
२२ मंसिर, वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–१६ स्थित फोहोर मैला प्रशोधन केन्द्र परिसरमा ५ हजार विरुवा रोपिने भएको छ । प्रशोधन केन्द्र परिसरमा विरुवा लगाउन सुरु भइसकेको लायन्स क्लब अफ वीरगन्ज गेट्वेले जनाएको छ ।
शनिबार केन्द्र परिसरमा विभिन्न प्रजातिका ३ सय विरुवा रोपिएको छ । नगर प्रमुख विजय कुमार सरावगीले रुख रोपेर अभियानको शुभारम्भ गरेका थिए ।
पप्पु कन्स्ट्रक्सनको सहयोगमा लायन्सको वीरगञ्ज गेटवेले फोहोर प्रशोधन केन्द्र परिसरमा ५ हजार विरुवा रोप्नुको साथै संरक्षणको जिम्मा लिएको छ ।
प्रशोधन केन्द्रबाट निस्कने प्रदुषण घटाउन निम, लहरे पिपल, तुलसी लगायत बढी अक्सिजन दिने प्रजातिका वनस्पति रोपिने पप्पु कन्स्ट्रक्सनका सञ्जालक एवं क्लबका सचिव सुमित रौनियार बताउँछन् । ‘फोहोर मैला प्रशोधन केन्द्र वरपरको क्षेत्रलाई हरियो पार्कको रुपमा विकास गरौं भन्ने उद्देश्य हाम्रो छ ।’ उनले भने ।
विरुवा संरक्षणका लागि प्रत्येक साता लायन्सका प्रतिनीधि आउने र केही नर्सरीसँग समन्वय समेत गरिएको दाबी उनले गरे ।
वीरगञ्ज महानगरपालिकामा आधुनिक प्रकृतिको फोहोरमैला प्रशोधन केन्द्र निर्माणाधीन छ । ४७ करोड ६१ लाख ८० हजार रुपैयाँ लागतमा चिनियाँ निर्माण कम्पनी जन्डिङ इन्टरनेशनल इन्जिनियरिङले कामको जिम्मा लिएको हो । त्यसको स्थानीय प्रतिनीधिको रुपमा पप्पु कस्ट्रक्सनका रौनियारले नै काम हेरिरहेका छन् । ‘दुई साता भित्र उद्घाटन गर्नेगरी काम अघि बढीरहेको छ ।’ रौनियारले भने ।
वीरगञ्ज महानगरपालिकाको नगर सभाको पाँचौ आधिवेशनबाट पारित आर्थिक वर्ष ०७६/७७ को नीति, कार्यक्रम तथा बजेटमा वातावरण संरक्षणका लागि काम गर्ने उल्लेख छ । नगर प्रमुख सरावगीले आफ्नो कार्यकालमा महानगरमा १० लाख विरुवा रोप्ने बताउँदै आएका छन् ।
वृक्षारोपण तथा हरियाली प्रवर्द्धनमा जोड दिने नीति लिएको महानगरपालिकाले स्थानीय संघ संस्थाहरुलाई परिचालन गर्दै ऐलानी, पर्ती, नदि किनारका सार्वजनिक जग्गा तथा व्यक्तिको नीजि जग्गामा समेत वृक्षारोपण गर्ने जनाउँदै आएको छ ।
महानगरपालिकाले ‘एक घर दुई विरुवा कार्यक्रम’ अनिवार्य लागू गर्ने, घर निर्माण सम्पन्नताको प्रमाणपत्र लिनु अघि त्यसको जाँच गरेर मात्रै प्रमाणपत्र दिने नीति तथा कार्यक्रममा उल्लेख छ ।
नगर प्रमुख सरावगी घर वरपर जग्गा भएका नगरबासीले कम्तीमा ४ वटा विरुवा रोपेर सहयोग गर्नुपर्ने बताउँछन् ।
‘बढ्दो वायु प्रदुषणलाई नियन्त्रण गर्न वृक्षारोपणको विकल्प छैन । एक घर दुई विरुवा कार्यक्रम त अनिवार्य नै हो, तर हामीले ४ वटा विरुवा रोपेर सहयोग गर्न भनेका छौं ।’ नगर प्रमुख सरावगीले भने ‘ ऐलानी, पर्ती सार्वजनिक जग्गामा पनि वृक्षारोपण गर्ने योजना बनाएका छौं, त्यसका लागि विभिन्न संघ संस्थासँग समन्वय भइरहेको छ ।’
प्रतिक्रिया 4