Comments Add Comment

विवाह पञ्चमी समारोहमा राष्ट्रपति भण्डारी सहभागी

१३ मंसिर, जनकपुरधाम । विवाह पञ्चमीको अवसरमा भारतको अयोध्याबाट आएका ‘जन्ती’को जनकपुरधाममा भव्य स्वागत गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा जनकपुरधामको बाह्रबिघा मैदानमा आयोजित भव्य समारोहकाबीच शुक्रबार भारतीय जन्तीको स्वागतका साथै तिलकोत्सव गरिएको छ ।

कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले भारतबाट आएका जन्तीलाई अबिर फूलमाला र दोसल्ला ओढाएर सम्मान गरिन् । उनले राम, लक्ष्मणसहितको प्रतीकको रुपमा भारतबाट आएका युवाहरुलाई तिलक लगाइदिइन् । राष्ट्रपतिसहित जनकपुरधामका तर्फबाट अतिथिले समेत तिलकरुपी टीका लगाइदिएका थिए ।

कार्यक्रममा राम र जानकीको विवाह भएको प्रसंगलाई नाटकीय रुपमा कलाकारहरुले अभिनय गरेर देखाए । जानकी लीला नामक उक्त नाटकमा राम र सीताको विवाह भएर विदाइ भएसम्मको अवस्थालाई चित्रण गरिएको थियो ।

तिलकोत्सव सकिएलगत्तै भारतको अयोध्याबाट जन्तीहरुले ल्याएको भार (कोसेली) जानकी मन्दिरमा लगिएको थियो ।

समारोहमा राष्ट्रपति भण्डारी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन्मन्त्री योगेश भट्टराई, भूमिसुधार तथा व्यवस्था मन्त्री पदमा अर्याल, प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत, जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साह, नेपालका लागि भारतीय राजदूत मन्जिवसिंह पुरीलगायत सहभागी गिए ।

कार्यक्रममा राष्ट्रपति भण्डारीले संबोधन गरिनन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले विवाह पञ्चमी महोत्सवको सम्झना गर्दै नेपाल–भारतको मित्रता अझै प्रगाढ बनाएको बताए । मन्त्री भट्टराईले सरकारले छिट्टै जनकपुरधामदेखि पोखरा, मुक्तिनाथ हवाई मार्ग सुरु गर्ने जानकारी गराए ।

भूमिसुधार तथा व्यवस्था मन्त्री पदमा अर्यालले मिथिलामा धर्म संस्कृतिको अभियान जस्तै विकास र समृद्धिको अभियान पनि आवश्यक रहेको भन्दै प्रदेश सरकारको ध्यानाकर्षण गराइन् ।

भारतीय राजदूत मञ्जीवसिंह पुरीले मिथिला र अयोध्याको सम्बन्धबारे चर्चा गर्दै यो सम्बन्धलाई धेरै अगाडिसम्म लैजानुपर्नेमा जोड दिए । मिथिला र अयोध्याको अस्मितालाई कायम गर्न दुवै देश सकारात्मक रहेको उनले बताए ।

यसअघि बिहान जनकपुरधाम आएकी राष्ट्रपति भण्डारीसहित मन्त्रीहरुले जानकी मन्दिरमा पूजापाठ गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment