Comments Add Comment

शीतलहरको सामना गर्न तयार होऔं

बर्षायाम सकिएपछि तराईमा बाढीबाट त्राण पाइन्छ । तर, चिसो र शीतलहर बढ्न थालेपछि शीतलहरलाई झेल्न सकिन्छ कि सकिन्न भन्ने भय हुन थाल्छ । चिसोले गरीवलाई बढी सताउँछ । कमजोर स्वास्थ्य र पाको उमेरकालाई बढी असर गर्छ ।

विगत तीन चार दशकदेखि नेपालमा शीतलहर एक चुनौती बन्दै गएको छ । उच्च हिमाली र पृथ्वीको ध्रुवीय क्षेत्रमा जाडो याममा अत्यधिक चिसोका कारण चल्ने बर्फिलो चिसो हावालाई शितलहरी वा शीतलहर भनिन्छ । त्यहाँ एक्कासी तापक्रम निकै कम हुने, अत्यधिक हिउँ पर्ने, चीसो हावा र हिमआँधी आउने, जमिनमा भएको पानी बर्फ बन्ने अवस्थाहरू हुन्छन् ।

तराईमा जाडोमा हुस्सु लाग्ने, घाम नलाग्ने, सिरसिर चिसो हावा चल्ने, बढी शीत पर्ने र नसुकेर ओसिलो भइराख्ने मौसमी अवस्था हुन्छ, यसलाई पनि शीतलहर भनिन्छ ।

भारत, बङ्गलादेश, नेपालका मैदानी भू–भागमा हुने शीतलहर वायु प्रदुषणका कारण हो भन्ने मत पाइन्छ । हिउँदमा गरिने सिञ्चाईको प्रभाव हो पनि भनिन्छ । तराईमा शीतलहर कुनै बर्ष कम, कुनै बर्ष बेस्सरी हुन्छ । सामान्यतया शीतलहर १ देखि २ हप्तासम्म रहेको पाइन्छ । ०५९ मा भने करिव ३ महिनासम्म चलेको थियो ।

नेपालमा शीतलहरको जोखिमबारे विस्तृत अध्ययन भएका छैनन् । न त घटनाका विस्तृत तथ्यांकहरू नै उपलब्ध छन् । सम्वत ४० को दशक यता सरकारी तवरबाटै चासो राख्न थालिएको पाइन्छ । दैवी प्रकोप उद्धार ऐन (२०३९) ले शीतलहरलाई प्रकोपका रुपमा खुट्याएपछि यसबारे चासो बढेको हुन सक्छ ।

केही अध्ययनहरूले तराईमा यो सन् १९८० को दशकदेखि शुरु भएको र सन् १९९७ देखि यो तारन्तार, सघन र लामो अवधिसम्म चल्ने गरेको देखाएका छन् ।

शीतलहरको कहर

शीतलहरले मानिसहरूको दैनिकी, स्वास्थ्य, खेती र पशुपालनमा प्रतिकूल असर गर्छ । बढी चिसोका कारण शरीर कठ्याङ्ग्रिने वा उचित खानाको अभावमा जाडो थाम्न नसकेर शिथिल हुने, निमोनियाजस्ता रोगहरूले च्यापेर थलिने, रुघाखोकी लाग्ने आदि हुन् ।

बन्दना प्रधानको नेतृत्वमा सन् २०१८ मा गरिएको एउटा अध्ययनले नेपालको १६.९ प्रतिशत जनसंख्या शीतलहरप्रति ज्यादा संवेदनशील छन् भनेको छ । यसमा १०.३ प्रतिशत ५ बर्ष मुनिका बालबालिका, २.६ प्रतिशत गर्भिणी महिला र ४ प्रतिशत पाको उमेरका मानिसहरूको हिस्सा रहेको छ । आर्थिक, शारीरिक क्षमता पनि कारक हुन्छन् ।

नेपालमा तराई र भित्री मधेसका २० जिल्लाहरू शीतलहरको जोखिममा रहेका छन् । यो क्षेत्रमा करीव ५१ प्रतिशत भन्दा धेरै जनसंख्याको बसोबास छ । पुरै तराई र भित्री मधेस शीतलहर सम्मुख भए पनि रौतहट, सिराहा, सप्तरी, नवलपरासी जिल्लाले बढी मानवीय क्षति भोगेको पाइन्छ । शीतलहरका कारण ०६२ सालमा ३३ भन्दा बढी मानिसको कठ्याङ्ग्रिएर मृत्यु भएको थियो । त्यस्तै ०७४ सालमा पनि २० भन्दा बढी मानिस मारिएका थिए, त्यस बर्ष सप्तरीमा धेरै मानिसहरूको ज्यान गयो । समग्रमा बढी मानिसहरू मध्य र पूर्वी तराईका १५ जिल्लामा मारिएका पाइन्छन् । खेतीपाती र पशुपंक्षीमा भने सबै जिल्लामा नोक्सान पुग्ने गर्छ ।

शीतलहरले असर त सबैलाई गर्छ । तर, कमजोर प्रतिरोधी क्षमताका कारण गरीवहरु बढी मारमा पर्छन् । दिनभरि, नभए दिनहुँ अबेरसम्म बाक्लो हुस्सु लाग्ने र छुसछुस् शीत परिरहने हुनाले बाहिरफेर हिँडडुल गर्न, काम गर्न असजिलो हुन्छ । दैनिक कामको ज्यालाबाट गुजारा गर्नुपर्ने, काम गर्न नसक्दा खानलाई बचत गर्न नसक्ने कम आय भएका परिवारहरू बढी जोखिममा हुन्छन् । बाक्लो कुहिरोका कारण सडक दुर्घटनाहरू बढी हुन सक्छन् ।

बालीनाली र पशुपंक्षीलाई शीतलहरको बढी असर हुन्छ । विभित्र जातका खेतीवालीमा हुने असरका बारेमा केही अध्ययन भएका छन् । तर, परम्परागत खेतीको बचावटका खासै उपाय छैनन् । बोटविरुवाहरूमा खप्न सक्ने भन्दा बढी चिसोले रोग प्रतिरोधी शक्ति क्षय हुन्छ । रोग कीराहरूले बढी असर गर्छन् । जाडोमा लगाइने बालीहरू तोरी, आलु, तरकारीहरू सखापै भएका पाइन्छन् ।

विभित्र घटनामा के कस्तो आर्थिक नोक्सानी भयो भन्ने यकिन नभए तापनि, समग्र जनजीवनमा परेको व्यापक असर प्रत्यक्ष अनुभव गरिएको छ । मुख्य चुनौती यसको पूर्वानुमान गर्न नसकिने र प्राकृतिक वातावरणमा आश्रित हिउँदे वालीमा पर्ने प्रत्यक्ष अप्रत्यक्ष क्षति घटाउन सकिने विकल्पहरू कम हुनु हो ।

जोखिम कम गर्ने अभ्यासहरू

हिमालमा मानिसले पुस्तौंदेखि शीतलहर सामना गर्ने उपायहरू अपनाउँदै आएका छन् । हिउँदमा अत्यधिक जाडो छल्न तल्लो भेग तिर झर्छन् । वसन्तमा शीतलहर हटेपछि फर्कन्छन् । खेतीपाती, खर्क पाटन, चाडवाड सबैमा शीतलहरबाट जोगिने गरी याङ्सा र गुन्सा परम्पराहरू तय गरिएका हुन्छन्, विपत्ती हुनबाट जोगाउँछन् । हिमाली क्षेत्रको शीतलहरको बारेमा खासै चर्चा हुँदैन ।

जोखिम व्यवस्थापनको पहिलो जिम्मेवारी सम्बन्धित व्यक्ति, परिवार र समुदायको हो । हिमालका प्रचलनहरू उदाहरण हुन् । तर, मधेशमा हिमालमा जस्तो व्यक्ति वा समुदायले जोखिम छल्न सक्ने अवस्था छैनन्, सामना गर्नुको विकल्प छैन । मधेसका आम मानिसका ऋतुअनुसार बसाई सरेर जाने जग्गा छैनन् । गरीवहरू जसले फुसको घरमा जीवन निर्वाह गरिरहेका छन्, तिनले जानु कहाँ । अन्यत्र घरबास हुनेहरुले सिजन अनुसार बसाइँ सराई गर्न सक्छन् ।

स्वास्थ्यसम्बन्धी उपाय छन् – शरीरको तापक्रम सामान्य बनाइराख्न, न्यानो कपडा लगाउने, पर्याप्त मात्रामा तातो पानी पिउने, छिट्टै पच्ने खानेकुरा खाने र राम्ररी हावा खेल्ने झ्याल भएका कोठामा बस्ने । क्षमता नभएका कारण गरीवहरू यस्ता उपायका लागि श्रोत जुटाउन र अनुशरण गर्न गाह्रो हुन्छ ।

घरपालुवा पशुपंक्षीहरूका लागि न्यानो र स्वस्थ वातावरण उपलब्ध गराउने चुनौती छन् । रोग, कीराबाट खेती बचाउन अत्यधिक बिषादि प्रयोग गरेका पाइन्छन् जुन अन्ततोगत्वा झन् हानिकारक हुन्छ । । शीत छेक्ने छहारी, हरितगृह प्रविधि उपयुक्त उपाय हुन् तर यी सबै वालीका लागि सबै किसानको पहुँचमा हुँदैनन् ।

नसक्नेलाई सहयोग

चर्को शीतलहरबाट स्वास्थ्य समस्या र मानवीय क्षति कम गर्न सरकारी तथा गैरसरकारी प्रयासहरू हुने गरेका छन् । विभित्र व्यक्ति, सँस्था तथा सरकारले सहयोग गर्ने केही असल अभ्यास छन् । दाउरा वितरण गर्ने, चोकचोकमा दाउरा बालिदिने, कम्बल लगायतका कपडा वितरण गर्ने चलनले केही राहत दिन्छन् ।

दैनिक जीविका धौधौ पर्ने र जाडोमा ओड्ने व्यवस्था गर्न नसक्ने आर्थिक अवस्थाका परिवारले उपचार खर्च जुटाउन सक्दैनन् । स्वास्थ्यसम्बन्धी समस्याहरू बढी हुने हुनाले पीडितहरूलाई निशुल्क र प्रभावकारी उपचारको व्यवस्था चाहिन्छ । अधियाँ, बटवारा गरेर जीविका गर्ने किसानहरूमा सामना गर्ने क्षमता छैनन्, सरकारी सेवासम्म उनीहरूको पहुँच पुग्दैन ।

जाडोमा आगो ताप्दा घरगोठमा आगलागीका जोखिम ख्याल गर्नुपर्ने हुन्छ । समुदायमा सचेतना जगाउन यससम्बन्धी अभियान नै जरुरी छ । चेतनाका साथसाथै शीतलहरको सामना गर्न गरीव घर परिवारको समग्र आर्थिक सक्षमता बढाउन आवश्यक छ । शीतलहरको समयमा बस्न उपयुक्त हुने गरी बिपत्र परिवारले लिन र धान्न सक्ने घर बनाउने प्रविधि विकास हुन सके राम्रो हुन्थ्यो ।

बिगत केही बर्ष यता सरकारले शीत लहरको पूर्वतयारीमा ध्यान दिन थालेको छ, चासो मानवीय क्षति कम गर्नेमा छ । गत बर्ष समयमै विपद् व्यवस्थापन राष्ट्रिय परिषदको बैठक बसी शीतलहरको तयारीका सम्बन्धमा छलफल र महत्वपूर्ण निर्णय भएका थिए । गृह मन्त्रालयको सक्रियतामा शीतलहरको सामना गर्न तयारी भएको थियो । गत बर्ष कडा शीतलहर आएन, राम्रै भयो ।

संस्थागत जिम्मेवारी

संघीय शासन पद्दतिअनुरुप नेपालको संविधानले विपद् व्यवस्थापनको एकल अधिकार स्थानीय तहलाई दिएको छ । प्रदेश र संघीय तहलाई स्थानीयसँगै साझा अधिकार छ । विपद् व्यवस्थापन ऐनमा स्थानीय तह, जिल्ला, प्रदेश र संघमा मुलतः समितिगत व्यवस्था भएको छ । विपद् व्यवस्थापनसम्बन्धी संघ, प्रदेश र स्थानीय तहको कार्यभार र उत्तरदायित्वका सीमा स्पष्ट छैनन् । संघीयता अनुरुपका महत्वपूर्ण संस्थागत संरचनाहरू बत्रे काम पूरा हुन, द्विविधाहरू सुल्झाउन बाँकी छन् ।

स्थानीय वस्तुस्थिति अनुरुप शीतलहरको सामना गर्न नेतृत्व स्थानीय तहले नै लिनुपर्छ । बढी संवेदनशील मानिसहरूको अग्रिम पहिचान गर्ने, अरुको सहयोग चाहिने जनसङ्ख्या, परिवारहरू, सहयोगको किसिम र मात्रा निधो गर्ने र सहयोगको व्यवस्था गर्ने काम स्थानीय तहबाटै हुनुपर्छ । स्थानीय प्रयासमा सम्हाल्न नसकिने अवस्थामा प्रदेश वा संघमा सहयोग माग्न सकिन्छ ।

जाडोयाम शुरु भइसक्यो । अब एक महिनामै शीतलहर आउन सक्छ । शीतलहरको विपद् जोखिम कम गर्न यथेष्ट पूर्वतयारीका लागि गृह मन्त्रालयले गत बर्ष जस्तै समयमै राष्ट्रिय पहल गर्न जरुरी छ । साथसाथै, स्थानीय तहलाई जिम्मेवार र कामयावी बनाउनु र सम्बन्धित प्रदेशलाई समन्वय गर्न प्रोत्साहन गर्नु उचित हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment