Comments Add Comment

राज्यमन्त्री दुगडको ‘राजस्थान कनेक्सन’ के हो ?

१० मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो मन्त्रीमण्डल पुनर्गठन गर्दा मारवाडी समुदायका एक व्यापारीले अनपेक्षित ‘इन्ट्री’ पाए । ती भाग्यमानी थिए, दुगड स्पाइस एवं फुड्स कम्पनीका म्यानेजिङ डाइरेक्टर मोतीलाल दुगड ।

उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्रीमा नियुक्ति पाएका दुगडको बारेमा अहिले एउटा चर्चा चलेको छ, उनी भारतीय हुन् भन्ने । एउटा भारतीय वेवसाइटले उनलाई ‘फतेहपुर, राजस्थान निवासी’ भनेर प्रकाशित गरेको समाचार धेरै नेपालीहरुले सेयर गरिरहेका छन् ।

jainterapanthnews.in ले लेखेको छ, ‘जैन नेरापन्थ समाज नेपालका मुख्य व्यक्तिमध्येका श्री मोतीलाल दुगड, फतेहपुर राजस्थान निवासी विराटनगर प्रवासीलाई नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको क्याबिनेटमा उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री बनाइएको छ । कुनै पनि देशको मन्त्रीमण्डलमा तेरापन्थ समाजका व्यक्ति सहभागी हुनु आफूहरुको लागि गौरवको कुरा भएको पनि समाचारमा उल्लेख छ ।

यस विषयमा राज्यमन्त्री दुगडलाई अनलाइनखबरले प्रश्न गर्दा उनले ठाडै अस्वीकार गरे ।

‘मेरा विरोधीहरुले गरेको सुनियोजित प्रचार हो । म नेपालमा जन्मेको नेपाली नागरिक हुँ । मसँग नेपालको जन्मसिद्ध नागरिकता छ । कसैले माग्यो भने देखाउन सक्छु ।’

उनले आफ्नो जन्म विराटनगरमै भएको बताउँदै भारतको कुनै पनि संघ–संस्थामा आफू नरहेको पनि प्रष्ट पारे ।

तेरापन्थ समाजको विषयमा राज्यमन्त्री दुगडले भने, ‘त्यो राजस्थानमा रहेको जैनहरुको एउटा धार्मिक संस्था हो । यसको शाखा नेपालमा पनि छ । तर, म चाहिँ तेरापन्थ समाजको नेतृत्वमा छैन ।’

भारतको राजस्थानमा दुगड परिवारको जरो भने गाँसिएको छ । उनका हजुरबा राजस्थानका बासिन्दा थिए । धेरै वर्ष अगाडि हजुरबा नेपाल आएको र आफ्नो बुवा पनि नेपालमै जन्मिएको दुगडले बताए ।

‘म मात्र होइन, मेरो बुवा स्व. हरि सिंह पनि बकाइदा नेपाली नागरिक हुनुहुन्थ्यो । कसैले हाम्रो राष्ट्रियतामा प्रश्न उठाउन सक्दैन,’ उनले भने ।

दुगडको विवाह भने भारतीय महिलासँग भएको हो । ३५ वर्ष अगाडि उनले भारतीय युवतीसँग विवाह गरेका उनले पत्नीलाई नेपालको अंगिकृत नागरिकता दिलाइसकेका छन् ।

को हुन् दुगड ?

विराटनगरमा जन्मेका दुगड सन् १९८४ देखि उद्योगधन्दामा छन् । उनका बुवा हरि सिंहले तेल उद्योग स्थापना गरेका थिए । पछि उनी आफैंले सेञ्चुरी मसला उद्योगको स्थापना गरे । बिराटनगरमा नै उनले चारतारे ह्यारिसन होटल पनि चलाएका छन् भने पाँचतारे होटल दी सेन्चुरियन सञ्चालनमा ल्याउने तयारीमा छन् । दुगडका केही उत्पादनमूलक उद्योग पनि छन् ।

लामो समय व्यापार व्यवसायमै व्यस्त रहेका दुगड करिब एक दशकदेखि राजनीतिमा लागेका हुन् । तत्कालीन सद्भावना पार्टीका अध्यक्ष गजेन्द्रनारायण सिंहको प्रेरणाले राजनीतिमा लागेको उनी बताउने गर्छन् । सुरुमा उनी सद्भावना पार्टीमै आवद्ध भएका थिए र सो पार्टीबाट सभासद पनि बने । पछि श्यामसुन्दर गुप्तासँग विवाद भएपछि सद्भावना फुटाएर उनी आफैंले नवनेपाल निर्माण पार्टी खोले । तर, दोस्रो संविधानसभा निर्वाचनमा उनको पार्टीको पत्तासाफ भयो । त्यसपछि अघिल्लो चुनावअघि उनले आफ्नो पार्टीलाई तत्कालिन एमालेमा विलय गराएका थिए ।

गत संसदीय चुनावबाट एमालेले उनलाई समानुपातिक सांसद बनायो । दुवैपटक दुवैपटक सांसद बन्दा दुगडले राजस्थानी पहिरनमा सपथ खाएका थिए, तर नेपाली भाषामै सपथ वाचन गरेका थिए ।

यसपालिको मन्त्रीमण्डल पुनर्गठनमा दुगडको इन्ट्री धेरैका लागि अनपेक्षित थियो । मन्त्रीको पदभार ग्रहण गर्दा उनले आफू ‘प्रधानमन्त्री ओलीको माया पाएर यो ठाउँमा आएको’ बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment