Comments Add Comment
कास्की २ मा विवेकशीलको घरदैलो :

जनताले विस्तारै विकल्पको खोजी गर्नेछन् : जमुना शर्मा

११ मंसिर, पोखरा । पोखरा–१२ एउटा चोक छ, भानुचोक । भानुभक्तको शालिक भएको पार्क छेउमा झण्डा भएको गाडी रोकिएको छ । पार्कजनिकै स्टाण्डमा देखाइएको छ प्रचार सामाग्री । बाटो आउजाउ गर्नेहरु एकछिन हेर्छन्, जान्छन् । गाडी आसपास कोही मान्छे छैनन् तर बजिरहेछ एउटा गीत ।

कास्कीमा गुलाफको फूल…

यो प्रतिनिधिसभा सदस्यका लागि कास्की २ मा हुने उपचुनावमा विवेकशील नेपाली दलकी जमुना शर्माको चुनावी प्रचार अभियानका क्रममा देखिएको एउटा दृश्य हो । ११ गते बुधबार राति १२ बजेबाट मौन अवधि सुरु हुँदैछ । त्योभन्दा दलहरु अन्तिम प्रचारप्रसारको होडबाजीमा छन् ।

जमुनाको चुनावी प्रचार भने फरक देखियो । विवेकशीलका नेताहरुसहित घरदैलो गरिरहेकी छन् । भानुपार्क नजिकै रञ्जु दर्शनासहित एक टोली भेटियो । रञ्जु चौतारीमा बसेर दुई युवालाई सम्झाउँदै थिइन्, ‘तपाईंहरुले यसअगाडि पनि भोट त हाल्नु भएकै हो । अब त्योभन्दा अगाडि तपाईंका बुवाआमाले पनि भोट हालेर जिताउनुभएकै हो । तर हेर्नुस् त, खै देश बदलियो त ?’
यो पनि पढ्नुहोस ‘चुनाव हो, मैले जित्न पनि के बेर !’

रञ्जुले विवेकशील युवाहरुको पार्टी भएको भन्दै जमुना शर्मालाई भोट मागिन् । ‘राजनीतिप्रतिको दृष्टिकोण बदल्ने युवाले नै हो । त्यसैले अहिलेका पार्टीहरुलाई अब तिमीहरु सच्चिएनौं भने अर्को पार्टी आउँछ भनेर देखाउने बेला हो,’ रञ्जु भन्दै थिइन् । रवीन प्रधान र अर्जुन गुरुङ शुभकामना दिएर त्यहाँबाट हिँडे ।

नजिकै दुई ज्येष्ठ नागरिक भेटिए । विवेकशीलबारे पत्रिकामा पढेको र टिभीमा देखेको बताउने उनीहरुसँग पनि रञ्जुले जमुनाका लागि भोट मागिन् । जमुनाको पक्षमा चुनावी अभियान चलाउन र घरदैलो गर्न विवेकशील नेतृ रञ्जु १६ दिनदेखि पोखरा छिन् । उनी घरघर पुगेर जनतालाई सम्झाउने यसपटक वैकल्पिक शक्ति अनि युवाहरुको पार्टीलाई भोट आग्रह गर्छिन् ।

जनताको घरघर पुग्दा उनले के पाइन् ? मतदाताको मानसिकता पनि बदलिएको छ ? रञ्जुले सुनाइन्, ‘पहिलो कुरा त घरघर पुगेर पार्टीका विषयमा बुझाउन पाइयो । पहिलेजस्तो कुरै सुन्न नखोज्ने जनता देखिएनन् । अर्कै पार्टीको झण्डा फरफराइरहेका घरका मतदाता पनि ध्यान दिएर अरु पार्टीका कुरा सुन्ने भएछन् । अभिमत जता जाहेर पनि कुरा सुन्नु र बुझ्न खोज्नु सकारात्मक हो । मान्छेले नयाँ वैकल्पिक पार्टीको खोजी चाहिँ मैले महसुस गरेँ ।’

जनतामा पैदा भएको निराशा भने सबै पार्टीले सिक्नुपर्ने र बुझ्नुपर्ने अवस्था आएको रञ्जुको भनाइ छ । ‘राजनीतिबाट मतदाता टाढिएको हो कि भन्ने पो मैले महसुस गरें,’ उनले सुनाइन्, ‘यो हाम्रो त्यति ठूलो बेस भएको ठाउँ पनि होइन । ठूला पार्टीले यहीँबाट राजनीति गरे । कति जना मतदाता त हामीसँग आएर रुनु नै भएको छ । लोकतन्त्रमा यो चाहिँ राम्रो कुरा होइन ।’

मंसिर १४ को उपचुनावलाई विपक्षी दलहरुले मिनी जनमत संग्रहको रुपमा व्याख्या गरेका छन् । तर कास्की २ को चुनाव प्रत्येक पार्टीको हैसियत पत्ता लगाउने परीक्षा पनि हो । विवेकशील दल कास्कीमा कहाँनेर छ अहिले भनेर हेर्न र आफ्नै परीक्षामा समेल हुन पनि यो चुनावमा सहभागी भएको रञ्जुले बताइन् ।

०००

भास्कर स्कुलको नजिकै रहेको एउटा किराना पसलनेर नेपाली झण्डा लिएर बसेका केही मान्छेको समूह देखियो । त्यो पनि जमुनाको घरदैलो रहेछ । न आसपास ठूलो आवाजमा भोट माग्दै हिँड्ने मान्छेको समूह छ, न कुनै ब्यानर ।

जमुनाको हातमा छ, गुलाफको फूल । केही युवाका हातमा चुनावी एजेण्डाहरु लेखिएको पर्चा थियो र उनीहरुले त्यही पर्चा दिँदै भोट मागिरहेका छन् ।
यो पनि पढ्नुहोस ‘रवीन्द्रकी पत्नीको नजरले मात्र पक्कै हेर्नु हुने छैन’

देशको राजनीतिले मन पिरोलेपछि आफैं होमिएको र युवाहरुको पार्टी रोजेर मैदानमा आएको जमुनाले सुनाइन् । ‘म सामाजिक क्षेत्रमा क्रियाशील थिएँ । देशमा व्याप्त निराशा देखेपछि राजनीतिमा लागेर केही गर्नुपर्छ भनेर आएकी हुँ,’ जमुना भन्छिन्, ‘यसअघि पुराना पार्टीहरुलाई भोट हाल्नुभयो । यसपाली मलाई हेर्नुस् ।’

पोखरा बैदाम घर भएकी जमुनासँग समाजिक परामर्शदाताको रुपमा काम गरेको अनुभव छ । महिला अधिकारको क्षेत्रमा लामो समयदेखि नेतृत्वदायी भूमिका खेल्दै आएकी उनी सामाजशास्त्र र राजनीति शास्त्रकी विद्यार्थी पनि हुन् ।

पहिलो पटक चुनावी मैदानमा होमिएकी जमुना राजनीतिमा केही समयपछि परिवर्तन आउने र जनताहरुले विस्तारै विकल्पको खोजी गर्ने बताउँछिन् । ‘पुराना पार्टी राम्रा भइदिएको भए न विवेकशील बन्थ्यो, न म राजनीतिमा आउनुपथ्र्यो,’ जमुनाले सुनाइन्, ‘भइरहेका पार्टी भ्रष्टाचार, कुशासन र विभिन्न बाहानामा जनता झुक्याउने, कमिसन र पैसाको वरिपरीमात्रै घुम्ने गरेकै कारण पो हामी पाउनु परेको । यो कुरा बिस्तारै जनताले बुझ्दैछन् ।’

विवेकशील पार्टीको सिद्धान्त र विचार मिलेका कारण र एउटा सुसंस्कृत राजनीतिको सुरुआत गरेका कारण त्यसैसँग जोडिएर राजनीतिमा होमिएको जमुनाले बताइन् । घरदैलोमा युवाहरु भेटिन्छन्, जमुनाको प्रचार टोली युवाहरुकै पार्टी हो भन्दै बुझाउँछन् । ज्येष्ठ नागरिकलाई हिजो भोट हालेर गएका नेताले केके गरे, केके गरेनन् एक सोचेर नयाँ पिडीलाई माया गर्न आग्रह गर्छन् ।

सचेत युवाहरु राजनीतिमा हस्तक्षेत्र गर्ने गरी आउनुपर्ने घरदैलोमा हिँडेका अलोक सुवेदी बताउँछन् ।
नेकपाबाहेक अरु पार्टीको जस्तै चुनावी ऐजेण्डा विवेकशीलको पनि झण्डै उस्तै नै छ । शिक्षा, स्वास्थ्य, सुशासन, यातायात, पूर्वाधारमा केन्द्रित एजेण्डा नै हो । उनीहरुको मुख्य जोड राजनीतिलाई गाली गरेर बस्ने होइन, युवाहरु नै राजनीतिमा होमिनुपर्ने बताउँछन् । मंगलबारदेखि विवेकशील संयोजक पाण्डे पनि घरदैलोमा छन् । पुरानो पार्टीबाट निराश जनता वैकल्पिक शक्ति चाहिन्छ भन्ने स्थिति देखेको बताउँछन् । यो निर्वाचन जनता र विवेकशीलका निम्ति पनि एउटा कोशेढुंगा हुने उनको पनि विश्वास छ ।

पहिले साझा विवेकशील एउटै पार्टी थियो । अहिले साझा र विवेकशील अलग भएका छन् र अलगअग चुनाव लडेका छन् । त्यसैको कास्की २ को चुनावमा सरकार र विपक्षीको लोकप्रियता मात्र होइन, साझा र विवेकशील मध्ये को लोकप्रिय भन्ने पनि देखाउने प्रतिस्पर्धा छ । यसमा छिनोफानो भने १४ गते हुनेछ ।
यो पनि पढ्नुहोस सुकुम्वासीलाई खेमराजको आश्वासन : अध्यक्ष हुँदा सकिन, अब लालपूर्जा दिलाउँछु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment