Comments Add Comment

उपत्यकामा हर्न बजाउन कडाइ, एकै दिनमा १८८ सवारी चालक कारबाहीमा

फाइल फोटो ।

९ मंसिर, काठमाडौं । ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा गुड्ने सवारी साधनलाई अत्यावश्यक अवस्थामा बाहेक हर्न बजाउन कडाइ गरेको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाभित्र ध्वनि प्रदूषणको समस्या गम्भीररुपले बढेपछि जथाभावी हर्न बजाएर गुड्ने सवारी साधनमाथि कारबाही बढाएको हो । महाशाखाले सोमबार मात्रै १८८  सवारी साधनका चालकलाई कारबाही गरेको जनाएको छ ।

ध्वनि प्रदूषणले श्रवण शक्तिमा ह्रास हुने, रक्तचाप बढ्दै जाने, हृदयघात हुने, पक्षघात हुने, श्वासप्रश्वास प्रणालीमा असर हुने, स्मरण शक्तिमा कमी आउने, अशक्त, बालबालिका, ज्येष्ठ नागरिक र गर्भवती महिलालाई बढी असर हुने भएकाले कारबाहीलाई तीव्रता दिएको महाशाखाले जनाएको छ ।

उपत्यकावासीको स्वास्थ्यलाई ध्यानमा राखी गम्भीर दुर्घटना हुने खतरा भएमा र सवारी गुडिरहँदा सडकको एक भागबाट अर्कोभाग नदेखिने खतरानाक मोड/चोकमा हर्न पूर्णरुपमा निषेध गरिएको महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक भिम प्रसाद ढकालले जानकारी दिए ।

‘ध्वनिको गुणस्तरसम्बन्धी राष्ट्रिय मापदण्ड २०६९ विपरीत ध्वनि प्रदूषण गर्ने सवारी साधनलाई आयातमा नै रोक लगाउन अनुरोध समेत गरेका छौँ,’ उनले भने । यसअघि उपत्यकामा ०७४ वैशाख १ देखि उपत्यकालाई हर्न निषेध क्षेत्र घोषणा गरिएको थियो ।

महाशाखाले ०७४ वैशाख १ देखि हालसम्म उपत्यकामा जथाभावी हर्न बजाउने ४३ हजार ६२३ सवारी साधनका चालकलाई कारबाही गरिसकेको उनले बताए । मंसिर महिनामा मात्रै विशेष अभियान सञ्चालन गरि ५९८ सवारी साधनका चालक कारबाहीमा परेको उनले बताए ।

सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १६४ को  (ग) अनुसार ट्राफिक प्रहरीले कारबाही प्रक्रिया चलाउँदै आएको उनले बताए । उक्त दफाअनुसार सवारी मोड्न वा ध्वनि संकेत दिन निषेध गरिएको ठाउँमा सवारी मोडेको वा ध्वनि दिएको खण्डमा ट्राफिक प्रहरीले नियन्त्रणमा लिएर ५ सय रुपैयाँ जरिवाना गर्न सक्ने व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment