
९ मंसिर, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले मन्त्रालयको कामलाई युद्धकै मोर्चाको रुपमा लिएको बताएका छन् ।
पाँचौं उद्योग दिवसको अवसरमा सोमबार आयोजित कार्यक्रममा उनले भने ‘युद्धको मोर्चाको रुपमा मन्त्रालय पाएका छौं, । हामीलाई युद्ध हार्ने छुट छैन । उद्योगीका समस्या गम्भीरतापूर्वक लिने र अध्ययन गर्ने बेला हो । अहिले बोल्ने बेला भएको छैन, चार दिनमात्रै भयो ।’
मन्त्री भट्टले उद्योगीले आफ्नो समस्या लिएर मन्त्रालय धाउनु नपर्ने भन्दै समस्या बुझ्न आफैं जाने बताए । ‘फाइल बोकेर उद्योगीले विभिन्न निकाय धाउनुपर्दैन’ उनले भने । गलत काम नगर्न र आफूहरुलाई पनि गलत कामतर्फ आकर्षित नगर्न मन्त्री भट्टले उद्योगीलाई आग्रह गरे ।
म असफल भए निजी क्षेत्र असफल हुन्छ : राज्यमन्त्री दुगड
उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगडले निजी क्षेत्रको सफलताको लागि आफूले सबैखालको पहल गर्ने बताए । राज्यमन्त्रीको रुपमा आफू असफल भए समग्र निजी क्षेत्र असफल हुने भन्दै उनले स्थापना भएका कुनै पनि नेपाली उद्योगमा ताला लाग्न नदिने प्रतिबद्धता व्यक्त गरे ।
प्रतिक्रिया 4