Comments Add Comment

बहुदरमाई नगरपालिका-२ को वडा कार्यालयमा तालाबन्दी

१२ मंसिर, वीरगञ्ज । पर्साको बहुदरमाई नगरपालिका-२ को वडा कार्यालयमा ध्यानसिंह पिपराका स्थानीय बासिन्दाले तालाबन्दी गरेका छन् ।

वडा अध्यक्षले अभद्र व्यवहार प्रदर्शन गरेको भन्दै सर्वसाधरणले वडा सचिवको कार्यकक्षमा बिहीबार केहीबेर तालाबन्दी गरेका हुन् । सडकको बीचमा रहेको नहर (टरसरि) सफा गराइदिन आग्रह गर्न जाँदा वडा अध्यक्ष जितेन्द्र पटेलले अभद्र व्यवहार गरेको उनीहरुको भनाइ छ ।

वडाध्यक्ष पटेलले ‘म त्यो काम गर्दिन तिमिहरुलाई जहाँ जानु छ जाउ भन्ने अभिव्यक्ति दिएको आरोप स्थानीयले लगाएका छन् ।

पिपराको मूल सडकमा नालाको पानीको निकास नभएको र पटक–पटक झगडा हुने गरेको राजपाका महासचिव शिव पटेलले जानकारी दिए । ‘नहर सफा नहुँदा नालाको पानीको निकास भइरहेको छैन । त्यसले गर्दा गाउँमा दिनहुँ झगडा भइरहेको छ,’ उनले भने, ‘वडा नं १ र २ का अध्यक्षले असार पहिलो साता नै नहर सफा गर्ने सहमति गरेका थिए । तर पटक पटक भन्दा वास्ता गरेनन् । उल्टै अभद्र व्यवहार प्रदर्शन गरे ।’

स्थानीयले नगरपालिकाको कार्यालय डकैलाबहुअरीमा समस्या समाधान गर्न सात दिने अल्टिमेटम सहितको निवेदन पेश गरेका छन् । सात दिनभित्र समस्या समाधान नभए नगरपालिका विरुद्ध आन्दोलन गर्ने चेतावनी उनीहरुले दिएका छन् ।

तर वडा अध्यक्ष पटेलले भने तालाबन्दी प्रहरीले खुलाईसकेको बताएका छन् । उनले समस्या समाधानका लागि आईतबारबाट काम शुरु गर्ने जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment