Comments Add Comment

तिलौराकोट र गौतम बुद्धको तीनपुस्ते बताउने ९ वर्षीय बालक

९ मंसिर, बुटवल । गौतमबुद्धको जीवनी र बौद्धक्षेत्रका बारेमा तपाईलाई के के थाहा छ ? उनको आमा—बुवा, जन्म—मृत्यु, लुम्बिनी, रामग्राम, देवदह, कन्थक घोडा, सारथी छन्दक, बोधगया, पञ्चशीलबारे तपाईलाई कति थाहा छ ?

बुद्धले आफ्नो जीवनको पहिलो २९ बर्ष बिताएको ठाउँमा कपिलवस्तु नगरपालिका ३ मा रहेको तिलौराकोटमा पुग्दा तपाई अचम्मा पर्नुहुन्छ । कारण कक्षा ५ मा पढ्ने ९ बर्षका बालकले बुद्धको तीनपुस्ते र तिलौराकोटको बारेमा फररर बताइदिन्छन् । उनको नाम राहुल साहनी हो ।

फाटेको कालो जुत्ता, स्कुले ड्रेस, कालो बर्ण, प्रस्ट बोली, छिटोछिटो र घोकन्ते ज्ञान जस्तै उनले कपिलवस्तुको तिलौराकोट पुग्ने जो कोहीलाई बुद्ध र उनको जीवनीबारे बताएर मन्त्रमुग्ध नै बनाउँछन् ।

मासिक ५ हजार आम्दानी

कपिलवस्तुको सिद्धार्थ विद्या मन्दिरमा कक्षा ५ मा पढ्ने राहुल टुर गाइड हुन् । उनले यही काम गरेर मासिक ४—५ हजार कमाउँछन् । कमाएको पैसा स्कुलमा फी तिर्ने गरेको उनले बताए ।

पर्यटकका अगाडि उनी निर्धक्क भन्छन् ‘आई क्यान गिभ यु इन्फर्मेसन अबाउट तिलौराकोट ।’ उनी कक्षामा तेस्रो स्थान हासिल गरेका बिद्यार्थी पनि हुन् । तिलौराकोटका विषयमा लेखिएका धेरै किताब पढेको उनले बताए । ‘स्कुल छुट्टि भएपछि यहीँ आउँछु, हरेक दिन कोही न कोही त भेटिन्छन्, सबै बताएपछि मैले पैसा नमागेपनि उनीहरुले नै दिन्छन् ।’

चार भाषामा फरर

राहुल नेपाली, भोजपुरी, हिन्दी र अंग्रेजीभाषा प्रष्टै र फररर बोल्छन् । उनको बाबुआमा खेतीपाती गर्छन् । घरमा बलियो आर्थिक स्रोत छैन, छोराको क्षमता र थोरै भए पनि कमाइले परिवार पनि निकै खुसी छन् ।

उनका एक भाइ र एक बहिनी छन् । उनी जेठो छोरा हुन् । ‘बुवाले काठको मिस्त्री काम गर्नुहुन्छ, परिवारको राम्रो साथ छ’ उनले भने । उनले तिलौराकोटमा आउने पर्यटकलाई गाइड गर्न थालेको दुई वर्ष जति भयो ।

गाइडहरुले हेप्छन्

उनले तिलौराकोटमा पुग्दा पनि त्यहाँका गार्डले हेपेको बताए । ‘मलाइ नआइज भन्छन् शनिबार पनि अब आउदिन, यहा आउँदा किन आएको भन्छन् मलाइ गाली गर्छन्’ उनले भने ‘यहाँ म आउँदा उनीहरुले टुरिष्टबाट पैसा पाउदैनन्, सबैलाई मैले बताइदिन्छु, त्यही भएर रिसाउँछन् ।’

साना बालक राहुलले नेपालको लुम्बिनीमा भगवान गौतमबुद्धको जन्म भएको बताए । उनले भारतले नक्कली लुम्बिनी बनाएर बुद्धको अपमान गरेको उनको भनाइ । उनले अब सबै मिलेर बुद्धक्षेत्रको विकासमा लाग्नुपर्नेमा जोड दिए ।

साहनीका अनुसार पाचौं शताब्दीमा चिनियाँ यात्री फाहियान र सातौं शताब्दीमा ह्विन सानले तिलौराकोटको विषयमा लेखेका छन् । पछिल्लो समय बेलायतको दुराम विश्वविद्यालय र पुरातत्व विभागले गरेको उत्खननबारे राहुल नजिकबाट जानकार छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment