Comments Add Comment

बोराभित्रको बास !

१४ मंसिर, काठमाडौं । करिब रातको १० बजेको समय । काठमाडौंको सडक चकमन्न बन्दै गएपनि शुक्रबारको रात अघिपछिभन्दा सवारीको चाप बढी थियो । साना सवारी र मोटरसाइकल कालीमाटी हुँदै कलङ्की, बल्खु र त्रिपुरेश्वर हुइकिँदै थिए ।

जाडो शुरु भइसकेको छ । बिहान-बेलुका न्याना कपडा नलगाई हिँड्न गाह्रै हुन्छ । रातको १० बजे चिसो सिरेटो नचल्ने कुरै भएन । कालीमाटीबाट बल्खु जाने सडको दायाँबायाँका सटरहरू बन्द थिए । सटरमुनिको सडकपेटीमा सामान हालेर राखिएझैं बोराको लस्कर प्रहरीको ज्याकेट टल्किए जसरी टाढैसम्म टल्कियो । बोरासँग दर्जनौं कुकुर गुडुल्किएर सुतिरहेका थिए । नजीक पुग्दा बोराका बीचबीचमा केही मान्छे मजेत्रो ओढेर सुतिरहेका देखियो ।

बत्तीको उज्यालो र मानिसको चहलपहल बढेपछि बोराबाट मुन्टो निस्कियो । तब थाहा भयो, बोरामा त मान्छे रहेछन् । फेरि त्यही बोराबाट अर्को पनि मुन्टो निस्कियो । तातो हुने भएर होला एउटै बोरामा दुईजना पसेका रहेछन् । चिसो सडकपेटीमा उनीहरूको आश्रयस्थल, ओढ्ने ओच्छ्याउने सबै त्यही बोरा रहेछ ।

देखिएका सबै बोरामा यसैरी मानिसभित्र पसेर सुतिरहेको रहस्य केही क्षणमै खुल्यो । कोही कार्टुन त कोही पातलो मजेत्रोको सहारा लिएर जाडो छल्दै निन्द्रा पर्खंदै थिए । कोही एक्लै बरबराउँदै थिए । सडकपेटीको चिसो भुल्न धेरै मदिरामा लठ्ठ थिए ।

उनीहरूकै भनाइमा दिनभर कुनै न कुनै काम गर्ने रात परेपछि मदिरा खाएर सडकमा सुत्ने वषर्ांैदेखिको दैनिकी हो । गन्ती गर्दा यसरी लस्करै सुतेका ४३ जना भेटिए । उदयपुरका किरण र हिमाल मगर एउटै बोराभित्र थिए ।

नजिकै सिसा पसलमा काम गर्ने हिमालले यसरी सुत्नुको कारण खोल्दै भने, ‘कसैले बस्ने कोठा दिँदैन, कोठा पाउन बूढी चाहिन्छ रे, सिसावालाले पनि बस्न दिँदैन, यहाँ नआए कहाँ जाने त ? यति भनेपछि उनले बोराभित्र मुन्टो छिराए ।

उनकाअनुसार यसरी सडकपेटीमा सुतेको वर्षौं भयो । हिमालसँगै एउटै बोरामा सुत्ने किरण कालीमाटी तरकारी मण्डीमा मजदुरी गर्छन् । झण्डै १८ महिनादेखि किरणको दैनिकी पनि यसरी बितिरहेको छ । काठमाडौं महानगरपालिका र मानवसेवा आश्रमले सडकमा यसरी बस्न नपाइने जानकारी पाएपछि किरणले सोधे, ‘के हामीलाई अब लान्छ ? हामी काम गरेर खाने मान्छेलाई यसरी उठाएर लान कहाँ पाइन्छ, यो कसैको सडक होइन, हामी सुत्न पाउँछौँ ।’

आफ्नो कुरा सकेर किरणले पनि मुन्टो बोराभित्र छिराए । जब यहाँका सटर लाग्छन् तब मजदुर, मगन्तेको चहलपहल बढ्ने गरेको सुरक्षाकर्मीहरुले सुनाए ।

सोह्रखुट्टेमा पनि यस्तै दृश्य थियो । इलाम पशुपतिनगरका राजु तामाङ चोकको सडकपेटीमा लुट्पुटिएर सुतेका थिए । हालसालै विदेशीले दिएको सुकिलो त्रिपालको ओत लागेर प्रतीक्षालयको कुनामा सुतेका उनको निन्द्रा हामी पुग्नासाथ भयो ।

उनको काम कवाडी र कार्टुन टिप्ने तथा बेच्ने हो । उनीसँगै श्रीमती पनि भएको उनले सुनाए । आसपासका क्षेत्रमा मात्र १५/२० जना यसरी नै सुत्ने गरेको उनले सुनाए । मानवसेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले भोलिदेखि यसरी सडकमा सुत्न हुँदैन भनेपछि उनले सहमति जनाउँदै मुन्टो हल्लाए ।

यस्तै दृश्य शोभा भगवतीको मन्दिरमा देखिन्थ्यो । मदिरामा मस्त भएका व्यक्ति मन्दिर परिसरमा पनि लस्करै थिए । मदिरा खाएकाहरू सिँढीमा त्यसै लडिरहेका थिए ।

नयाँ बसपार्क गोङ्गबु क्षेत्रमा माग्दै हिँड्ने भारतीय नागरिक बसपार्क छेउमा सानासाना टेन्ट लगाएर बसेका छन् । शुरुशुरुमा नेपाली नै भएको बताउने उनीहरूले पछि भारतीय भएको स्वीकारे । भारत रुपौडियाका मणिराम पत्थरकटले भने, ‘हामी केहीले बाटा बेच्ने गरे पनि महिला र बच्चा सडकमा माग्छन् । उनीहरूलाई लैजानुस्, हामीलाई केही नगर्नुस्, हामी बाटा बेचेर कमाउँछौं ।’

बसपार्कमा झण्डै ५० जनाले यसैरी माग्ने पेशा अङ्गालेका छन् । महिला र बच्चाले माग्दा यात्रु तथा पर्यटकले दिक्क मान्ने गरेका छन् । यसअघि उनीहरू नजिकै रहेको शिवमन्दिर क्षेत्रमा थिए । त्यहाँबाट हटाएपछि बसपार्क आएका हुन् ।

नेपालको संविधान २०७२ को मौलिक हकअन्तर्गत धारा ३६ मा प्रत्येक नागरिकलाई खाद्य वस्तुको अभावमा जीवन जोखिममा पर्ने अवस्थाबाट सुरक्षित हुने हक छ । धारा ३७ मा प्रत्येक नागरिकलाई उपयुक्त आवासको हक हुने र धारा ४३ मा आˆनो हेरचाह आफैं गर्न नसक्ने नागरिकलाई कानूनबमोजिम सामाजिक सुरक्षाको हक हुने व्यवस्था छ । चालू आर्थिक वर्षको बजेट वक्तव्यमा समेत ‘कोही भोकै पर्दैन, कोही भोकै मर्दैन’ भन्ने नारा दिइएको छ ।

मुलुकी अपराधसंहिता, २०७४ को परिच्छेद-५ को दफा १२६ मा सडक, गल्ली, पार्क, सवारी बिसौनीस्थल, सरकारी कार्यालय वा कार्यालयको परिसर र सार्वजनिक सवारी साधनमा भिक्षा माग्न वा माग्न लगाउन नहुने र भिक्षा माग्नेलाई अधिकतम दुई महिना कैद र दुई हजारसम्म जरिवाना तथा माग्न लगाउनेलाई तीन वर्ष कैद र रु ३० हजारसम्म जरिवाना हुने कानूनी व्यवस्था छ ।

कानून कार्यान्वयन हुन नसकिरहेका बेला मानवसेवा आश्रमसँग मिलेर महानगरपालिकाले यहाँका मगन्तेलाई व्यवस्थापन गर्दै बेसहारालाई आश्रय दिएर पालनपोषण गरी परिवार पत्ता लगाएर पुनः मिलन गराउने अभियान थालेको छ । मंसिर २९ गते औपचारिक घोषणा गरेर भोक मेट्नकै लागि सडकमा आउनु नपर्ने अवस्था सिर्जना गर्न लागिएको मेयर विद्यासुन्दर शाक्यले बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment