+

पोखराको फुटबल मैदानप्रति श्रीलंकाको असन्तुष्टी

२०७६ मंसिर  १७ गते २०:१२ २०७६ मंसिर १७ गते २०:१२
पोखराको फुटबल मैदानप्रति श्रीलंकाको असन्तुष्टी

१७ मंसिर, पोखरा । १३ औं सागअन्तर्गत महिला फुटबल प्रतियोगितामा भाग लिन आएको श्रीलंका टोलीले पोखरा रंगशालास्थित फुटबल रंगशालामा असन्तुष्टी जनाएको छ ।

मंगलबार महिला फुटबल प्रतियोगिताको उद्घाटन खेलमा श्रीलंकाले नेपालसँग १–० को हार व्यहोरेपछि उसको असन्तुष्टि सार्वजनिक भएको हो । खेलपश्चात पत्रकारसँग कुरा गर्दै श्रीलंका महिला फुटबल टोलीका सहायक प्रशिक्षक डिफानी सफरसिन्हाले खेल मैदानभन्दा अभ्यास मैदान राम्रो रहेको प्रतिक्रिया दिइन् ।

‘हामीले नेपाल आइसकेपछि दुई ठाउँमा अभ्यास गर्‍यौं । ती ठाउँ अत्यन्तै राम्रा थिए,’ उनले भनिन्, ‘तर त्यसको अनुपातमा पोखरा फुटबल मैदानको स्तर राम्रो लागेन ।’
सिन्हाले नेपालले छोटो समयमा धेरै काम गर्नुपरेकाले मैदानको स्तर खस्किएको हुन सक्ने बताइन् । उनले भनिन्, ‘समयको हामी ख्याल राख्छौं । तर, अन्तर्राष्ट्रिय प्रतियोगिता भएपछि त्यस अनुसारको स्तर भने कायम राख्न सक्नुपर्थ्यो ।’

१३ औं दक्षिण एसियाली (साग) अन्तर्गत महिला फुटबल प्रतियोगितामा श्रीलंका नेपालसँग शून्यका विरुद्ध १ गोलले पराजित भएको छ । खेलपश्चात सहायक प्रशिक्षक सिन्हाले श्रीलंकाले नेपालसँग हारे पनि सन्तुष्ट रहेको प्रतिक्रिया दिइन् । नेपालसँगको खेलमा आफ्ना खेलाडीले राम्रो खेल प्रदर्शन गरेको दाबी उनको छ ।

‘खेलअवधिभर हाम्रा खेलाडीले राम्रो खेले । तर, ८८ औं मिनेटमा दूर्भाग्यवश गोल हुन पुग्यो,’ उनले भनिन्, ‘आजको खेल हार्‍यौं । तर, हामी सन्तुष्ट छौं ।’ उनले आफूहरुको खेल योजना नै डिफेन्समा जोड दिने भएकाले त्यसमा सफल भएको बताइन् ।

उनले भनिन्, ‘अर्को म्याच भारतविरुद्ध हुँदैछ । यो पनि उत्कृष्ट राष्ट्र हो । तर, हामीले कुनै कसर बाँकी राख्ने छैनौं ।’

नेपालको खेल उत्कृष्ट : हरि खड्का

नेपाली महिला फुटबल टिमका मुख्य प्रशिक्षक हरि खड्काले श्रीलंकाविरुद्धको खेलमा नेपालले उत्कृष्ट प्रदर्शन गरेको बताएका छन् । जितका लागि अन्तिम समय कुर्नु परेकोमा भने उनले विपक्षीको रक्षात्मक रणनीतिलाई दोष दिए ।

‘हामीले अट्याकिङ खेलेका थियौं । तर, श्रीलंकाले डिफेन्सिभ खेलकाले जितका लागि अन्तिम समय कुर्नु परेको हो,’ प्रशिक्षक खड्काले भने, ‘तर, आजको समग्र खेललाई हर्ने हो भने हाम्रो उत्कृष्ट थियो ।’

गोल गरेकी सरु लिम्बुले अट्याकिङ भूमिका राम्रो निभाएकाले जित सम्भव भएको उनले बताए ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय