Comments Add Comment

आरुघाट मुआब्जा निर्धारणका लागि बसेको बैठक निष्कर्षविहीन

११ मंसिर, गोरखा । बुढीगण्डकी डुवान क्षेत्रमा पर्ने आरुघाट लगायत बजार क्षेत्रको मुआब्जा निर्धारणका लागि बुधबार बसेको सरोकारवालाको बैठक निष्कर्षविहीन टुङ्गिएको छ ।

आयोजनाको वातावरण मुआब्जा वितरण, पुर्नवास तथा पुर्नस्थापना इकाइ सिउरेनीटारमा बैठक बसेको थियो । बुधबार साँझ अबेरसम्म बसेको बैठकले मुआब्जा निर्धारण गर्ने तयारी गरेतापनि अन्तत: प्राविधिक कारण देखाउँदै बैठक विना निष्कर्ष टुङ्गिएको छ । बुधबारको छलफलमा मूल्यको बिषयले प्रवेश नै नपाएको इकाइ प्रमुख कृष्ण कार्कीले बताए ।

नापी र मालपोतका केही तथ्याङ्कहरु पुन: हेर्नुपर्ने भन्दै इकाइ प्रमुख कार्की पन्छिन खाजे । छिट्ट्रै अर्काे बैठक बसेर मुआब्जाको टुङ्गो लगाउने उनले आश्वासन दिए । आयोजनाले तयार गरेको प्रस्तावित मूल्य बाहिरीएपछि बिरोध हुने भन्दै मुआब्जा रकमको बिषय बैठकमा प्रवेश नगराइएको स्रोत बताउँछ । प्रभावितहरुले प्रति आनाको २५ लाख रुपैयाँसम्म माग गरेका छन् । तर आयोजनाले भने प्रभावितको माग अनुसार मुआब्जा रकम दिन नसक्ने बताउँदै आएको छ ।

बैठकमा गोरखा र धादिङका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख एवं प्रतिनिधि, सरोकार समितिका प्रतिनिधि, जनप्रतिनिधि, मालपोत र नापी कार्यालयका प्रमुख लगायतको सहभागिता रहेको थियो । धादिङ र गोरखाका सरोकारावालाको छुट्टाछुट्टै छलफल भएको थियो ।
धदिङका राजनीतिक दलका प्रतिनिधिको उपस्थिति देखिए पनि गोरखाबाट भने कुनै दलका प्रतिनिधिको उपस्थिति थिएन । बुधबार साँझसम्म बसेको बैठक निष्कर्ष बहीन बनेपछि मुआब्जा निर्धारणमा थप ढिलाइ हुन सक्ने सम्भावन बढेको छ ।

गोरखा र धादिङको सिमानामा बन्न लागेको १२ सय मेगावाट क्षमताको बुढीगण्डकी जलविद्युत आयोजनाको डुवान क्षेत्रमा पर्ने गोरखाको आरुघाट र आर्खेत र धादिङको आरुघाट, बिशालनगर, खहरे क्षेत्रको मुआब्जा निर्धारण हुन बाँकी छ । मुआब्जा निर्धारणमा ढिलाइ नगर्न भन्दै उर्जा मन्त्रालयले आयोजनालाई पत्राचार समेत गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment