+
+

आज स्वर्ण जित्यौं, भोलिबाट बिर्सन सुरु भइहाल्छ !

विकास रोकामगर विकास रोकामगर
२०७६ मंसिर २१ गते १४:२२

२१ मंसिर, पोखरा ।  १३औं दक्षिण खेलकुद (साग)मा केही खेलाडी साथीको कस्ट्युम मागेर खेलिरहेका छन्, कोही आफ्नो साइजभन्दा ठूलो जुत्ता आएपछि चिप्लिने जुत्ता लगाएर भार उठाइरहेका छन् । यी सबै समस्याभन्दा पर छन् विकास थापा । यस अर्थमा उनी आफूलाई भाग्यमानी ठान्छन् ।

यद्यपि खेलको अघिल्लो दिन मात्र नयाँ जुत्ता आएकाले केही असहज महसुस गरेको उनले सुनाए ।

त्यसका बाबजुद पोखरा माटेपानीस्थित केसी क्याटरिङमा थापाले भारोत्तोलनको ८९ केजी तौल समूहमा स्वर्ण पदक जिते । यो सागको इतिहासमा नेपालले जितेको तेस्रो स्वर्ण भने पुरुषतर्फ दोस्रो ।

स्वर्ण जित्ने क्रममा स्न्याचमा १२३ र क्लिन एन्ड जर्कमा १४६ गरी कुल २६९ किलो भार उठाएका विकासले नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन् । यसअघि उनकै नाममा स्न्याचतर्फ १२२ र क्लिन एन्ड जर्कतर्फ १४२ गरी कुल २६४ किलो भार उठाएको कीर्तिमान थियो ।

भारोत्तोलनमा नलागेको भए आफू यतिबेला ट्र्याक्टर ग्यारेजमा काम गरिरहेको हुने उनले सुनाए । विकासकाअनुसार उनका बाबु ट्र्याक्टर मेकानिक हुन् र छोरालाई पनि आफूजस्तै मेकानिक बन्न सुझाइरहन्थे । स्वर्ण विजेता विकासले अनलाइनखबरसँग भने, ‘गाउँमा अहिले पनि बाबाको ग्यारेज छ । खेलाडी नभएको भए म पनि सायद त्यहीँ मेकानिकको काम गर्दै हुन्थेँ ।’

तर उमेर लागेपछि थापाले जिम जान सुरु गरे । सुरुमा उनको चाहना थियो, शरीर सुगठित देखियोस् । जिम गर्दागर्दै भारोत्तोलनमा लागे । र १३औं सागमा स्वर्ण जित्न सफल पनि भएका छन् ‘हरेक खेलाडीको स्वर्ण सपना हुन्छ । मैले त्यही सपना पूरा गर्न पाएँजस्तो लाग्छ,’ उनी खुसी साँट्छन् ।

भोलिबाट बिर्सिन सुरु हुन्छ

भारतमा भएको १३औं सागमा उनी रजतमै रोकिएका थिए । उनले यसपटक भने आफूलाई सुधार गरे र, स्वर्ण पदक चुमे ।

स्वर्ण सपना पूरा भएकामा खुसी छन्, तर उनलाई आफ्नो खुसीप्रति शंका छ । किनकी  उनलाई थाहा छ, यो खुसी साग खेल सकिएको भोलिपल्टैबाट विस्तारैविस्तारै कतै हराइजान्छ । उनी दुखेसो पोख्छन्, ‘आज जित्यौं । तर भोलिबाटै हामीलाई बिर्सन सुरु भइहाल्छ ।’

‘सधैं व्यस्त हुन पाए पो आफूलाई सुधार गर्ने मौका पाइन्छ । तर यहाँ खेल हुनुभन्दा अघिमात्रै खेलाडी खोज्दै हिँडिन्छ अनि कसरी ठूला सफलताबारे सोच्नु ?’ उनी भन्छन्, ‘यो पटक पदक जित्यौं । केहीदिन सरकारले पुरस्कारका घोषणा गर्ला । तर त्यसपछि अर्को साग नआउँदासम्म बिर्सन्छ ।’

नेपालमा ठूला खेल हुँदामात्रै सरकार तात्तिने गरेको उनको गुनासो छ  । ‘खेलाडीलाई सधैं लङ ट्रेनिङको आवश्यकता हुन्छ । विदेशका खेलाडी दिनहुँ अभ्यासमा हुन्छन्, र पो सफलता पाउँछन्,’ उनी भन्छन्, ‘तर यहाँ त खेल हुनुभन्दा केहीअघिमात्रै सुरु हुन्छ । त्यसरी त कसरी सुधार हुन्छ ?’

विभागीय टोली नेपाल प्रहरीमा आवद्ध थापाले खेलमा सुरक्षित भविश्य पनि देखेका छैनन्  । भन्छन्, ‘बेलैमा विभागीय टोलीले नपत्याएको भए यहाँसम्म कसरी आइपुग्थें र ? पलायन भइसक्थें होला ।’

‘स्वतन्त्र खेलाडीले आफ्नो खर्च धान्नै सक्दैनन् । मलाई विभागले जागिर दिएको छ र पो बाँचिरहेको छु । कमाएको भन्दा बढी खेलाडीले डाइट पेल्नुपर्छ । यो त बाहिरी खेलाडीले भ्याउन सक्ने कुरै भएन ।’

तस्वीरः युनिश गुरुङ/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

Conversation

New Old Popular
Advertisment