+
+
Shares

फास्ट ट्रयाकस्थलमा सेनाले भेटेन रूख रोप्ने जग्गा

गौरव पोखरेल गौरव पोखरेल
२०७६ मंसिर २७ गते १०:२७

२७ मंसिर, मकवानपुर । नेपाली सेनाले द्रुतमार्ग (फास्ट ट्रयाक) निर्माणस्थलमा पर्ने २७ हजार ६९ रूख काटिसकेको छ ।

तर, अहिलेसम्म पाँच हजार वटा रूख मात्र रोपिएको छ । जबकी घोषणा अनुसार काटिएका २७ हजार ६९ रूख बराबर ६९ हजार २२५ रूख रोपीसक्नुपर्ने हो ।

सेनाले काठमाडौं–तराई–मधेश द्रुतमार्ग निर्माणका क्रममा काटिने एक रूख बराबर २५ वटा बिरुवा रोप्ने घोषणा गरेको थियो ।

आयोजना निर्माणस्थलमा खटिएका सैनिक अधिकारीहरूका अनुसार वृक्षरोपणका लागि जग्गा अभावमा थप बिरुवा रोप्न नसकिएको हो । पर्यावरण संरक्षणका लागि ‘ग्रो ग्रिन’ अभियान समेत चलाइरहेको सेनाले लक्ष्य अनुरुप नै वृक्षरोपणका लागि बिरुवा तयार पारिसकेको छ ।

सैनिक अधिकृतहरूका अनुसार निजगढ नगरपालिका–८, शान्ति टोलमा ती बिरुवा रोपिएका छन् । स्थानीयवासीले उपलब्ध गराएको ऐलानी जग्गामा रूख रोपिएको छ । त्यसबाहेक रूख रोप्ने ठाउँ सेनाले भेटेको छैन ।

सेनाले सडककै किनारमा रूख रोप्ने तयारी गरेको जनाएको छ । भौगोलिक समस्याका कारण थुप्रै ठाउँमा यो सम्भव नभएको अधिकृतहरू बताउँछन् । त्यसैले कमसेकम मकवानपुर जिल्लाभित्रै वृक्षरोपण गर्ने सेनाको तयारी छ ।

सेनाको व्यवस्थापनमा निर्माण भइरहेको द्रुतमार्गको २०८१ वैशाखसम्ममा सरकारलाई हस्तान्तरण गर्ने लक्ष्य राखिएको छ । रूख रोप्ने विषयको हकमा चाहिँ छुट्टै जग्गा अधिग्रहण नगर्दा पनि रोप्ने ठाउँको समस्या देखिएको अधिकृतहरू बताउँछन् ।

डेढ लाख बिरुवा तयार

सेनाले राजदमार र निजगढ क्याम्पमा बिरुवा उत्पादनका लागि नर्सरी बनाएको छ । राजदमारमा गुणस्तर परीक्षण प्रयोगशाला पनि छ । दुई ठाउँमा गरेर करिब डेढ लाख विभिन्न प्रजातिका बिरुवा तयार भइरहेको सेनाले जनाएको छ ।


एक अधिकृतका अनुसार नर्सरीमा ४० हजार ५ सय १५ वटा खयर, १५ हजार ३ सय ५५ वटा इपीलीपी, ७ हजार ८ सय ९५ वटा सिमल, ४ हजार ५ सय २० वटा मिल, ५ सय ५५ वटा अमला र अन्य प्रजातिका बिरुवा तयार पारेको छ ।

सैनिक अधिकृत भन्छन्, ‘ती बिरुवा रोप्नका लागि स्थानीयसँगको समन्वयमा उचित ठाउँ व्यवस्थापनका लागि आवश्यक पहल भइरहेको छ ।

आयोजनाको कार्यान्वयन तथा अपरेशन महाशाखा प्रमुख प्राविधिक प्रमुख सेनानी विश्वबन्धु पहाडीका अनुसार सेनाले ३८ हजार ६ सय ६४ वटा रूख काट्नलाई वन मन्त्रालयबाट स्वीकृत लिएको छ । तर तत्काल ‘राइट अफ वे’मा नपर्ने रूख नकाटिएको पहाडी बताउँछन् ।
‘अहिले नकाटी नहुने रूख त्यति मात्रै हो, थप रूख तत्काल काट्नु पर्ने देखिँदैन’, उनले अनलाइनखबरसँग भने, ‘भोलि दोस्रो चरणको काम गर्दा तीमध्ये केही काटिनसक्छन् ।’

पहिलो चरणमा भइरहेको कामका लागि रूख कटान, छपान र घाटगद्दी गर्ने काम अधिकांश सकिएको अधिकृतहरू बताउँछन् । सेनाले तराई क्षेत्रमा एक सय र पहाडी क्षेत्रमा ५० मिटर क्षेत्रमा फैलिएको सडक सञ्जाल बनाइरहेको छ ।

सेनाको रोहवरमा रूख हस्तान्तरण

प्रमुख सेनानी पहाडी रूख काटेपछि जसको स्वामित्वमा छ, त्यसकै टोलीलाई बुझाइदिने गरिएको बताउँछन् । उनका अनुसार द्रुतमार्ग निर्माणस्थलमा जिल्ला वन डिभिजन कार्यालय र सामुदायिक वन उपभोक्ता समितिको रूख कटान भइरहेको छ ।

‘जिल्ला डिभिजन वन कार्यालयका प्रतिनिधि, सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष र नेपाली सेनाका एक जनाको रोहबरमा काटिएको रूखको अभिलेख राखिन्छ’, उनले भने, ‘काट्ने काम पनि यही टोलीको रोहबरमा हुन्छ भने गिँड्ने र लिलामी प्रक्रियामा समेत समेत उहाँहरू संलग्न हुनुहुन्छ ।’

यही असार मसान्तसम्ममा ढुंगा र माटोको काम सकेर सडकमार्गको दोस्रो चरणको काममा आयोजना प्रवेश गर्ने जनाइएको छ । ती काम भने सेनाको व्यवस्थापनमा अन्तर्राष्ट्रिय कम्पनीहरूले गर्नेछन् ।

लेखक
गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि राष्ट्रिय सुरक्षा एवं समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?