Comments Add Comment

मैले कसैलाई लाञ्छना लगाएको छैन, यो चुनाव व्यक्तिको होइन : खेमराज पौडेल

'जनताको उत्तराधिकारी हुँ, जनताकै सपना पूरा गर्छु'

९ मंसिर, पोखरा । पञ्चायत सुरु हुँदादेखि नै नेपाली कांग्रेसको राजनीतिमा होमिएका खेमराज पौडेल सधैं सक्रिए रहे । तर, अवसरविमुख बने ।

कांग्रेस सभापति शेरबहादुर देउवाकै मोर्चामा उभिएर पौडेलले कांग्रेसका तर्फबाट आन्दोलन गरे । शेरबहादुरले पार्टी फुटाउँदा उनलाई साथ दिँदै कास्की कांग्रेसको नेतृत्व उनैले गरे । भुम्दी बुथ हुँदै राजनीतिमा छिरेका खेमराज जिल्ला सदस्य, सचिव, उपाध्यक्ष, प्रजातान्त्रिक अध्यक्ष हुँदै नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्यसम्म बने । उनी नेपाली कांग्रेसभित्र ‘अभागी नेता’ मानिन्छन् ।

डिआइजी नारायण सिंह काण्डमा प्रजातान्त्रिक विद्यार्थी समिति बनारसबाट नेपाल आएर सडक आन्दोलन गर्नेदेखि विभिन्न आन्दोलनमा सरिक हुँदै उनले ६० वर्ष कांग्रेस राजनीतिमा बिताए ।

संस्कृत साहित्यमा डिग्री गरेका खेमराजले २० वर्ष शिक्षण गरेर रिटायर्ड भए । कास्की कांग्रेसकै एक संस्थापक खेमराजले अहिले कास्की क्षेत्र नम्बर २ को उपनिर्वाचनमा टिकट पाउन सफल भए ।

गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा ०५५ सालमा सुकुम्वासी आयोगका अध्यक्ष भएका पौडेल कास्की कांग्रेसभित्र ‘खेमराम गुरु’ का रुपमा परिचित छन् । पार्टीलाई योगदान गरेर पनि अघिल्ला निर्वाचनहरुमा शीर्षनेताको नजरमा नपरेका उनी कास्कीको उपनिर्वाचनमा १७ जना आकांक्षीको लिस्टमा थिए । अन्यलाई पाखा लगाएर यसपालि सबैलाई चकित बनाउँदै उनले टिकट पाए ।

पौडेलको उम्मेदवारीले ‘कांग्रेस एकता’को उद्घोष गर्दै मनोनय गर्दा भएपछि उनी अहिले घरदैलोमै ब्यस्त छन् । सोमबार बिहान छोरेपाटनस्थित निवासमा पुग्दा उनी घरदैलोमा निस्कने सुरुसार गर्दै थिए । ७५ वषर्ीय खेमराजको जोस र ऊर्जा उनको सक्रियताले नै देखाउँछ ।

केही कार्यकर्ता र शुभेच्छुक भेट्न आउने र चुनावी रणनीति बनाउने क्रम जारी थियो । त्यही क्रममा केही समय छुट्याएर अनलाइनखबरसँग गफगाफ गरेका खेमराज शालीन र भद्ररुपमा प्रस्तुत भए ।

यो चुनाव जीत, हारको भन्दा पनि जनताले के चाहान्छन् भन्ने परीक्षा भएको उनी बताउँछन् । सरकार, प्रतिपक्ष र स्वयं आˆनै परीक्षाका रुपमा खेमराजले यो उपचुनावलाई हेरेका रहेछन् ।

प्रस्तुत छ, नेपाली कांग्रेसका उम्मेदवार खेमराज पौडेलसँग अनलाइनखबरकर्मी अमृत सुवेदीले गरेको कुराकानी-

 कांग्रेसमा जीवनको ऊर्जा खर्चिनुभयो । यो उपनिर्वाचनमा पहिलो पटक चुनावी मैदानमा होमिनुभएको छ । ६० वर्ष लाग्यो है, सांसदको टिकट पाउन ?

म भुम्दीको बुथ सदस्य भएर नेपाली कांग्रेसको राजनीतिमा होमिएको हुँ । अहिलेसम्मको यात्रा फर्केर हेर्दा रोमाञ्चककारी र आफैंलाई एउटा त्याग र निष्ठाका पक्षमा उभिएको पार्टीको असली पहरेदारका रुपमा पाउँछु । मैले पार्टीमा निरन्तर निष्ठा र इमान्दारिताको वकालत गर्दै आएँ ।

अहिले केन्द्रदेखि जिल्लासम्मका सम्पूर्ण कांग्रेसहरु एकजुट भएर यो निर्वाचनमा होमिएको अवस्था छ । यो उपनिर्वाचन भए पनि एक किसिमको मिनी जनमत संग्रहकै रुपमा लिइएको छ ।

हो, म पहिलोपटक चुनावमा उठेको छु । त्यसैले मसँग संसदमा पुगेर पनि जनताको माझ केही गर्न नसकेको लज्जा छैन । मसँग संसदमा पुगेर कुनै अनियमिततामा मुछिएको दाग पनि छैन । मसँग राजनीतिमा लागेर कसैमाथि अन्याय गरेको अनुभव पनि छैन । मसँग छ त जनताका पक्षमा आवाज उठाउने नयाँ सोच र खबरदारी गर्ने दृढ ईच्छा ।

अर्को कुरा, टिकट पाउनुलाई मात्रै पार्टीको राजनीतिको सफलता मानिनुहुँदैन । सांसद बन्नका लागि मात्रै राजनीति गरिनुहुँदैन । यदि त्यसरी गरिन्छ भने त्यहाँ स्वार्थ जोडिएको हुन्छ । जब स्वार्थ जोडिन्छ, तब इमान्दारिता र निष्ठा हराउँछ । म ०१६/०१७ सालदेखि हरेक गतिविधि र आन्दोलनमा संलग्न हुँदै आएँ । टिकटको सवालमा जहिले पार्टीको नजरमा परें र पार्टी उपयुक्त देख्यो, यतिबेला खेमराजको आवश्यकता छ भन्ने महसुस गर्‍यो, तब टिकट दिएको छ । अब म पार्टीको निर्णयलाई न्याय गर्दै संसदमा पुगेर जनताको वकालत गर्नुपर्छ भन्ने मान्यतासहित चुनावी मैदानमा होमिइसकें ।

तपाईंसँगै राजनीति गरेका र तपाईंभन्दा पछि राजनीतिमा आएका कति मन्त्री भए, कति ठूला पदीय दायित्वमा पुगिसके नि ?

चाहना गर्ने साथीले म हुनुपर्छ भनेर जोडबल गर्नुभयो र माथिमाथि पुग्नुभयो । म चाहिँ पार्टीले उपयुक्त देख्यो भने एक दिन अवश्य पालो आउने छ भनेर पर्खी बसें । फेरि, मेरो लक्ष्य भनेको टिकट पाउनुमात्रै होइन । मेरो लक्ष्य त पार्टीको विचार, सिद्धान्त र आस्था हो । यी विचारहरु फैलिनुपर्छ । हाम्रो सिद्धान्तहरु मौलाउनुपर्छ र हाम्रा आस्थाहरु डग्मगाउनु हुँदैन भनेर लागिरहें ।

कांग्रेसमा १७ जना उम्मेदवारको नाम सिफारिस थियो, अन्तिमसम्म पनि तपाईंको नाम खास चर्चामा पनि थिएन । लाग्याथ्यो टिकट पाउँछु भन्ने ?

संसदीय व्यवस्थामा आकांक्षी हुनु र निर्वाचनमार्फत चुनिएर जनताको सेवा गर्छु भन्ने चाहाना हुनु सुन्दर पक्ष हो । यस्तै चाहाना गर्ने कांग्रेसभित्र धेरैजना हुनुहुन्छ र १७ जना आकांक्षी बन्यौं । १७ जनामध्येबाट पनि पार्टीले मलाई योग्य र अहिलेको अवस्थामा उपयुक्त पात्र ठान्यो र टिकट दियो ।

नाम सिफारिस भएर गएपछि टिकट पाउँछु भन्ने नलाग्ने कुरै भएन । जब मलाई टिकट दियो, सारा कास्कीमा ल है कांग्रेस ठीक गर्‍यो भन्ने तरंग फैलियो ।

चुनावी मैदानमा होमिँदा, घरदैलोमा पुग्दा के भनिरहेका छन् त कास्की-२ का मतदाताले ?

उम्मेदवारी मनोनय गरेसँगै जनताको घरदैलोमा पुगें । जति मतदाताले भेटें, उहाँले हौसला थपिरहनुभएको छ । म अझ ऊर्जाशील हुँदै गइरहेको छु । सबैले सद्भाव नै राखेको पाएँ । कांग्रेसले राम्रो उम्मेदवार उठायो भन्ने प्रतिक्रिया आइरहेको छ । जतिलाई हेटें, भेटिरहेको छु, सबैको भनाइ छ, खेमराज गुरुले जित्नुपर्छ है । मैले जीत नजिक पुगेको महसुस गरेको छु ।

केन्द्रीय शीर्षनेताहरु आएर चुनावी सभा गर्नुभयो । तपाईंको पक्षमा मत पनि माग्नुभयो र माहौल सिर्जना गर्नुभयो । तर, कास्की-२ नेकपाको पकड क्षेत्र मानिन्छ । लालकिल्ला मानिएको यो क्षेत्रमा तपाईं आफैंले चाहिँ कति सुरक्षित देख्नुहुन्छ ?

अहिले केन्द्रदेखि जिल्लासम्मका सम्पूर्ण कांग्रेसहरु एकजुट भएर यो निर्वाचनमा होमिएको अवस्था छ । यो उपनिर्वाचन भए पनि एक किसिमको मिनी जनमत संग्रहकै रुपमा लिइएको छ । जनताले दुई तिहाई बहुमत दिएर बनेको जुन कम्युनिस्ट सरकार, राजनीनिक क्रान्ति पूरा भएर समृद्धितिर जानुपर्ने सरकार, गलत बाटोतिर हिँडिरहेको छ । अहिले देशमा कुशासन व्यस्त छ । भ्रष्टाचार मौलाएको छ । जनता निराश छन् । सरकार जुन दिशामा जानुपर्ने थियो, त्यता जान नसक्दा जनतामा निराशा छ । त्यसैले पार्टीमा पनि अब योबेला कांग्रेसले गर्नुपर्छ, एक हुनुपर्छ भनेर लागेको छ । जनताको निराशालाई चिरेर सरकारलाई सही दिशामा लैजानुपर्छ । सरकारलाई खबरदारी गर्न कांग्रेसले अहम् भूमिका खेल्नुपर्छ भनेर पार्टी एक ढिक्का भएको छ ।

अर्को कुरा, कुनै क्षेत्रमा कुनै पार्टीको स्थायी वा अस्थायी पकड हुन्छ भन्ने हुँदैन । एकपटक एक पार्टीले जितेको ठाउँमा अर्को पार्टी सजिलै आउन सक्छ । लालकिल्ला मानिएको कास्की क्षेत्र नम्बर २ सधैं लालकिल्लै रहन्छ भन्ने कुनै पनि आधार छैन ।

प्रत्येक निर्वाचनहरुमा फरक आवश्यकता र नयाँ व्यक्तिको खोजी हुन्छ र त्यस्तै व्यक्तिलाई जिताउँछ । पहिले रवीन्द्रको आवश्यकता देखे र जनताले जिताए । अब पनि उही पार्टीको आवश्यकता छैन भन्ने जनताले बुझिसके । किनकि सरकारको कामले नै त्यो कुरा बुझाइसक्यो । त्यसैले अराजकतातर्फ हिँडेको सरकारलाई ठीक बाटोमा हिँडाउन कास्की २ का जनता आतुर छन् ।

सधैं गुट-उपगुट र घात-प्रतिघातको विम्व बनेको कांग्रेस अहिलेचाहिँ एक भयो भन्ने आधार के त ?

सबै कांग्रेसीले महसुस गरे । जुनरुपले जानुपर्ने थियो, त्यसरी नहिँड्दाखेरि लोकपि्रय पार्टी कांग्रेसलाई जनताले रुचाएनन् । कांग्रेसजत्तिको लोकपि्रय पार्टी अरु छैनन् । त्यही पार्टी एक भएर नजाँदा जनताले साइजमा राख्न खबरदारी गरेका थिए । अब एकजुट भएर जाउ, राष्ट्रका निम्ति तिमीहरुको आवश्यकता छ भनेर जनताले भनिराखेको केन्द्रदेखि जिल्लासम्मका सबै नेताले महसुस गरेका छन् । त्यसरी नै सबै नेता र आकांक्षीसमेत जनताको घरआँगनमा पुगिरहनुभएको छ ।

जनताको घर आँगनमा गएर के भनेर भोट मागिरहनुभएको छ ? के हुन्, चुनावी एजेण्डा ?

एक त सरकार गलत बाटोमा गयो, यसरी नै जान दिने हो भने अझै गलत बाटोमा जान्छ भनेर जनतालाई बुझाएका छौं । दोस्रो, निर्वाचन भइसकेपछि विकास निर्माणका कुरा पनि हुन्छन् । जनताका चाहानामा निराशा छाइरहेको छ । विकास र सुशासनले बाटो बिराएको छ । यो क्षेत्रमा ११ वटा वडा छन् । त्यसमा कतिपय ग्रामीण क्षेत्र छन् । तिनले महानगरको सुविधा पाउन सकेका छैनन् । गाउँ र सहरबीचको खाडल घट्नुपर्नेमा अझ बढिरहेको छ । महेन्द्रपुल, पृथ्वीचोकवासीले जुन सहरी सुविधा पाएका छन्, निर्मलपोखरी, भरतपोखरी, कृस्ती, मौजा, भलामका नागरिकले पाएका छैनन् । पर्यटकीय केन्द्र पोखरा ती ठाउँसम्म विस्तार हुनै सकेको छैन । ती क्षेत्रको विकाससँगै विश्व पर्यटकीय गन्तव्य पोखरा अझ दरिलो बनाउन सकिन्छ । कृषिको आधुनिकीकरण एवं अव्यवस्थित सहरको व्यवस्थापन गर्नु अर्को आवश्यकता हो । मैले यिनै कुरासँगै भ्रष्टाचार, अनियमितता र कुशासनकाविरुद्ध संसदमा उभिएर आवाज राख्छु ।

घरदैलोको सुरुकै दिन सुकुम्वासी बस्ती पुगेर आयोगको अध्यक्ष हुँदा गर्न सकिनँ अब सुकुम्बासीको पक्षमा लालपूर्जा दिलाउँछु भन्नुभएको थियो । अध्यक्ष हुँदा नसक्नुभएको, अब सांसद भएर सक्नुहुन्छ त झन् ?

सुकुम्वासी आयोगको अध्यक्ष हुँदा सकेको, नसकेको भन्दा पनि समय अभावले गर्नै पाइएन । ०५५ सालमा आयोगको अध्यक्ष हुँदा काम गर्दागर्दै निर्वाचन आइहाल्यो । ७ महिनामा के गर्न सक्नु ? गर्नै पाइएन नि । नापी नक्सा लिन बर्खाले असर गर्‍यो । निर्वाचनका बेला आयोग नै खारेज नै भयो । त्यसैले सुकुम्वासीलाई पूर्जा दिलाउन लगत संकलन भएर पनि पूरा काम गर्न पाइएन । अब सांसद बनाउनुस्, तपाईंहरुको पक्षमा लड्छु भनेको हुँ ।

दलहरुले निर्वाचनमा विभिन्न हत्कण्डा अपनाउँछन् । यो उपनिर्वाचनमा पनि व्यक्तिगत लाञ्छना लगाउनेसम्मका काम भए भन्ने सुनिन्छ । किन यस्तो भइरहेको छ ?

भन्न त रवीन्द्रको उत्तराधिकारी भनेर उम्मेदवारी प्रस्तुत गरिएको छ । गणतन्त्रमा कोही उत्तराधिकारी हुँदैन ।

यो निर्वाचन कुनै पार्टी वा व्यक्तिसँग नभएर विषयसँग सम्बन्धित निर्वाचन हो । सरकारले जुन किसिमले काम गरेको छ, त्यो विषयसँग प्रतिस्पर्धा हो । हाम्रो प्रतिस्पर्धा पछौटेपनसँग हो । जनताको दुर्दशालाई न्यूनीकरण गर्ने मुख्य एजेण्डा हो । त्यसकारण मैले न कुनै हत्कण्डा अपनाएको छु, न कुनै व्यक्तिलाई प्रतिस्पर्धीको रुपमा हेरेको छु । निर्वाचनमा मबाट कुनै गालीगलौज र कसैलाई अपमान गरेको छैन । यदि तपाईंसँग प्रमाण छ भने भन्नुस् । यो निर्वाचन कुनै सत्ता परिवर्तनका निम्ति नभएर यसले के सन्देश दिन्छ भन्ने हो ।

कतै पार्टीका नेता तथा कांग्रेसका साथीहरुबाट कुनै व्यक्तिमाथि केही कुरा आए होलान् । तर, मैले कसैमाथि लाञ्छना लगाएको छैन । बरु विपक्षी पार्टीका साथीहरुले निर्वाचन आचारसंहिता मिचेको उजुरी परेको सुनेको छु । मैले न नेकपाकी उम्मेदवार विद्या भट्टराईलाई गाली गरेको छु, न अरु कुनै मान्छेलाई चोट पुग्ने कुरा गरेको छु । कांग्रेसका नेताहरुले भनेका रहेछन् भने त्यसको जवाफ उहाँहरुले नै दिनुहोला । म त निर्वाचन स्वच्छ हुनुपर्छ, कसैमाथि आक्षेप लगाएर होइन, जनताको मन जितेर जानुपर्छ भन्ने मान्यता राख्छु ।

स्वर्गीय पर्यटनमन्त्री रवीन्द्र अधिकारीले विकास निर्माण र जनताको सपनासँग जोडिएका आयोजनाको नेतृत्व लिइरहनुभएको थियो । अहिले विद्या भट्टराईले त्यही सपना पूरा गर्छु भनेर लाग्नुभएको छ । अनि तपाईंलाई जित्न सजिलो होला ?

रवीन्द्र अधिकारीलाई तीन पटकसम्म यो क्षेत्रका जनताले जिताएकै हुन् । सांसद र मन्त्री भएकै कारण विकास निर्माणको नेतृत्व गरे भन्ने कुरा होला । तर, ती विकासका योजनामा त सरकारकै लगानी हुने हो । अनि विकास गर्छु भनेर गएपछि गर्ने त्यही नै होला ।  तर, मैले अहिले सबै ठाउँमा घुमेर हेर्दा त लाग्यो, खास विकास त केही भएकै रहेन छ । साढे १२ वर्ष उहाँ सांसद हुनुभयो । १२ वर्ष भनेको लामो समय हो । खास परिवर्तन देखिएन ।

भन्न त रवीन्द्रको उत्तराधिकारी भनेर उम्मेदवारी प्रस्तुत गरिएको छ । गणतन्त्रमा कोही उत्तराधिकारी हुँदैन । रवीन्द्र अधिकारीले के सपना देख्नुभयो, थाहा छैन । तर, उहाँहरुले रवीन्द्रको सपना पूरा गर्ने कुरा गरिरहनुभएको छ । सपना पूरा गर्ने त जनताको हो । म त जनताको सपना पूरा गर्छु भनेर हिँडेको छु । मैले त ३ देखि ४ हजार मतान्तरले चुनाव जित्ने हिसाब गरेको छु ।

नेकपा उम्मेदवार विद्या भट्टराई अधिकारीसँगको प्रतिस्पर्धालाई तपाईले कसरी हेर्नुभएको छ ?

विद्याजीलाई पनि पार्टीले आवश्यकता देख्यो, चुनावमा उठायो । मलाई पनि पार्टीले उपयुक्त ठाग्यो, उभ्यायो । मुख्य कुरा यति नै हो । विद्याजीले पनि संघर्ष गर्नुभयो होला । उहाँको राजनीतिक योग्यतामाथि मैले प्रश्न उठाउन मिल्दैन । बरु मेरो उहाँलाई सुझाव छ, कसैको उत्तराधिकारी होइन, विद्या भट्टराईकैरुपमा राजनीतिमा आउनुस्, चुनावमा प्रस्तुत हुनुस् । यो एक दलीय शासन व्यवस्था भएको देश पनि होइन, उत्तराधिकारी बन्न । यो राजतन्त्र हटिसकेको देश हो, रवीन्द्र आफैं गणतन्त्र ल्याउन लडेको मान्छे हो भने तपाईं किन उत्तराधिकारीको रुपमा चुनाव लड्नुहुन्छ ? भन्ने मेरो सुझाव हो ।

यो पनि पढ्नुस्ः

म कसैलाई आरोप लाउदिनँ, राजनीतिक मुद्दामा लडौं :  विद्या भट्टराई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment