Comments Add Comment

जुत्तासँगै चिप्लियो कमलको स्वर्ण सपना !

कमल र राज्यलक्ष्मी दम्पत्तिले जिते काश्य

२० मंसिर, पोखरा । दक्षिण एसियाली खेलकुद (साग) भारोत्तोलनबाट नेपाललाई स्वर्ण दिलाउने कीर्तिमानी खेलाडी हुन् कमलबहादुर अधिकारी । उनले सन् २००६  मा श्रीलंकामा भएको दशौं सागमा स्वर्ण जितेका थिए । त्यसपछिका दुई संकरणमा नेपालले स्वर्ण जितेन ।

नेपालमै भएको १३ औं सागको तयारी गर्दा कमलको लक्ष्य थियो, नेपाललाई फेरि स्वर्ण दिलाउने ।

११औं सागमा उनको प्रदर्शन खराब भएको थियो भने नेपाली सेनाबाट शान्ति सेनामा खटिएका कारण १२ औं गुमाएका थिए । उमेरले ४२ पुगिसकेका उनी नेपालमै भएको सागमा स्वर्ण जितेर आफ्नो करियरको सुखद अवतरण चाहेका थिए ।

तर जब सागका लागि अभ्यासमा जान थाले । आफ्नो विश्वास डगमगाउन थाल्यो । अभ्यासका क्रममा जुत्ता चिप्लिरहन्थ्यो । त्यही कारण भार उठाउन समस्या पारिरहेको थियो ।

कमलले नयाँ जुत्ता मागे । जवाफमा पाए, ‘अभ्यासै त हो, भएकैले काम चलाऊ नयाँ जुत्ता चाँडै आउँछ ।’

उनी पुरानै जुत्तामा चिप्लिँदै, उठ्दै अभ्यास गरिरहे । प्रतियोगिता सुरु हुन जम्मा ३ दिन बाँकी थियो, जुत्ता आयो । कमलले लगाए, साइज मिलेन । ‘पहिल्यैदेखि जुत्ता मागिरह्यौं । आश्वासन मात्रै पायौं, जुत्ता पाएनौं’ कमल भन्छन्, जतिेबला आयो साइज मिलेन ।’

उनी त्यही चिप्लिने जुत्ता लगाएर शुक्रबार बिहानै पोखरा मटेपानीस्थित केसी क्याटरिङ पुगे ।

स्वर्णबाट रजतमा झरेका उनको त्यो सपना पनि जुत्तासँगै चिप्लियो । ‘स्वर्ण पदक त मैले आश गरेको थिइनँ किनकी त्यसअनुसार अभ्यास भएको थिएन । रजतचाहिँ पक्का थियो,’ केही निराश भावमा अधिकारी भन्छन्, ‘तर जे डर थियो, त्यही भइदियो । जुत्ता चिप्लियो ।’

पुरुष ६७ केजी तौल समूहमा प्रतिस्पर्धा गरेका उनले कुल २५२ केजी तौलमात्र उठाउन सके । उनले स्न्याचमा ११२ र क्लीन एण्ड जर्कतर्फ १४० तौल गरी कुल २५२ तौल भार बहन गरेका हुन् ।

जबकी पाकिस्तानका ताल्हा तालिवले स्न्याचमा १४० र क्लीन एण्ड जर्कमा १५२ गरी कुल २९२ तौल उठाए भने श्रीलंकाका जेएसी लाक्मलले स्न्याचमा ११९ र क्लीन एण्ड जर्कमा १४४ गरी कुल २६३ भार बहन गरे ।

काश्य पदक जितेका उनी चित्त बुझाउँछन्, ‘यो उमेर समूहमा पनि यो कीर्तिमान नै हो है फेरि !’

‘श्रीमतीलाई पनि पदक’

१३औं सागमा कमलबहादुर मात्र होइन, उनीकी पत्नी राज्यलक्ष्मी अधिकारीले पनि कास्य नै हात पारिन् । उनले ७१ केजी तौल समूह महिला प्रतिस्पर्धामा कास्य  जितेकी हुन् ।

जित्नेबित्तिकै १२ वर्षीय छोराले टाढैबाट ‘बधाइ छ ममी’ भनेपछि राज्यलक्ष्मीले आँशु थाम्न सकिनन् । छोराबुहारीको खेल हेर्न आएकी आमाले पनि कमल र राज्यलक्ष्मीलाई अंगालो हाल्दै भनिन्, ‘बधाई छ । यो यो खुसीम हामी पनि सामेल हुन पायौं ।’

सागमा यो आफ्नो पहिलो सहभागिता भएको सुनाउँदै राज्यलक्ष्मी भन्छिन्, ‘केही नर्भस थिएँ, तर नेपालका लागि पदक जित्न पाउँदा खुसी सम्हाल्नै सकिरहेकी छैन ।’

त्यसपछि उनी केहीबेर आँशु झारिरहिन् । कमलले भने पिँठयूमा थप्थपाउँदै खुुसीमा साथ दिइरहे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment