Comments Add Comment

नेपाल एयरलाइन्सका अध्यक्षलाई पर्यटनमन्त्रीको प्रश्नैप्रश्न

१२ मंसिर, काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले नेपाल एयरलाइन्सका पदाधिकारीहरुसँग कार्यप्रगतिबारे सोधपुछ गरेका छन् ।

चौमासिक समीक्षाका क्रममा मन्त्रालयले बुधबारदेखि मातहतका हरेक विभाग, प्राधिकरण, विकास समितिबाट विस्तृत प्रस्तुति लिन थालेको थियो । यसक्रममा अहिलेसम्म भएका कामको समीक्षा गर्दै कुनै समस्या भए समाधानको उपाय खोजी हुने मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले जानकारी दिए ।

मन्त्रालयमा भएको छलफलमा नेपाल एयरलाइन्सका अध्यक्ष मदन खरेलले २०२८ सम्म दुई वटा वाइडबडी र चार न्यारोबडी विमान थप्ने योजना प्रस्तुत गरेका थिए । उनले जापानको नारितामा उडान भर्ने  योजना पनि सुनाएका थिए ।

तर एयसलाइन्स पदाधिकारीको प्रस्तुतिप्रति मन्त्री भट्टराई सन्तुष्ट देखिएनन् । उनले अध्यक्ष खरेललाई एकपछि अर्को प्रश्न गरेको छलफलमा सहभागी भए अधिकारीले बताए ।

जापानको नारिताबाट उडान गर्न काम सुरु भइसकेको अवस्थामा खरेलले यो हाम्रो प्राथमिकतामा छैन भनेर त्यहाँका अधिकारीहरुलाई पत्र लेखेको प्रमाण आफूसँग रहेको भन्दै मन्त्री भट्टराईले प्रश्न गरेका थिए, ‘ओसाकामा सातामा तीन वटा उडान थाल्नुभयो । अहिले दुई वटामा झरेको छ । अहिले नारिता उडान गर्ने तयारी भइरहेको छ भने र हाँस्यापद कुरा गर्नुको के अर्थ ?’

उनले २०२८ सम्म दुई वाइडबडी र चार न्यारोबडी विमान थप्ने आधार के भनेर प्रश्न गरे । यसबारे तालुकदार मन्त्रालय, अर्थ मन्त्रालय वा प्रधानमन्त्रीसँग कुरा भएको छ ? कसले पैसा दिन्छ ? भन्ने उनको प्रश्न थियो ।

मन्त्री भट्टराईले दुई वाइडबडी, चार वटा न्यारोबडी र अन्तरिक उडान गर्ने नौ वटा विमान भएको बेला सरकारले नेपाल एयरलाइन्सको अध्यक्ष बनाएर पठाएको भन्दै खरेललाई दीर्घकालीन व्यवसायिक योजना खोइ भन्ने प्रश्न गरेको एक अधिकारीले बताए ।

वाइडबडी लामो रुटमा चलाउन नसकेको, ७ करोड रुपैयाँ खर्चिएर मर्मत गरेको वोइङ त्यत्तिकै थन्किएको, चिनियाँ विमानबाट बार्षिक ८० करोडसम्म घाटा हुने गरेको भन्दै उनले सोधे, ‘ग्राउण्ड ह्याण्डलिङमा सुधार गर्न पटकपटक निर्देशन दिँदा पनि किन काम भएको छैन ?’

भ्रमण वर्ष सुरु हुन अगाडि नै विमानस्थलका थ्रोत्रा बसहरु हटाउन दिएको निर्देशन कार्यान्वयन नभएको, मन्त्रालयसँग समन्वय नगरेको, नागरिक लगानी कोष र कर्मचारी सञ्चय कोषको किस्ता नर्तिदा ऋणको भारी थपिँदै गएको भन्दै मन्त्री भट्टराईले तीव्र असन्तुष्टि पोखेका छन् ।

प्रधानमन्त्री स्वयंले यथास्थितिमा नेपाल एयसलाइन्सलाई थप ऋण दिन नसक्ने भनिसकेको स्मरण गर्दै मन्त्री भट्टराईले प्रश्न गरे, ‘सरकारले नीति तथा कार्यक्रम र बजेटमा नै नेपाल एयरलाइन्सलाई कम्पनी मोडलमा लैजाने र रणनीतिक साझेदार खोज्ने भनेको छ । त्यसको कार्ययोजना खोइ पेश गरेको ?’

पर्यटनमन्त्री भट्टराईले बिहीबारको प्रस्तुति चित्तबुझ्दो नभएको भन्दै एक साताभित्र ठोस कार्ययोजना पेश गर्न र काम गरेर देखाउन खरेललाई निर्देशन दिएका छन् ।

पर्यटन सचिव केदारबहादुर अधिकारीले भने मातहतका निकायको कार्यप्रगति लिने क्रममा नेपाल एयरलाइन्सका अधिकारीहरुसँग छलफल भएको बताए । ‘चालू आवको पहिलो चार महिनामा भएको काम, आगामी योजना, समस्या र त्यसको समाधानमा भइरहेका प्रयासका सम्बन्धमा छलफल भयो’, उनले अनलाइनखबरसँग भने, ‘यो चौमासिक समीक्षाकै एक पाटो हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment