Comments Add Comment

इजरायलको उच्चस्तरीय टोली के गरेर फर्कियो ?

२७ मंसिर, काठमाडौँ । इजरायली सरकारको उच्चस्तरको आधिकारिक संस्था मसाभ प्रमुख गील हासकेलको टोली पाँच दिनको नेपाल बसाइपछि स्वदेश फर्किएको छ ।

इजरायलका लागि नेपाली राजदूत डा. अन्जना शाक्यको विशेष पहल र नेपाल सरकारको निमन्त्रणामा आएको हासकेलको टोलीले नेपाल बसाइका क्रममा प्रधानमन्त्रीसँगै परराष्ट्र, अर्थ, शिक्षा, कृषि, स्वास्थ्य र ऊर्जामन्त्रीसँग पनि भेट गरेको थियो ।

विश्वका १ सय बढी मुलुकका विज्ञहरुलाई तालिम र सीप विकासको तालिमसँगै प्रविधि हस्तान्तरण गर्दै आएको सो संस्था इजरायलको स्थापनासँगै इजरायलको विकासका लागि खोलिएको हो ।

मसाभले नेपालमा एग्रिकल्चर, स्मार्ट ग्रिड सेन्टर अफ एक्सीलेन्स वीथ सोलुसन र सेन्टर अफ एक्सीलेन्स इन एजुकेशन, साइन्स, कल्चर एण्ड स्पोर्ट गरी सरकारसँग सम्झौताका लागि प्रक्रिया अघि बढाएकोे छ ।

मसाभले विश्वका एक सय बढी मुलुकका डाक्टर, इन्जिनियर्स, नर्स, शिक्षक,कृषक लगायतलाई तालिम र सीप विकासका लागि सहयोग गर्दै आएको छ ।

पाँच दिनको नेपाल बसाइका क्रममा हासकेल, इजरायली राजदूत बेनी ओमारसँगै, राजदूत डा. शाक्य, परराष्ट्र मन्त्रालयका उप सचिव सुरेश अधिकारी र कृषि मन्त्रालयको सहसचिव राजेन्द्र मिश्र लगायतले गुल्मीमा रहेको कफी अनुसन्धान कार्यक्रमको अवलोकन गरेका थिए ।

त्यसैगरी टोलीले झापाको दमकस्थित सामूहिक खेतीको पनि अवलोकन गरेको थियो । प्रदेश–१ का आन्तिरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीसहितको टोलीले दमक–३ मा रहेको मानसरोवर कृषि सहकारी संस्थाले सञ्चालन गरेको कृषि क्षेत्रको पनि अवलोकन गरेको थियो ।

मसाभको टोलीले गण्डकी प्रदेशको पोखरामा पनि एग्रिकल्चर सेन्टर अफ एक्सीलेन्स खोल्ने विषयमा त्यहाँका मुख्यमन्त्री पृथ्वी शुब्बा गुरुङसँग छलफल गरेको थियो । नेपाल बसाइकै क्रममा सो टोलीले नेपाल चेम्वर अफ कमर्स, नेपाल–इजरायल चेम्वर अफ कमर्स लगायतसँग पनि छलफल गरेको थियो ।

टोलीसँगै नेपालका विभिन्न ठाउँको फिल्ड भिजिट गरेकी राजदूत डाक्टर शाक्यले पनि मसाभ प्रमुखले पहिलो प्राथमिकतामा नेपाललाई राख्नु र सोवमोजिम नेपालमा आउनु र प्रविधि हस्तान्तरणका लागि यसरी चासो व्यक्त गर्नु नेपालका लागि अवसर भएका बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment