Comments Add Comment

मानव विकास सूचकांकमा नेपालको एक स्थान सुधार

२४ मंसिर, काठमाडौं । संयुक्त राष्ट्रसंघको मानव विकास सूचकांकमा नेपालले एक स्थान सुधार गरेको छ । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) ले मंगलबार नेपालमा सार्वजनिक गरेको प्रतिवेदन २०१९ अनुसार नेपाल मानव विकास सूचकांकको १ सय ४७ औं स्थानमा उक्लेको हो ।

अघिल्लो वर्ष नेपाल १ सय ४८ औं स्थानमा रहेको थियो । नेपालले सन् १९९० देखि २०१८ सम्म औसतः भ्यालु क्रमशः वृद्धि गरिरहेको छ । खासगरी प्रतिव्यक्ति आय, शिक्षाको अवस्था र औसतः आयुलाई आधार मानेर मानव विकास सूचकांक निकाल्ने गरिन्छ । यसमा मुलुकहरुले गरिबी निवारण, भोकमरीबाट उम्कन गरेका प्रयास र खतरनाक रोगबाट मुक्त हुन गरेका प्रयासलाई अध्ययनमा राखिएको हुन्छ । प्रतिवेदन मंगलबार काठमाडौंसहित सात वटै प्रदेशमा एकसाथ सार्वजनिक गरिएको हो ।

नेपाल मध्यमस्तरको देश

मानव विकास सूचकांकका आधारमा नेपाल मध्यमस्तरको देशका रुपमा रहेको छ । यूएनडीपीका अनुसार नेपाल र केन्या समान स्थानमा रहेका छन् । प्रतिवेदनमा विश्वभरका देशहरुलाई १ सय ८९ स्थानसम्म वर्गिकरण गरिएको छ । त्यसमध्ये नेपाल अतिकम मानव विकास सूचकांक भएका मुलुकभन्दा एक कदम मात्र माथि छ ।

सूचीअनुसार १ सय ५३ औं स्थानसम्म रहेका मुलुकलाई मध्यमस्तर मानिएको छ भने त्यो भन्दा तल रहेका मुलुकहरु कमजोर मानव विकास भएका छन् । १ सय ५३ औं स्थानमा सोलोमन आइल्याण्ड रहेको छ । मानव विकास सूचकांकमा सबैभन्दा अग्रस्थानमा भने नर्वे रहेको छ । स्वीट्जरल्याण्ड, आयरल्याण्ड, जर्मनी, हङकङ, अष्ट्रेलिया, आइसल्याण्ड, स्वीडेन र सिंगापुर पहिलो १० नम्बरमा रहेका छन् ।

नेपालको अवस्था के छ ?

नेपालको मानव विकास सूचकांक मूल्य २०१८ का लागि ०.५७९ रहेको छ । यस मूल्यले मध्यम मानव विकास सूचकांक श्रेणीमा राखिदिएको छ । १८९ देश र क्षेत्रमध्ये नेपाल १ सय ४७ औं स्थानमा रहेको छ ।

नेपालको मानव विकास सूचकांक मूल्य पछिल्लो ३ दशकमा न्यूनतम ०.३८० देखि ०.५७९ अर्थात् औसत ०.५२६ ले वृद्धि भएको छ । सन् १९९० देखि २०१८ सम्म नेपालको जन्मदरको औसत आयुमा १६.१ वर्षको वृद्धि भएको छ । विद्यालय शिक्षाको मध्यम वर्ष २.८ वर्षले वृद्धि भएको छ । विद्यालय शिक्षाको अपेक्षित वर्ष ४.७ वर्षले वृद्धि भएको छ । नेपालको औसतः आयु अहिले ७०.५ वर्ष पुगेको छ । यूएनडीपीका अनुसार सन् २०१८ मा प्रतिव्यक्ति आय २७४८ डलर रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment