Comments Add Comment

नक्कली हस्ताक्षर प्रकरण : लाखौं चोरीमा बैंक कर्मचारीकै संलग्नता !

११ मंसिर, काठमाडौं । महानगरीय प्रहरी प्ररीसर काठमाडौंले बुधबार पत्रकार सम्मेलन गरेर कीर्ते हस्ताक्षर गरेर रकम निकाल्ने ६ जनाको समूहलाई सार्वजनिक गर्‍यो । यो समूहले नक्कली हस्ताक्षर गरेर बैंकहरुबाट चेकबुक र एटीएम कार्ड लिने र उनीहरुको पैसा निकाल्ने गर्दै आएको थियो ।

बैंकमा राखेको रकम समेत चोरी भएको पाइएपछि नेपाल राष्ट्र बैंकले चासो देखाएको छ । र, प्रारम्भिक अनुसन्धानमा बैंक कर्मचारीकै संलग्नता हुनसक्ने आशंका गरेको छ । घटनालाई प्रहरीसँगै आफूले समेत नजिकबाट अनुसन्धान गरिरहेको भन्दै राष्ट्र बैंकले चाडै सत्यतथ्य बाहिर आउने बताएको छ । सम्बन्धित बैंकका शाखाहरुमा राष्ट्र बैंकको टोली पुगेर अनुसन्धान शुरु गरिसकेको राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले बताए ।

चोरीमा संलग्न रहेको आरोपमा प्रहरीले काभ्रेको पाँचखाल नगरपालिका–३ का १९ वर्षीय सुभाष श्रेष्ठ, १९ वर्षकै कुमार तामाङ, १८ वर्षीय मनिष घिमिरे, २१ वर्षीय अन्जन बराल, बागलुङगलकोट नगरपालिका–३ का २५ वर्षीय सुमन पाडेल र सिन्धुपाल्चोक ३० वर्षीय गोविन्द घिमिरेलाई पक्राउ गरेको छ ।

यसरी भएको थियो घटना

आइतबार राति करिब ९ बजेको थियो । राष्ट्र बैंकका कार्यकारी निर्देशक बमबहादुर मिश्रलाई महानगरी प्रहरी प्ररीसरका डीएसपी होबिन्द्र बोगटीले फोन गरे । बोगटीले उनलाई जनता बैंकका एक सेवाग्राहीको खाताबाट करिब २० लाख रुपैयाँ उनको जानकारी बिना नै झिकिएको जानकारी दिए ।

‘डीएसपी सा’बको फोन पछि म छक्क परेँ, प्राविधिक समस्याले वा कुनै मिस्टेकले मात्रै रकम झिकिएको हुनसक्ने शंका गर्ने ठाउँ थिएन किनकी पछिल्लो समय विभिन्न घटना घटिरहेका छन्’ भुक्तानी प्रणाली विभागका प्रमुख समेत रहेका मिश्रले भने, ‘मैले गभर्नर सा’बलाई जानकारी गराउन खोजेँ तर फोन उठेन ।’

त्यसपछि आफूले प्रवक्ता लक्ष्मी प्रपन्न निरौला र बैकर्स संघका अध्यक्ष ज्ञानेन्द्रप्रसाद ढुंगानालाई फोन गरेको उनले सुनाए । राति १० नबज्दै धेरै बैंकका सीईओहरुसम्म यो घटनाको सूचना पुग्यो । लगत्तै जनता बैंकको प्राविधिक टोली प्रधान कार्यालय पुग्यो ।

मिश्रका अनुसार बैंकले सुरमा खाता रोक्का गर्‍यो र कसरी रकम निकालियो भन्ने अध्ययन थाल्यो ।

खातावाला गोपालमान राजबाहक रहेछन् । उनको आफ्नै चेकबाट ३ पटक गरेर १९ लाख ९९ हजार रुपैयाँ झिकिएको देखियो । प्राविधिक टोलीले चेकबुकको सबै विवरण हेर्न थाल्यो । राजबाहकले २ बुक चेक लगेको देखियो । पहिलो चेकबुक हराएर नयाँ चेकबुक लगेकै दिन रकम निकालिएको भेटिएपछि टोलीलाई शंका लाग्यो । प्रहरीको सल्लाहअनुसार जनता बैंकले सबै शाखामा राजबाहकको चेक लिएर आए तत्कालै हेड अफिसमा खबर गर्न भन्यो ।

सोमबार बिहान १ लाख ७० हजार रुपैयाँको चेक लिएर सुवास श्रेष्ठ नाम गरेका व्यक्ति जनता बैंक पुगे । बैंकले केहीबेर समय लाग्ने भन्दै पर्खायो र हेड अफिस हुँदै महानगरीय प्रहरी परिसरसम्म खबर पुर्‍यायो । प्रहरी टोली आइनपुगेपछि बैंकका कर्मचारीले श्रेष्ठलाई ‘चिया अफर’ गर्‍यो । सुरुमा केहीबेर पर्खिन भनेको बैंकले चिया अफर गरेपछि उनी डराए । समय लाग्छ भने केहीबेरमा आउँछु भनेर बाहिर निस्कन खोज्दै गर्दा प्रहरी आयो र प्रक्राउ गर्‍यो ।

श्रेष्ठ पक्राउ परेसँगै घटनाको थप पहेली खुल्यो । कुमार तामाङ, मनिष घिमिरे, अन्जन बराल, सुमन पाडेल र गोविन्द घिमिरे पक्राउ परे । सोधपुछका क्रममा खुल्यो चेक हराएको भन्दै राजबाहकको चेक लिने यही समूह रहेछ । नयाँ चेक बुक लिएपछि २ जनाले ५/५ लाख रुपैयाँ र एक जनाले ९ लाख ९९ हजार रुपैयाँको चेक साटेर राजबाहकको खाताबाट पैसा झिकेका रहेछन् ।

राष्ट्र बैंकको आशंका– बैंककै कर्मचारी संलग्न छन्

यस प्रकरणमा बैंककै कर्मचारीको समेत संलग्नता हुनसक्ने राष्ट्र बैंकको आशंका छ । यद्यपि, अहिले अनुसन्धान भइरहेकाले यकिन गर्न नसक्ने अधिकारीहरु बताउँछन् । ‘यो घटना परम्परागत भए पनि डरलाग्दो छ, हामीले यस विषयमा विशेष ध्यान दिएर बुझ्दैछौं’ राष्ट्र बैंकका प्रवक्ता निरौलाले भने ।

यो प्रकरणमा सबभन्दा अचम्मको कुरा सबै कागजात कसरी उनीहरुसँग पुग्यो भन्ने भएको उनले बताए । चेकबुक, बैंक खाताको विवरणदेखि बैंकका स्टेटमेन्टसम्म सबै कागजात उनीहरुसँग पुग्नु निकै गम्भीर विषय भएको निरौलाले बताए । प्रहरीका अनुसार उनीहरुसँग पुगेका कागजातहरु सक्कल नै छ ।

‘अनाधिकृत व्यक्तिबाट अनाधिकृत रुपमा सक्कल कागजात उनीहरु कहाँ पुगेको छ, यो एकदमै गम्भीर हो’, उनले भने, ‘किर्ते हस्ताक्षर परम्परागत भए पनि कागज पुग्नु निकै अचम्मको कुरा छ । यसबारे हामीले अनुसन्धान गरिरहेका छौं ।’ सम्बन्धित बैंकको कर्मचारीको संलग्ना बिना सेवाग्राहीको सक्कल कागजातहरु पुग्नु निकै कठिन भएको भन्दै शंका गर्ने आधार रहेको उनले बताए ।

विभागीय प्रमुख मिश्र कर्मचारीको संलग्नताबारे शंका गर्ने अर्को आधार पनि भएको बताउछन् । ‘चेक बुक हरायो भनेर अर्को चेक बुक लिएको छ, केको आधारमा नयाँ चेक दिइयो ? चेकबुक दिँदात भेरीफाई गर्नुपर्ने थियो’ उनले प्रश्न गरे ।

२ बोरा कागजपत्र बराबद

प्रहरीले पक्राउ परेका व्यक्तिहरु १८ लाख ५० हजार रुपैयाँ नगद मात्र बरामद गरेको छैन, करिब ३ सय जनाको नागरिकताको प्रतिलिपि, हस्ताक्षर कपी गर्न अभ्यास गरिएको रजिष्टर, विभिन्न व्यक्तिहरुको खाताबारे जानकारी लेखिएको डायरी, बैंक स्टेमेन्ट लगायतका सामाग्रीहरु बरामद गरिएको छ ।

त्यतिमात्रै होइन, विभिन्न बैंकमा खाता भएका व्यक्तिहरुको सक्कलै चेक बुक बरामद भएको छ । प्रहरीका अनुसार यो समूहबाट बरामद भएको कागजपत्र मात्र करिज २ बोरा छ । यतिठूलो परिमाणमा सक्कल कागजात पक्राउ पर्नुले ठूलो गिरोह संलग्न रहेको र मूख्य नाइके अरु नै हुनसक्ने राष्ट्र बैंकको आशंका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment