
१८ मंसिर, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग)को फुटबलमा नेपालले श्रीलंकासँग अंक बाँडेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपाल र श्रीलंकाले १-१ को बराबरी खेलेको हो ।
खेलमा नेपालले ३६ औं मिनेटमा कप्तान सुजल श्रेष्ठले पेनाल्टीमा गरेको गोलबाट अग्रता लिएको थियो । खेलमा नेपालले गाेलका लागि अन्य अवसर सिर्जना गरे पनि सदुपयाेग गर्न सकेन ।
तर अन्तिम मिनेटमा गोल खान पुग्यो । इन्जुरी टाइममा पाएको फ्रीकिकमा श्रीलंकन खेलाडीले उत्कृष्ट गोल गरेका हुन् ।
श्रीलंकाका लागि इन्जुरी टाइमको पहिलो मिनेटमा जुडे सुमनले गोल गर्दै हार टारे ।
५ राष्ट्र सहभागी लिगमा राउण्ड रोविनका आधारमा खेल भइरहेको छ । नेपालले पहिलो खेलमा भुटानलाई ४-० ले पराजित गरेको थियो । बुधबार श्रीलंकासागको खेल बराबरीपछि नेपालको २ खेलबाट ४ अंक भएको छ । नेपाल अंक तालिकामा शीर्ष स्थानमा छ । राउण्ड रोविन लिगपछि शीर्ष दुई स्थानमा रहने टिमले स्वर्णका लागि खेल्नेछन् ।
नेपाली टिमका प्रशिक्षक बालगोपाल महर्जनले अन्तिम दुई मिनेट सम्हालिन नसक्दा अंक बाँड्नुपरेको बताए । ‘हामीले ३/४ गोल गर्नुपर्थ्यो । तर अवसरको सदुपयोग हुन सकेन । हामीसँग अझै दुई खेल बाँकी छ । त्यमसा राम्रो प्रदर्शन गरेर हामी फाइनल पुग्ने लक्ष्यमा छौं’ उनले भने ।
श्रीलंकासँगको नतिजाले अब माल्दिभ्ससँगको खेलमा दबाब हुने महर्जनको स्वीकारोक्ति छ । ‘माल्दिभ्ससंग पनि हामी जित्नकै लागि खेल्छौँ । अब अंक बाँडेर सम्भव छैन’ उनले भने ।
प्रशिक्षक महर्जनले लगातार खेल परेका कारण पनि सोचेजस्तो नतिजा नआएको टिप्पणी गरे । ‘आज दोस्रो हाफमा प्रदर्शनमा अलीकट्टी डाउन भएको हो । लगातार दोस्रो खेल खेल्नुपर्यो । श्रीलंकाले हिजो ग्याप पाएको थियो । यसले पनि खेलमा कति फरक पार्छ भनेर देखाउँछ। अब हामी एक दिनको रेस्टपछि खेल्छौं’ उनले भने ।
श्रीलंकाली प्रशिक्षक पाकिरानीले आफूहरुले खेल बराबरी नै गर्न चाहेको प्रतिक्रिया दिएका छन् । ‘नेपालसंग बराबरी खेल्नु राम्रो हो । हामीले आजको खेल हारेको भए फाइनल सम्भावना कम हुन्थ्यो’ उनले भने ।
आयोजक नेपालसँगको खेलमा पुनरागमन गर्न सक्नु राम्रो भएको उनको भनाइ छ ।
प्रतिक्रिया 4