Comments Add Comment

बक्सर भूपेन्द्रको ‘सरप्राइज’ स्वर्ण

२३ मंसिर, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत बक्सिङको ६४ केजी तौल समूहमा प्रतिस्पर्धा गरेका भुपेन्द्र थापा शनिबार नै फाइनलमा पुगिसकेका थिए ।

तर उनले आफू स्वर्ण पदकनजिक पुगेको परिवारका सदस्यहरुलाई सुइँको पनि दिएनन् ।

यसअघि अन्तर्राष्ट्रिय थप्रै प्रतियोगितामा फाइनल पुगेका उनले कहिल्यै स्वर्ण चुम्न पाएका थिएनन् । प्रतिद्वन्द्वीबाट कुटाइ खाएर आएको पीडा त हुन्थ्यो नै, परिवारमा पनि ‘जहिले जान्छ, जितेर आउँदैन । घुम्ने त हो नि !’ भन्दै बचन लगाउँथे ।

त्यसैले यो पटक फाइनलमा पुगेपछि सोचे, ‘स्वर्ण जितेर छाड्छु, परिवारलाई सरप्राइज दिन्छु ।’

स्वर्णको भोकसँग भारतीय खेलाडीसँग इण्डियन ओपन च्याम्पियनपसिपमा दुई पटक हारेको इख त छँदै थियो । ‘दुई पटक उसकै होम ग्राउण्डमा जितेको गेम पनि हारेर आएको थिएँ । तेस्रो पटक चाहिँ हराएरै छाड्छु भन्ने इख थियो,’ उनले सुनाए ।

यो पनि पढ्नुस्- ‘बक्सिङ हेर्न गएको थिएँ, गोल्ड मेडल लिएर फर्किएँ’

नभन्दै भुपेन्द्रले सोमबार लगनखेलस्थित नेपाली सेनाको शारीरिक तालिम तथा खेलकुद केन्द्रमा हेभिवेट प्रतिद्वन्द्वी भारतका मनिष कौशिकलाई हराए र, स्वर्ण जित्न सफल भए ।

भुपेन्द्रको करियरको पहिलो अन्तर्राष्ट्रिय स्वर्ण आमा र परिवारका अरु सदस्यका लागि भने ‘सरप्राइज’ बनेको छ ।

गाउँमा रहेकी आमालाई स्वर्ण समर्पण गरेका उनले अनलाइनखबरसँग भने, ‘सरप्राइज दिन आफू फाइनलमा पुगेको घरमा भनेको थिइनँ । अब आमालाई फोन गर्छु ।’

उनले सफलताको श्रेय गुरुहरुलाई पनि दिए । भुपेन्द्र भन्छन्, ‘मेरो जितको श्रेय गुरुहरु, परिवारका सदस्यलाई जान्छ, जसले मलाई तै‌ंले गर्न सक्छन् भनेर मोटिभेट गर्नुभयो ।’

हेभिवेट प्रतिद्वन्द्वी

भुपेन्द्रले फाइनलमा हराएका भारतका मनिष हेभिवेट प्रतिद्वन्द्वी हुन् । हरियणाका उनले सन् २०१८ को कमन वेल्थ गेम्समा रजत पदक जितेका थिए ।

तर घरेलु समर्थकको साथ पाएका भुपेन्द्रले सुरुबाटै आक्रामक खेल खेले र, त्यही रणनीतिले उनलाई सफलता दिलायो । ‘टेक्निक र स्किलमा मभन्दा उ राम्रो हो । मैले पावरले पेल्ने रणनीतिमा नै खेलेको हुँ,’ जितपछि उनले भने ।

यद्यपि मनिषलाई प्रतिद्वन्द्वीका रुपमा पाउँदा रत्तिभर डर नलागेको उनले सुनाए ।

लहैलहैमा सिकेको बक्सिङ

कक्षा १२ पढ्दासम्म भुपेन्द्र बास्केटबल खेल्ने । १२ को परीक्षा सकेपछि खाली समय सदुपयोग भन्दै साथीहरुको लहैलहैमा बक्सिङ सिक्न पुगेका थिए । त्यही बक्सिङ उनको दैनिकी बन्यो । २०६२ मा भएको पाँचौं राष्ट्रिय खेलकुदबाट राष्ट्रिय प्रतियोगिता भिड्न थाले र ०६८ बाट आफ्नो समूहमा च्याम्पियन बने ।

घरेलुसँग अन्तर्राष्ट्रिय प्रतियोगिता पनि खेले, तर स्वर्ण जित्न सकिरहेका थिएनन् । २०१६ मा भएको १२ औं साग भने उनले चोटका कारण गुमाउन पुगेका थिए । पछिल्लो ७ वर्षदेखि नेपाल पुलिस क्लबबाट खेलिरहेका ३२ वर्षीय भुपेन्द्रले अबको लक्ष्य ओलम्पिक छनोट भएको सुनाए ।

तस्वीरः आर्यन धिमाल/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment