Comments Add Comment

घिनाघाट–विराटचोक सडकमा विजुलीको खम्बाले समस्या

१० मंसिर, विराटनगर । विराटनगर रानी–धरान ६ लेन सडक परियोजनामा बिजुलीको पोल नहटाएपछि ठेकेदारले सडकको बीचमा पोल राखेर कालोपत्रे गरिदिए । बुढीगंगा गाउँपलिका– १ खण्डमा ६ लेनको सडकको बीचमा रहेको पोल स्थानान्तरण नहुँदा दुर्घटनाको जोखिम बढेको छ ।

विराटनगरमा सञ्चालित क्षेत्रीय सहरी विकास परियोजनाको काम पनि विद्युत प्राधिकरण कारण लम्बियो । खानेपानी पाइप र विद्युतको पोलका कारण आयोजनाको म्याद छ महिना थपिएको छ ।

छ लेन सडक र महानगरको योजनामा जस्तै प्रदेश– १ सरकारको महत्वकांक्षी आयोजनामा बिजुलीको पोल नै बाधक देखिएको छ । एक नम्बर प्रदेश सरकारले विराटनगर जोड्ने घिनाघाट– विराटचोक चार लेन सडक आयोजनालाई नमुना आयोजनाको रुपमा अघि बढाएको छ ।

तीन महिनाअघि शिलान्यास भएको सडकको स्तरोन्नतीको काम तिब्र गतिमा छ । ठेकेदार कम्पनीका अनुसार पछिल्लो तीन महिनामा १५ प्रतिशत काम सकिएको छ । तर सडक निर्माणमा खानेपानीको पाइप र विजुलीको पोल बाधक बनेको छ ।

२२ किलोमिटर लम्बाइको सडक स्तरोन्नतीको काम ठेकेदार कम्पनीले तिब्र बनाए पनि बिजुलीको पोल र खानेपानी पाइप स्थानान्तरण भएको छैन ।

सडक निर्माणको काम गरिरहेको श्रेष्ठ रमण एपेक्स जेभी कम्पनीका व्यवस्थापक भरत कार्कीले खानेपानीको पाइप र विद्युत पोलका कारण काम गर्न समस्या भएको बताए । सडक पुर्ने काम तिब्र बनाए पनि काममा बिजुलीको पोल र खानेपानी पाइपले समस्या निम्त्याएको उनको भनाइ छ ।

बिजुलीको पोल नसारी सडकको काम अघि बढाए सडक चाडै बिग्रने इन्जिनियर अभि पोखरेल बताउँछन् । ‘माटो पेल्न बिजुलीको पोलले समस्या बनाउँछ’ उनले भने ‘पोल र खानेपानी पाइपका कारण चाहेको स्पीडमा काम गर्न सकेका छैनौं ।’ उनले बिजुलीको पोल नसार्दा ग्रेटरले माटो पोल्न नमिल्ने र जसोतसो काम गरे पनि कालोपत्रे गरिसकेपछि समस्या आउन सक्ने बताए ।

तीन महिनाअघि शिलान्यास भएपछि काम सुरु गरेपछि एक सय ६ जना मजदुर प्रयोग गरी माटो भर्ने र पर्खाल निर्माणको काम गरिरहेको बताए ।

घिनाघाट– विराटचोक सडक विराटनगर प्रवेशको वैकल्पिक मार्ग पनि हो । प्रदेश सरकारको १ अर्ब ४० करोडको लगानीमा निर्माण भइरहेको सडकको काम तिब्र बनाइएको पूर्वाधार विकास कार्यालय मोरङका प्रमुख सुशील श्रेष्ठले बताए । उनका अनुसार १५ प्रतिशत हारहारी काम सकिएको छ । सडकको काम आगामी २०७८ साल असार मसान्तसम्म सक्नुपर्ने समय सीमा रहेको उनले बताए ।

विद्युत प्राधिकरण विराटनगर वितरण केन्द्रका प्रमुख राजिव सिंह परियोजना आफैंले ठेकेदारमार्फत पोलको सिफ्टिङ गर्ने बताउँछन् । घिनाघाट विराटचोक सडक खण्डको पोल सिफ्टिङका विषयमा ठेकेदारले जानकारी नै नगराएको उनले बताए । आयोजनाले प्राधिकरणसँग समन्वय गर्नुपर्ने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment