Comments Add Comment

झिल्के अचेल ओडारमा बस्दैनन्

एउटा चेपाङको बद्लिदो लाइफस्टाइल

माथिल्लो बरपुक क्षेत्रमा घुँडाभन्दा माथिसम्म मात्रै ढाक्ने कछाड, माथि ४ थान कपडा, मध्यदिनमा टहटह घाम लागिरहेको बेलामा पनि आधा टाउको छोपिने गरी टोपी लगाएर खाली खुट्टा हिँड्ने जो कोहीलाई भेटेपनि अनुमान गर्दा हुन्छ, ती पक्कै पनि झिल्के नै हुन् ।

उनको वास्तविक नाम होे आइतमान चेपाङ । उनी त्यस्तो झिल्के भन्न लायकको सुन्दर बनेर हिँड्ने व्यक्ति त होइनन् । तर, पनि उनी त्यो गाउँसहित छिमेकी गाउँमा समेत सोही नामले चर्चित छन् ।

वास्तवमा उनको बाबुको नाम थियो, झिल्के । तर, गाउँलेले उनलाई किन झिल्के भन्न थाले ? थाहा छैन । मायाले बोलाउनेहरुसँग झिल्केभन्दा पनि बोल्छन् । कसैले हेपेर कुरा गर्ने पनि गर्छन् । हेपेर बोल्नेहरुसँग वास्तै नगर्ने उनको बानी छ ।

गाउँका सबैले विशेष महत्व दिएका झिल्के केवल एक व्यक्ति मात्रै होइनन् । दुःखको एउटा पर्याय हुन्, जीवन भोगाईको एउटा खुल्ला विश्वविद्यालय हुन् । त्यसैले झिल्के गाउँको अरु व्यक्तिभन्दा भिन्न छन् ।

खुट्टाले आफैं हिँड्न सक्ने हुँदा/नहुँदै बाबुले संसार छाडे । जीवनको ३ वर्षबाट नै उनीमाथि बज्रपातको बषर्ा हुन सुरु भएको हो । त्यो पीडालाई उनको बालमस्तिस्कले बिस्तारै नियन्त्रणमा लिँदै थियो । त्यही आलो घाउमा आमाको मृत्युको अर्काे बज्रपात थपियो । त्यो उमेर उनको आमाको काखमा घुर्की र धम्की दिएर मीठो मीठो खाने उमेर थियो ।

भाग्यमै मीठो खाने त लेखेको रहेनछ नै कुनै साहारामा टेकेर हुर्किन समेत पाएनन् उनी । तर, भाग्यलाई दोष दिनसक्ने नभएको भएपनि जसरी हो उनले आफ्नो मनलाई नियन्त्रणमा राखेरै आए । उनलाई थाहा छैन, बाबुको मृत्यु घरमा भयो या ओढारमा ? तर, उनले आमाको वियोग भने एउटा घरमा नै भोगेका थिए । त्यो घरमा बस्न पनि मन लागेन र उनी ९ वर्षको उमेर हुँदैमा लागे ओढारतिर ।

झिल्के आफूलाई खाँटी चेपाङ भन्न रुचाउँदैनन् । कारण उनका बाबु चेपाङ भएपनि आमा थिइन् नेवारकी छोरी । आमा अन्यत्रैबाट आएकी नेवारकी छोरी थिइन् । को थिइन् कसैलाई पत्तो छैन । उनले कहिलैपनि मामाघर देक्न पाएनन् । बाबु आमाले नै छाडेर गएपछि उनले आफ्नो घर छाडे । अन्तमा उनको साहारा त्यही ओढार बन्यो ।

झिल्केको ओढारको जिन्दगी

झिल्केको संघर्षको यात्रामा त्यो ओढारले धेरै साथ दियो । मध्यरातमा पल्लो गाउँबाट काम गरेर फर्किँदा पनि ओढारले उसलाई किन ढिला ? भनेर सोधेन । कसैलाई स्पष्टीकरण दिनु परेन । कसैको टोकसो पनि सहनु परेन । झिल्के बरु आफैं ओढारलाई आफू ढिला हुनुको कारण बताउने गथ्र्ये । उनले त्यही ओढारसँग कुराकानी गरेर नै आफ्नो मनलाई अविचलित राखेका थिए ।

बिहान चाँडै उठेर हिँड्ने बेलामा पनि ओढारले उसलाई कहाँ जान लागेको ? भनेर कहिलै सोधेन । बरु उनी आफू नै जान लागेको ठाउँबारे बताउने गथ्र्ये । झिल्केको र ओढारबीच केवल एकपक्षीय सञ्चार झण्डै ४० वर्षसम्म चलिरहृयो । यही ओढारमा झिल्केको बैंश उमेर गयो । आफ्नै पेट पाल्न द्यौ द्यौ रहेको अवस्थामा उनले विवाहको कुनै कल्पना पनि गरेनन् । एउटा ज्यानसम्म त यही गुफामा पनि गुजि्रँदै थियो । तर, अरुको जिन्दगी विगार्नुुहुन्न भन्ने सोचेर नै आफ्नो महत्वपूर्ण उमेर झिल्केले विवाह नगरी टारे ।

अब पनि बिहे नगर्ने हो भने झिल्के उनको वंशका अन्तिम पुस्ता हुन् । उनका न त दाजुभाइ छन् न त दिदीबहिनी नै एक्लो उनको दैनिकी प्रकृतिसँग कुरा गर्दै बित्ने गर्छ । बिहान उठ्यो, गाउँघरमा डुल्दै जाँदा कसैले एक पेट भर्ने खाना दिए भने खायो र दिनभरी वल्लोपल्लो गाउँमा टहलियो । फेरि बेलुका पनि पापी पेट भर्नको लाग फेरि अर्काे द्यौै । उनको बाल्यकालको आधा दशक यसरी नै बितेको थियो झिल्केको ।

यही क्रममा कैयौं छाक भोकै बसेको तीतो अतित भने उनले सुनाइरहनु आवश्यक देखेनन् । लाग्छ, उनलाई त्यो विगत कोट्याउन मन नै छैन ।

गाउँ बाहिरदेखि नै झिल्केको चर्चा

पृथ्वी राजमार्गको खटौती खोला खोलै बरपुक तर्फ उकालो लाग्नै लाग्दा राजमार्गको किनारामा रहेको किराना पसलेले भनेका थिए, ‘बरपुक पुगेपछि झिल्केसँग भेट्न नभुल्नु होला है ।’

त्यतिबेलासम्म झिल्के र बरपुकको सम्बन्धबारे ज्ञात थिएन । झण्डै ११ किलोमिटर तलबाटै सुनिएको झिल्केको चर्चाले उनी कस्तो होलान् ? भन्ने कौतुहलता हुनु स्वभाविक नै थियो । लाग्यो झिल्के एक आदर्श व्यक्ति होलान् या त्यहाँको कुनै ठूलै हर्ताकर्ता । स्वीकृतिसूचक मुन्टो हल्लाईयो र साँझ सातबजेबाट तीनघण्टाको पैदल यात्राको लागि हिँडाई सुरु भयो । रातिको मौसममा चिसो सिरेटो भएपनि मनमा भएको छटपटीले चिसोको अनुभूति हुन दिएको थिएन । त्यही छटपटीका कारण झिल्केको याद बाटोमा त्यति धेरै आएन ।

झिल्केको महत्व त्यतिमा मात्रै सीमित थिएन । त्यहाँबाट उकालो लागेपछि हरेक मानिसहरु झिल्केसँगको साक्षात्कारलाई नै विशेष महत्व दिन थालेपछि लाग्यो झिल्के गाउँका एक विशेष व्यक्ति हुन् । त्यति धेरै झिल्केको महत्व बताइसकेपछि सम्भवतः जोकोही पनि उनलाई भेट्न माथिल्लो बरपुक पुग्ने गर्छन् ।

झिल्केको आधुनिक जीवन

तर, अब अरु जस्तै झिल्केेले पनि आधुनिक जीवन जिउन सुरु गरेका छन् । विभिन्न संस्थाहरु मिलेर उनको घर बनाइदिएको छ । तर पनि झट्ट त्यो बाल्यकालको सारथि ओढारलाई भुल्न सकिरहेका छैनन् । कहिलेकाहीँ त्यहीँ गएर सुत्ने गरेको उनी सुनाउँछन् ।

दिउँसो ठीक १२ बजे उनकै घरमा पुग्दा घरको मूल ढोकै नजिक रहेको एउटा ओदानमा ढिँडो ओडालिरहेका भेटिए उनी । एक हुल गाउँले सहित दुई अपरिचित आगन्तुकलाई देखेपछि एकाएक झिल्के आत्तिए । सँगै रहेका वडासदस्य कूलमान प्रजाले झिल्के भाग्न सक्ने आशंका गर्दै पहिले नै सौहार्दपूर्ण रुपमा आफैंले कुरा सुरु गरे ।

उनी जो सुकै अपरिचितसँग पनि कुरा गर्न सुरुमा डराउँछन् । मौका मिल्यो भने भागीहाल्छन् पनि । तर, त्यो दिन उनले भाग्ने मौका नै पाएनन् । तर, कुरा गर्नथालेपछि सबैसँग आत्मीय व्यवहार गर्छन् उनी । पेटमा कसैप्रति ईष्र्या छैन । जे छ स्पष्ट भन्ने स्वभाव छ ।

सुरुमा अन्तै भाग्न खोजेका झिल्केले आफ्नो दुख परायालाई देखाउन चाहेनन् र ओडालिरहेको ढिँडो लुकाउनको लागि मूलघरको ढोका नै बन्द गरिदिए । तर, पछि बिस्तारै परिचय दिँदै गएपछि उनले दु ः ख लुकाइरहनु आवश्यक मानेनन् । सोधिएका प्रश्नहरुको उत्तर दिँदै ढिँडो पनि ओडालिरहे । ‘धेरै साह्रो पनि खानु हुँदैन । छोपीदिन्छु ।’ उनले यति भन्दै त्यो ढिँडो छोपेर बाहिर नै आएर आफूलाई सोधेका प्रश्नहरुको उत्तर दिन थाले ।

कसरी रहृयो झिल्के ?

वास्तवमा झिल्के उनका बाबुको नाम थियो । सानैमा बितेकोले पनि हुनसक्छ, गाउँलेले उनलाई पिताकै नामबाट चिन्न थाले । उनको वास्तविक नाम आइतमान हो । यो केवल स्मरणमा रहृयो सबैले झिल्के भन्न थाले । त्यो गाउँमात्रै नभएर अरु गाउँमा समेत झिल्केकै नामबाट उनी चिनिन्छन् ।

५० वर्ष पुगेपनि उनी अहिलेसम्म विवाह बन्धनमा बाँधिएका छैनन् । उनलाई विवाहको चासो पनि थिएन अहिलेसम्म । दिनभरी एउटा गाउँदेखि र अर्काे गाउँसम्म पनि डुलेर हिँड्थे । फर्किएर आएपछि सुत्नको लागि त्यही ओढारको छानो थिँदै थियो ।

गुफाबाट जबर्जस्ती घर भित्र्याईएका भिल्केलाई अहिले आएर विवाहको आवश्यता पर्न थालेको छ । उनको मनले घरगृहस्थीको आवश्यकता दर्साउँदैछ । ‘कोही मान्छे त खोजेको छैन । तर, अब वंश परम्परा पनि त चलाउनु पर्यो ‘ उनी भन्छन्, ‘तर, विवाह त नपढेकै केटीसँग गर्नुपर्छ ।’

त्यसैको लागि उनी अहिले बारी फाँडेर फलफूल रोप्ने योजनामा छन् । अनलाइनखबरसँगको कुराकानीको क्रममा उनी स्मरण गर्छन् ‘एउटी श्रीमती भए म काम गर्थे, खेतीपाती गरेर बजारमा बेच्न जान्थेँ । उसले घरमा खाना बनाउँथी, घरमा केही बस्तुभाउ पनि हुन्थे ।’ यो उनको विवाह पछिको योजना हो । तर, उनी दुई वर्षसम्म केही पढेरमात्रै विवाह गर्ने सोचमा छन् ।

दुई वर्षपछि विवाह गर्ने उनको सोचमा पनि छुट्टै तर्क छ । उमेरमा पढ्न नपाएका उनलाई अहिले आएर पढाईको भूत चढेको छ । उनी अहिले बुढेशकालमा आएर कखरा सिक्दैछन् । यो बुढेशकालमा केही अंकहरुको ज्ञान मात्रै भएपनि खेतीपाती गरेपछि बजारमा तरकारी बेच्न जाने बेलामा अरुबाट ठगिनु पर्दैन भन्ने उनको बुझाई छ । अहिले उनी दैनिक अंकको ज्ञान सिकिरहेका छन् ।

एकदेखि १०० सम्म उनले सिकिसकेका छन् । स्कूल जानको लागि उमेर बितिसकेकोले घरमै बसेर यसको अभ्यास गरिरहेको उनी बताउँछन् । ‘तपाईंहरु जस्तै काठमाडौंबाट आउनुभएका सरहरुले हिसाब सिकाएर जानु भएको छ । अब आफैंले सिक्नुपर्ने धेरै छ । किताबको चाङ छ, पैसा कमाउने लोभले काममा गयो पूरा पढ्न भ्याएको छैन’ उनी भन्छन् । ‘पढ्न भनेको त गाह्रै हुँदो रहेछ । त्यसमा पनि बुढेशकाल लागेकोले होला हात नै अरअरो भएर लेख्नै सकिँदैन ।’

विवाहको सवालमा उनको स्पष्ट भिजन छ । नपढेकी केटी नै विवाह गर्नुपर्छ । पढेकी केटी धेरै राजनीति गर्छन् । त्यो उनको नजरमा राम्रा होइनन् । उनी भन्छन् ‘अब आफूले केही गर्न सक्ने भएपछि मात्रै म बिहे गर्छु ।’ धेरै पढ्न नपाएकोमा उनलाई पनि हिनताबोध हुन्छ । उनी भन्छन् ‘धेरै पढ्न पाइएन दुख लाग्छ । तर,पनि आफ्नै घरमा बसेर डोको बुन्छु खान्छु । गिठा खोज्छु । भ्याकुर खोज्छु । अरु लापरबाही गर्न आउँदैन ।’

तस्वीरः चन्द्रबहादुर आले

यो पनि पढ्नुहोस ओढारमा बस्न नपाउँदा दुःखी छन् चेपाङ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment