Comments Add Comment

गढीमाई : अतिथिले भरिएको एउटा गाउँ

१८ मंसिर, बारा । पाँच वर्षको अन्तरालमा लाग्ने बाराको प्रसिद्ध गढीमाई मेलाले गर्दा बाराका अधिकांश बस्तीहरु पाहुनाले भरिएका छन् । महागढीमाई नगरपालिकाका अधिकांश घरमा साविकको भन्दा पाँच गुणासम्म बढी पाहुना रहेको स्थानीय बताउँछन् ।

गढीमाईको मन्दिर दर्शन गर्न र मेला हेर्न छिमेकी जिल्लाबाट मात्रै होइन, भारतको बिहार, उत्तरप्रदेश लगायतका स्थानहरुबाट पनि भक्तजनहरु आएका छन् । त्यसैले यहाँका हरेक घर भरिभराउ छन् ।

यो पनि पढ्नुहोस गढीमाई मेलामा पशुबली सुरु

‘महागढीमाई नगरपालिकाको प्रत्येक घरमा अहिले नाता कुटुम्ब तथा इष्टमित्रहरु छन्,’ बरियारपुरका दिनेश साहले भने, ‘हाम्रो ६ जनाको परिवारमा अहिले १८–२० जना छौं ।’

लगभग १० हजार जनसंख्या रहेको बरियारपुरका घरहरुमा अहिले लाखौंको संख्यामा मानिसहरु छन् । भाकल गरेकाहरुले बलि दिएर प्रसाद ग्रहण गर्ने परम्परा रहेकाले बरियारपुरका प्रत्येक घरमा मासु पाक्ने गरेको छ ।

यो पनि पढ्नुहोस गढीमाईको पशुबलीविरूद्ध अन्तर्राष्ट्रिय चर्चा

चिनजान नभए पनि मेला घुम्न आएकाहरुले बास मागेमा स्थानीयबासीले सहजरुपमा बास दिने गरेका छन् । बरियारपुरका बासिन्दाको सदभाव र अतिथिलाई गर्ने सम्मान सह्रानीय छ । स्थानीयबासीको सहयोगी व्यवहारका कारण श्रद्धालुहरुलाई समेत सहज हुने गरेको छ ।

गढीमाईको मेला लाग्ने वर्ष यस नगरपालिकाको सिमाना भित्रका घरहरुमा छोरीको बिदाई लगायतका कार्यक्रमहरु बन्द हुन्छ । असारको पहिलो तिथिदेखि गढीमाईको मेला समाप्त नभएसम्म यस स्थानमा विहे भएका छोरीहरुलाई समेत घर वा माइत नपठाउने चलन छ ।

हिन्दुहरुको आस्थाको केन्द्र गढीमाईमा प्रत्येक पाँच वर्षमा लाग्ने यो मेला दक्षिण एशियाकै ठूलो मानिन्छ । गढीमाईलाई विश्व सम्पदा सूचीमा सूचिकृत गराउन र यसको प्रचार प्रसारको लागि अझै काम गर्नुपर्ने स्थानीयहरु बताउँछन् । यस वर्षको गढीमाई मेलामा हालसम्म ४५ लाखभन्दा बढी व्यक्तिहरु सहभागी भइसकेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment