम केरूङ्गा सहकारीले गरिरहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment