Comments Add Comment

काठमाडौं आउने जहाजमा नेपाल चिनाउने अडियो सन्देश बजाइने

९ मंसिर, काठमाडौं । नेपाल अवतरण गर्ने अन्तर्राष्ट्रिय उडानका जहाजमा नेपालको परिचयात्मक अडियो सन्देश बजाइने भएको छ ।

अध्यागमन विभागले यसका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल नागरिक उड्डयन प्राधिकरणसँग प्रस्ताव गरेको हो ।

विभागका महानिर्देशक ईश्वरराज पौडेलले उक्त अभियानलाई शीघ्र कार्यान्वयनमा ल्याउन मन्त्रालयसमक्ष आग्रहसमेत गरेका छन् । पौडेलका अनुसार अडियो म्यासेज करिब २ मिनेटको हुनेछ ।

जहाज नेपालको सिमाना प्रवेश गरिसकेपछि अवतरणको तयारी सुरु हुन्छ । यात्रुलाई अलर्ट बनाइन्छ । सीट बेल्ट बाध्न लगाइन्छ । जहाजभित्रका स्किृनमा भइरहेका प्रशारण बन्द हुन्छ । ठीक यही समयमा पाइलटले नेपाल चिनाउने अडियो सन्देश बज्ने महानिर्देशक पौडेलले बताए ।

उक्त म्यासेजमा नेपालको परिचय तथा यहाँकोे कानूनबारे सामान्य जानकारी राखिने छ । ‘नेपाल किन घुम्नै पर्ने मुलुक हो’ भन्नेबारे जानकारी उक्त सन्देशमा दिइनेछ । यसरी नेपाल आउने हजारौं पर्यटकलाई नेपालबारे जानकारी गराउने एक निःशुल्क प्लेटर्फम बन्ने विश्वास विभागको छ ।

नेपालमा अहिले दैनिक करिब ६० अन्तर्राष्ट्रिय उडान हुने गरेका छन् । निकट भविष्यमा यो उडान बढेर दैनिक ७० हाराहारी पुग्दैछ ।

नेपालले तयार पारेको अडियो म्यासेज नागरिक उड्डयन प्राधिकरणमार्फत सबै एयरलाइन्सलाई उपलब्ध गराउने र उनीहरुले काठमाडौं अवतरणका दौरान उक्त म्यासेज अनिवार्य बजाउनुपर्ने प्रस्ताव अध्यागमन विभागले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment