Comments Add Comment

कास्कीमा छैन ‘अनपढ’ बिम्ब : प्राज्ञिक उम्मेदवारले मौन अवधि बिथोल्दैनन् !

११ मंसिर, पोखरा । एक समय नेता प्रदीप गिरीले शेरबहादुर देउवालाई अध्ययन नगर्ने नेताले सरकार चलाइरहेको भनेर व्यंग्य गरेछन् । देउवाले प्रदीपलाई जवाफ दिएछन्, ‘तिमीले अध्ययन गरेर नाप्यौ ? म तीनचोटि प्रधानमन्त्री भइसकें ।’

अध्ययनसम्बन्धी दुई नेताबीचको यो संवाद एकताका चर्चित थियो ।

‘अनपढहरु नेता भए । औंठा छाप सांसद बने… केही वर्षअघि यो विषय निकै सुनिन्थ्यो । पर्वतमा एउटा कार्यक्रम नै भयो, नेताको योग्यता तोक्नुपर्नेबारे । ०७२ सालमा संविधानको मस्यौदामाथि सुझाव दिँदै पर्वतका ओमप्रकाश बस्यालको माग नै थियो, ‘सरकारी कार्यालयमा जागिर खान कार्यालय सहायकको पनि शैक्षिक योग्यता चाहिने अनि सांसद, मन्त्री र प्रधानमन्त्री बन्न शैक्षिक योग्यता नचाहिने ?’

गएको साल पुस १७ गते संघीय संसदमा नेकपा सांसद गजेन्द्र महतले ‘मिडियामा अनपढ भनेर उडाइएको’ भनेर आवाज नै उठाए । ‘माननीय मन्त्रीलाई अनपढ गँवारको बिल्ला भिराइन्छ,’ महतले संसदबाट आपत्ति जनाएका थिए ।

नेता, सांसद, मन्त्री अध्ययन र शैक्षिक योग्यता नै नभएका भए भन्ने बिम्ब अब भने हराउँदै जान थालेको छ । नपढेका नेता र सांसद भए भन्ने बिम्ब कास्की क्षेत्र नम्बर २ को उपनिर्वाचनका उम्मेदवारलाई हेर्ने हो भने पनि फेल खान्छ ।

नपढ्दैमा कोही खत्तम नै हुने केही पनि होइन, उनीहरुसँग पनि अनुभव र काम गर्ने फरक क्षमता हुन सक्छ । तर, कास्कीको २ को उम्मेदवार हेर्दा यो भविष्यका लागि सुन्दर पक्ष भएको समाजशास्त्री चैतन्य मिश्र बताउँछन् ।

डिग्री नगर्दैमा, एलएलसी पास नहुँदैमा केही नबिग्रने भए पनि अध्ययनबाट प्राप्त सर्टिफिकेटका आधारमा विवेक र ज्ञानको दायरा बढाउँदै लैजानुपर्ने मिश्रको भनाइ छ ।

‘सर्टिफिकेट हुनु र अनुभवी/विवेकी हुनु फरक कुरा हुन् । नपढेका ब्यक्ति खत्तमै हुन् भन्ने होइन । तर, नपढेका नेता, सांसद भनेर आक्षेप लाग्ने गरेको सुनिन्थ्यो,’ समाजशास्त्री मिश्र भन्छन्, ‘सर्टिफिकेट नभएका व्यक्ति पनि समाज बुझेका, स्वअध्ययन गरेका र काम गर्ने क्षमता भएका पनि हुन्छन् । औपचारिक अध्ययनलाई आधार मानेर सोच, चिन्तन र विचारलाई फराकिलो बनाउँदै लैजानुपर्छ ।’

पढेपछि राजनीतिमा लाग्नु हुँदैन भन्ने सोचचाहिँ चिरिएको मिश्रको विश्लेषण छ ।

कास्कीमा अहिले ठूला भनिएका दल र घरदैलो गरिएका अरु पनि यहाँ पढेलेखेकै र अध्ययनशील उम्मेदवारबीच प्रतिस्पर्धा हुँदैछ । मुख्य प्रतिस्पर्धीका रुपमा हेरिएका दुबैजना लामो समय प्राज्ञिक क्षेत्रमा समय गुजारेका उम्मेदवार छन् ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) उम्मेदवार विद्या भट्टराई प्राध्यापन क्षेत्रबाट फेरि राजनीतिमा पुनरागन गरेकी हुन् भने नेपाली कांग्रेसका उम्मेदवार खेमराज पौडेल प्राध्यापन क्षेत्रबाट अवकाश प्राप्त व्यक्ति हुन् ।

रवीन्द्र अधिकारीको निधनपछि हुने उपनिर्वाचनमा टिकट पाएर त्रिभुवन विश्वविद्यालयमा समाजशास्त्र विषय प्राध्यापन गर्दागर्दै चुनावमा होमिएकी विद्या त्यही विषयमा एमफिल गर्दैछिन् । अध्ययनशील र रिसर्चको क्षेत्रमा काम गरिरहेकी व्यक्तिका रुपमा विद्यालाई हेरिएको छ ।

प्राध्यापन क्षेत्रबाट अवकाशप्राप्त कांग्रेस उम्मेदवार खेमराज वौद्धिक र अध्ययनशील नेता मानिन्छन् । उनले संस्कृत साहित्यमा स्नातकोत्तर गरेका छन् । उनी अध्ययन, छलफल र चिन्तन गर्ने नेताका रुपमा चिनिन्छन् ।

समाजवादी पार्टीका उम्मेदवार धर्मराज गुरुङ पनि कम छैनन् । इलोक्ट्रोनिक्स इन्जिनियर धर्मराजले बेलायती सेना र संयुक्त राष्ट्र संघमा काम गरेका छन् । आइटीको क्षेत्रमा लामो अनुभवसमेत प्राप्त गरेका धर्मराज १ सय ८० भन्दा बढी देशका प्राविधिकहरुसँग काम गरेको अनुभव सुनाउँछन् ।

त्यस्तै साझा पार्टी र विवेकशील नेपाली दलका उम्मेदवार पनि वौद्धिक र पढेलेखेका उम्मेदवार हुन् । साझा पार्टीकी उम्मेदवार रजनी केसीले पपुलेसन, जेन्डर एण्ड डेभलपमेन्ट विषयमा स्नातकोत्तर गरेकी छन् । पोखरा विश्वविद्यालयमा उपप्रशासकबाट राजनीतिमा छिरेकी रजनी तार्किक एवं अध्ययनशील छन् ।

त्यस्तै विवेकशीलकी उम्मेदवार जमुना शर्माले समाजशास्त्रमा स्नातकोत्तर गरेकी छन् । जमुनाले कानुनमा पनि उच्च शिक्षा लिएकी छन् । उनले सामाजिक मनोपरामर्शदाताका रुपमा काम गरेकी छन् । विभिन्न संघ, संस्थाको नेतृत्व गरेकी जमुना समाजको अध्ययनसँगै पुस्तकमा पनि रुचि राख्छिन् ।

राष्ट्रिय प्रजान्तत्र पार्टीका उम्मेदवार भण्डारी पनि शिक्षण पेशाबाट राजनीतिमा सक्रिय भएका हुन् । उनी आइए पास गरेर लामो समय शिक्षण पेशा थिए । विभिन्न संघ, संस्था र समाजलाई नजिकबाट हेरेका भण्डारी वौद्धिक नेतामै गनिन्छन् ।

कास्कीमा ११ दलका र १० जना स्वतन्त्र उम्मेदवार छन् । त्यसमा पनि अधिकांश औपचारिक उच्च शिक्षा प्राप्त व्यक्ति नै छन् । उम्मेदवारहरुको घरदैलो र चुनावी प्रचार हेर्दा पनि शालीन नै देखियो ।

बुधबार राति १२ बजेबाट प्रचार गर्न पाइँदैन । प्रतिशतका हिसाबले पनि शिक्षित व्यक्तिहरु बसोबास गर्ने जिल्ला भनेर चिनिएको कास्कीमा मौन अवधिमा शिक्षितकै परिचायकका रुपमा प्रस्तुत हुने जिल्ला निर्वाचन कार्यालयका प्रमुख महेन्द्र सुवेदीको विश्वास छ ।

‘निर्वाचन गराउन हामी तम्तयार छौं । दल तथा उम्मेदवारहरुले घरदैलो र प्रचार सकेका छन्,’ सुवेदीले भने, ‘शिक्षित जिल्लाका उम्मेदवार र पार्टीले व्यक्ति पनि शिक्षित नै रहेछन् भन्ने परिचय दिनुहुन्छ भन्ने विश्वास छ ।’ अरु चुनावमा मौन अवधिलाई ‘मनि’ अवधि पनि भन्ने गरिएको छ । कास्कीमा त्यस्तो अवस्था आउन नदिन सबै दल र उम्मेदवार सचेत रहेको उनको विश्वास छ ।

यो पनि पढ्नुहोस उपचुनावको प्रचार आज अन्तिम, नेकपा र कांग्रेस आमने–सामने यो पनि पढ्नुहोस प्रचण्डको चुनावी भाषण : अब तीन दिन छ, प्रतिक्रियावादीले लुकेर षडयन्त्र गर्छन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment