Comments Add Comment

उपनिर्वाचन कम्युनिस्टको असफलता र कांग्रेसको निरिहताविरुद्ध जनमतसंग्रह : राप्रपा नेता बोहरा

११ मंसिर, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता दीपक बोहराले उपनिर्वाचन कम्युनिस्टको असफलता र कांग्रेसको निरिहताविरुद्ध मिनी जनमत संग्रह भएको दावी गरेका छन् ।

बुधबार कास्की क्षेत्र नं-२ को उपनिर्वाचनको चुनावी सभालाई पोखरामा सम्बोधन गर्दै नेता बोहराले आसन्न निर्वाचन धर्म परिवर्तनविरुद्ध र हिन्दु राष्ट्रको पक्षमा सशक्त र नयाँ जनमतको रुपमा अभिव्यक्त हुने पनि बताएका छन् ।

अहिले सीमाको सुरक्षा राष्ट्रको प्रमुख चुनौतीको रुपमा रहेको बताउँदै नेता बोहराले देशको सीमा रक्षा गर्न नसक्ने सरकारका कारण देशभक्त नेपाली लज्जित हुनुपरेको पनि जिकिर गरे । सरकारले सीमा मिचिएको विषयलाई कुटनीतिक ढंगबाट समाधान खोज्नुपर्नेमा हेलचेक्रयाईँ गरेको उनको भनाइ छ ।

राप्रपा महामन्त्री एवं सांसद राजेन्द्र लिङ्देनले कांग्रेस र कम्युनिस्ट दुवै नेपालको बर्बादीको सहयात्री भएको आरोप लगाए । देशको प्रमुख समस्या भ्रष्टाचार, बेथिति, बेरोजगारी समस्या, सीमा रक्षा, धर्म परिवर्तन रहेको भन्दै महामन्त्री लिङ्देनले उपनिर्वाचनमार्फत असफलतालाई निरन्तरता नदिन र भ्रष्टाचारलाई अनुमोदन नगर्न अपील गरे ।

महामन्त्री लिङ्देनले संघीयता देशले धान्न नसक्ने अवस्थामा पुगिसकेको पनि बताए । अहिले राष्ट्रियता संकटमा परेको उल्लेख गर्दै लिङ्देनले देश भन्ने चिज भुगोल र माटोले मात्र नबन्ने भन्ने कुरा सिक्किमको उदाहरणबाट सिक्न र राष्ट्रियताको पक्षमा एकजुट हुन पनि आह्वान गरे ।

कास्की-२ मा राप्रपाका उमेदवार रोमबहादुर भण्डारीले विगतमा पनि आफू जनप्रतिनिधि रहेको र निस्कलंकित भएको भन्दै पोखराको सेवा गर्ने अवसर दिन मतदातालाई  आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment