Comments Add Comment

दाङको मतदान केन्द्रमा खटिए कर्मचारी

१२ मंसिर, दाङ । १४ मंसिरमा हुने उपनिर्वाचनका लागि आवश्यक निर्वाचन सामग्रीसहित कर्मचारीहरु मतदान केन्द्रमा खटिएका छन् । जिल्ला निर्वाचन कार्यालयले कर्मचारीहरुलाई मतपेटिका, मतपत्र, मतदाता परिचयपत्रसहितका निर्वाचन सामग्री दिएर मतदान केन्द्रमा पठाएको हो ।

जिल्ला निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुँवरले भने, ‘हामीले निर्वाचनका लागि आवश्यक पर्ने सामग्री दिएर कर्मचारीहरुलाई मतदान स्थलमा पठाएका छौं । कतिपय स्थलमा कर्मचारी र सुरक्षाकर्मीहरु पुगिसक्नुभएको छ, भने टाढाका स्थलमा आज पुग्नुहुन्छ ।’

निर्वाचनका लागि दाङमा चार सय १० जना कर्मचारी र तीन सय २६ जना स्वयंसेवक गरी ७ सय ३६ जना कर्मचारीहरु खटाइएको छ ।

निर्वाचन सुरक्षाका लागि दुई हजार बढी सुरक्षाकर्मीहरु परिचालन गरिएको छ । सुरक्षा संवेदनशीलताका आधारमा प्रहरी खटाइएको प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले बताए । ‘नियमित जाँचसँगै अस्थायी क्याम्प स्थापना गरिसकिएको छ’, जिल्ला सुरक्षा समितिका संयोजकसमेत रहेका रिजालले भने, ‘निर्वाचनलाई स्वच्छ, भयरहित बनाउनका लागि सुरक्षामा कुनै कमी हुने छैन ।’

उनका अनुसार दाङ जिल्लाका ६ वटा मतदानस्थल अति संवेदनशील, २६ वटा मतदानस्थल संवेदनशील र २ वटा मतदान स्थल सामान्य रहेका छन् । सुरक्षा संवेदनशीलताका आधारमा नेपाल प्रहरी, सशस्त्र प्रहरीसँगै नेपाली सेनालाई समेत परिचालन गरिएको छ ।

मतदानस्थल पुगेका कर्मचारीहरुले मतदान स्थललाई शील गर्ने, मदिरा निषेधित क्षेत्र तथा होहल्ला निषेधित क्षेत्र घोषणा गर्ने लगायतका काम गर्नेछन् ।

दाङमा उपनिर्वाचनका ३४ मतदान स्थल र ८२ वटा मतदान केन्द्र रहेका छन् । प्रत्येक मतदान केन्द्रमा ५ जना कर्मचारी र स्वयंसेवक रहने निर्वाचन कार्यालयले जनाएको छ ।

दाङ जिल्लामा २ स्थानमा उपनिर्वाचन हुँदै छ । प्रदेश सभातर्फ निर्वाचन क्षेत्र नं. ३ (ख) र स्थानीय तहतर्फ घोराही उपमहानगरपालिका वडा नं. १६ मा अध्यक्ष पदका लागि उपनिर्वाचन हुने छ । प्रदेशसभाका लागि नेकपाको तर्फबाट विमला केसी र कांग्रेसको तर्फबाट केशव आचार्यसहित १४ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।

दाङको उपनिर्वाचनमा ७३ हजार १ सय ७२ जना मतदाता छन् । जसमा महिला ३७ हजार ३ सय ५ जना र पुरुष ३५ हजार ८ सय ६६ तथा १ जना तेस्रो लिङ्गी रहेको निर्वाचन कार्यालयका सूचना अधिकारी कुँवरले जानकारी दिए ।

उपनिर्वाचन हुने क्षेत्रका विद्यालयहरुमा बिहीबारबाट तीन दिनसम्म विदा दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment