Comments Add Comment

प्रहरी चौकीमा चालक मृत्यु प्रकरण : ५ दिनपछि शव परीक्षण

१२ मंसिर, डोटी । प्रहरी नियन्त्रणमा रहेका बेला मृत्यु भएका जीप चालकको बिहीबार शव परीक्षण भएको छ ।

मंसिर ८ गते डोटी जोरायल गाउँपालिका-१ गैरामा रहेको घण्टेश्वर प्रहरी चौकीमा प्रहरी नियन्त्रणमा रहेका बेला डोटी जोरायल गाउँपालिका-४ का २१ वर्षीय गणेश पालीको मृत्यु भएको थियो । प्रहरीले चालक पालीले बिष सेवन गरी आत्महत्या गरेको दावी गर्दै आएको छ ।

नियन्त्रणमा रहेका बेला प्रहरी जवानहरु दीपक सामन्त र शंकर खड्काले कुटेर मारेको स्थानीयको आरोप छ । घटनाको बिरोधमा बुधबार साँझ करिब दुई घण्टा स्थानीयले भीमदत्त राजमार्ग अवरुद्धसमेत गरेका थिए ।

घटनाको स्टष्ट छानबिन हुनु पर्ने, दोषीमाथि कारबाही हुनु पर्ने र मृतकका परिवारलाई क्षतिपूर्ति दिनु पर्ने माग राख्दै आफन्तहरुले शव परीक्षण गर्न स्वीकृति दिएका थिएनन् ।

मंगलबार मृतकका बुवा तिलक सिंह पालीले प्रहरी जवानद्वय सामन्त र खड्काबिरुद्ध कर्तव्य ज्यान शीर्षकमा किटानी जाहेरी दिएका थिए ।
बुधबार जिल्ला प्रहरी कार्यालय डोटीले आरोपी प्रहरी जवानद्वयलाई निलम्बन गरी अनुसन्धानको प्रक्रिया अगाडि बढाएको सार्वजनिक गरेपछि मृतकका आफन्तहरु शव परीक्षणका लागि राजी भएका हुन् ।

बिहिबार डडेल्धुरा अस्पतालमा मृतकको शव परीक्षण गरी आफन्तहरुलाई जिम्मा लगाइएको प्रहरी निरीक्षक कर्णबहादुर बोहराले जानकारी दिए ।

यस्तो थियो घटना

मंसिर ८ गते दिउसो करिब ३ वजे गैराबाट डडेल्धुरा जिल्ला, आलिताल गाउँपालिकाको गाङ्खेत जाने सडकको स्तरोन्नती गर्नु पर्ने भन्दै सो क्षेत्रमा चल्ने जीपका चालकहरुले बाटो अवरुद्ध पारे ।

बाटो अवरुद्ध भएको गुनासो प्रहरी चौकी घण्टेश्वरमा पुग्यो । प्रहरीले बाटो खुलाउन खोजे तर चालकहरुले मानेनन् । चालक पालीले सडकमा गाडी तेस्र्यायर अवरुद्ध पारे । त्यसपछि प्रहरीले चालक पालीमाथि हातपात गर्दै प्रहरी चौकी लैजान खोज्यो । चालकले आफूमाथि हातपात नगर्न भन्दै आफूलाई जहाँ लैजान चाहेको हो, आफै जान तयार बताए । उनी प्रहरीको अघिअघि लाग्दै चौकी पुगे ।

चौकी पुगेको केही समयपछि उनी बेहोस भएर ढलेको खबर आयो । प्रहरीले तत्काल अर्को जीप मगाउँदै उनलाई स्थानीय स्वास्थ्य चौकीमा उपचारका लागि लग्यो । त्यहाँ उपचार सम्भब नभएपछि उनलाई डडेल्धुरा अस्पताल लगियो, जहाँ चिकित्सकहरुले उनलाई मृत घोषणा गरे ।

प्रहरीले सुरुमा आफ्नै पाइण्ट खोलेर चौकीको शौचालयमा झुण्डिन खोजेको बतायो । केही बेरमै प्रहरीले बयान फेर्‍यो, चालकले झुण्डिन खोजेको नभइ बिष सेवन गरेको हो भन्ने आयो ।

चौकीमा पुगेपछि चालक शौचालय गएको र शौचालयबाट फर्किने क्रममा ढलेर बेहोस भएको प्रहरीको दाबी छ । चालक पालीको खल्टीबाट बिषको पत्ता भेटिएको र त्यसमध्ये चार ट्यावलेट चालकले खाएको पाइएको प्रहरीले प्रारम्भिक जानकारी दियो ।

आफूलाई आएको जानकारी अनुसार चालकले बिष सेवन गरेको डोटीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दिलिपसिंह देउवाले बताएका थिए ।

घटनाको अनुसन्धान गरिरहेका प्रहरी निरीक्षक बोहराले मृतक पालीको खल्टीबाट क्लोरोफेनिरामाइन नामको औषधिको १० ट्यावलेट भएको पत्ता भेटिएको र सोमध्ये चार ट्यावलेट खाएको भेटिएको जानकारी दिए ।

तर, स्थानीयहरु मान्न तयार भएनन् । प्रहरीले कुटेको र सोही कुटाइका कारण चालक पालीमो मृत्यु भएको भन्दै स्थानीयहरु आक्रोशित भए ।

मृतकका आफन्तहरु प्रहरीले घटनालाई ढाकछोप गर्न अनेक बहाना बनाइरहेको आरोप लगाएका छन् । चालकको टाउको र शरीरमा निलडाम देखिएकोले उनलाई कुटेरै मारेको आफन्तहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment