Comments Add Comment

गुरूकुल विद्याश्रम सञ्चालन गर्न महायज्ञ गरिँदै

१० मंसिर, बुटवल । बुटवल–७ दीपनगरस्थित नीलकण्ठ बाबाधाम तथा सन्तोषीमाता गुरूकुल विद्याश्रममा महायज्ञ सञ्चालन गरिने भएको छ ।

मंसिर १५ गतेदेखि शिव पञ्चपुराण तथा धनधान्याञ्चल ज्ञान महायज्ञ सञ्चालन हुने भएको हो । हराउँदै गएको संस्कृत पाठशालाको विकास गरी मन्दिरलाई धार्मिक पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न महायज्ञ आयोजना गर्न लागिएको यज्ञ सम्पादन मूल समितिका सहसंयोजक चुडामणि पौडेलले जानकारी दिए ।

बाबाधामले प्रत्येक वर्ष यज्ञ सञ्चालन गर्दै आएको छ । यस वर्षको महायज्ञ ११ औं महायज्ञ रहेको पौडेलले बताए । यज्ञ यही मंसिर २६ गतेसम्म सञ्चालन हुनेछ ।

‘बुटवलको समीपमा रहेर पनि नीलकण्ठ धाम आझेलमा छ’ पौडेलले भने, ‘महायज्ञ सम्पन्न गरी बचेको रकमले नीलकण्ठ बाबाधाम तथा सन्तोषीमाता गुरूकुल विद्याश्रमको भौतिक विकासमा खर्च गरिने छ ।’महायज्ञको प्रमुख बाचक खिवराज न्यौपानेबाट शिव पुराण कथा वाचन तथा संगीतमय प्रवचन हुनेछ । बाबा धामको २०६२ को महाशिवरात्रीमा मूर्तिको प्राण प्रतिष्ठा तथा विविध अनुष्ठान गर्दै समुदघाटन गरिएको थियो ।

धाममा बाह्र वर्षभन्दा तलका बटुक लिइ गुरूकुल सञ्चालन गर्ने नीललकण्ठ भगवानको दिव्यवाणी भए अनुसार विद्याश्रम स्थापना गरिएको थियो । वैदिक सनातन धर्म संस्कृतिको संरक्षण गर्दै समाजमा विद्यमान विकृति र विसंगतिलाई अन्त्य गर्दे कुशल नैतिकवान नागरिक बनाउने उद्देश्यले २०६४ सालदेखि सन्तोषीमाता गुरूकुल विद्याश्रम सञ्चालन हुँदै आएको छ ।

विद्याश्रममा देशका विभिन्न जिल्लाहरूबाट बटुकहरू आइ पूर्ण रुपमा आवासीय निशुल्क अध्ययन गरिरहेका छन् । तर, आर्थिक अभाव भएको कारणले यज्ञ सञ्चालन गर्नुपर्ने अवस्था रहेको पौडेलले बताए । यज्ञबाट करिब ७० लाख रुपैयाँ संकलन गर्ने आयोजकको अपेक्षा छ । गुरूकूलका लागि अहिले वर्षिक ८ लाख रुपैया उपलब्ध गराइदै आइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment