Comments Add Comment

वीरगञ्जमै ब्रेन ट्युमरको सफल उपचार

२० मंसिर, वीरगञ्ज । वीरगञ्ज हेल्थ केयर अस्पतालले ‘ब्रेन ट्युमर’को सफल उपचार गरेको छ । पर्साको जिराभवानी गाउँपालिका–३ को २२ वर्षीया ईन्दु कुमारी महतोको ब्रेन ट्युमरको सफल शल्यक्रिया गरिएको हो ।

ब्रेन ट्युमरको शल्यक्रियामा ८० हजार रुपैयाँ लिएको शुक्रबार पत्रकार सम्मेलन गरेर अस्पतालले जनाएको छ । औषधी लगायत अन्य खर्च जोड्दा उपचारमा १ लाखको हाराहारीमा खर्च लाग्ने अनुमान गरिएको छ । काठमाडौंमा उपचार गराउँदा २ लाख भन्दा बढी नै खर्च लाग्ने दाबी अस्पतालको छ ।

न्यूरो सर्जन डा फिरोज अफजलले ७/८ वर्ष अघि नै पलाएको ट्युमरको सफल शल्यक्रिया गरिएको बताए ।

‘बिरामीलाई बेहोस अवस्थामा ल्याइएको थियो, दाहिने पाटो चल्न छोेडेको थियो । सिटी स्क्यान र एमआरआई गर्दा सबैभन्दा महत्वपूर्ण पाटो बीच भागमा ट्युमर देखियो । भित्री भागमा भएकोले धेरै रणनीति बनाएर काम गर्नुपर्‍यो,’ डाक्टर अफजलले भने, ‘बेहोस अवस्थामा आएको बिरामी शल्यक्रिया पछि दुईवटै हात उठाउनुहुन्छ, बोलिरहनुभएको छ । आफ्नै हातले खाना खाने अवस्थामा हुनुपर्छ । यो भनेको धेरै सुधार आएको अवस्था हो ।’

प्रत्येक १० हजार मानिस मध्ये १/२ जनालाई ब्रेन ट्युमर हुने गरेको पाईन्छ । जसलाई ‘ब्रेनको क्यान्सर’ पनि भनिन्छ । न्युरो सर्जरी विभागमा सबैभन्दा जटिल मानिने यो रोगमा ब्रेनको भित्री भागमा मासु पलाउँछ ।

चिकित्सकका अनुसार ट्युमर पलाउन थालेपछि टाउको दुख्छ । ट्युमरको साइज बढ्दै गएपछि नसा च्यापिने भएकोले एक पाटो कमजोर हुन्छ । अझै ठूलो हुँदै गएपछि वान्ता हुने, रिंगटा लाग्ने, बेहोस हुने जस्ता लक्षण देखिन्छ ।

‘टाउको दुखेको कुरालाई लापरबाही गर्नुहुँदैन, चिकित्सककोमा गएर जचाउनुपर्छ ।’ डा. अफजलले भने ।

ट्युमर जति राम्रो निकालेपनि फेरि पलाउने डर हुने भएकोले चितवनमा बायोप्सी जाँचका लागि पठाइएको रिपोर्ट आउन बाँकी रहेको उनले बताए ।

सामान्य भाषामा जराबाट र बिना जराबाट गरी दुई किसिमको ट्युमर हुन्छ । जराबाट रहेछ भने फेरि फैलन्छ । फैलन नदिन रेडियो थेरापी र किमो थेरापी गर्नुपर्ने हुन्छ ।

वीरगञ्ज हेल्थ केयरले ढाडको नसा च्यापिएको, ब्रेन सर्जरी, हेड इन्जुरी, हर्ट सम्बन्धि हर्टअट्याक, मुटुमा जाली, एन्जियोग्राफी, एन्जियोग्राफी सेवा दिइरहेको अस्पतालले जनाएको छ । ब्रेन ट्युमरको सफल उपचारबाट उत्साहित भएको बताउँदै अस्पतालका अध्यक्ष डा अबुलहैस अन्सारीले ब्रेन ट्युमरको उपचारका लागि काठमाडौं, भरतपुर लगायत अन्य सहरमा जानुपर्ने बाध्यताको अन्त्य भएको बताए ।

इन्दुको बुवा रामा महतो थारुले छोरीको अवस्थामा सुधार आएकोमा खुशी व्यक्त गरे । ‘खाने वित्तिकै उल्टी गर्थ्यो, रिंगटा लागेर लड्थ्यो, हातगोडा फ्याक्थ्यो । अप्रेसनपछि पछि सुधार आएको छ । बोल्न, चल्न थालेको छ । ’ थारुले भने ।

यसअघि गत जेठमा तराई अस्पतालमा उपचार गराउँदा औषधी दिएको, गाउँकै स्वास्थ्यकर्मी बालकृष्ण चौधरीले समेत सुई तथा औषधी चलाएको तर निको नभएको उनको भनाइ छ । छोरीलाई ठिक हुन्छ कि भनेर धामी झाँक्रीमा समेत धेरै रकम खर्च गरिसकेको उनले बताए ।

वीरगञ्जमा नेशनल मेडिकल कलेज, एलएस न्यूरो अस्पताल र बयोधा अस्पतालले न्यूरो सर्जरी सेवा दिइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment