Comments Add Comment

पोखरा रंगशालामा ठेकदारले बनाएको गोलपोस्ट अस्वीकृत

१३ मंसिर, पोखरा । पोखरा रंगशालाभित्रको फुटबल रंगशाला निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनीले मैदानमा राखेकोे गोलपोस्ट अस्वीकृत भएको छ । ठेकदार कम्पनीले राखेको गोल पोस्ट मापदण्डभन्दा सानो भएपछि अखिल नेपाल फुटबल संघले अस्वीकृत गरिदिएको हो ।

ठेकदार कम्पनीले केही दिनअघि राखेको गोलपोस्ट अन्तर्राष्ट्रिय मापदन्डविपरीत भएको पाइएपछि पोस्ट राख्न रोक लगाइएको थियो । हाल नेपाल अखिल फुटबल संघले फिफा मापदण्डसहितको नयाँ गोल पोस्ट पोल राख्न निर्देशन दिएको छ । ‘पहिले ल्याएको गोल पोस्ट पोल केही सानो परेछ । अहिले परिवर्तन गर्‍यौं,’ एक कर्मचारीले भने, ‘अब त्यो पोल फुटबल स्टेडियमभन्दा बाहिर बन्ने अभ्यासस्थलमा राख्ने तय भएको छ ।’

ट्र्याक नाप्न सुरु

महिला फुटबल प्रतियोगिता हुने मैदानको बाहिरी भागको सिन्थेटिक एथ्लेटिक ट्र्याकको कामसमेत शुक्रबारसम्म सकिएको छैन । पोखरा फुटबल स्टेडियम पुनर्निर्माणको जिम्मा भारतको ग्रेट स्पोर्टस इन्फ्रा (जिएसआई) र नेपाली कम्पनी एमए कन्स्ट्रक्सन जेभी जिम्मा लिएका छन् ।

बिहीबार सुरु भएको ट्र्याक मार्किङको काम अझै सकिएको छैन । ट्र्याक मार्क गर्न इंल्यान्डबाट २ जना प्राविधिक नेपाल आएका छन् । ‘यो प्रविधिबाट दक्षिण एसियामै पहिलो पटक मापन गर्न लागिएको हो । यो अन्तर्राष्ट्रिय मापदण्डको हुनेछ,’ प्रोजेक्ट म्यानेजर दीपक बरालले भने, ‘मार्किङ सुरु भइसक्यो । भोलि (शनिबार) सम्म ट्र्याकको सबै काम सकिन्छ कि !’

साग महिला फुटबल मंसिर १७ गतेदेखि हुने तय छ । साग अन्तर्गतको महिला फुटबलको रंगशालामा ८ वटा खेल हुनेछन् । पहिलो खेलमा नेपालले श्रीलंकासँग भिड्ने छ । महिला फुटबलमा ४ देशमात्रै सहभागी भएपछि खेलहरु राउन्ड रोबिन लिगका आधारमा सञ्चालन हुने भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment