
२७ मंसिर, काठमाडौं । शुक्रबार प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा सीमा समस्याबारे छलफल हुँदै थियो । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद भीम रावल र समाजवादी पार्टीकी सरिताकुमारी गिरीबीच सीमा समस्या बहसबारे देशभित्र र देश बाहिर उठेका प्रसंगलाई लिएर केहीबेर चर्काचर्की पर्यो ।
सांसदहरुबीचको चर्काचर्की यस्तो रह्यो
सरिता गिरी : वि.सं. १८१६ को सुगौली सन्धी १९५० को सन्धीले यसअघिको सन्धी खारेज भयो भनेको छ ।
ब्रिटिशले भारत छोडेको बेला नेपालको नक्सा कस्तो थियो त्यो हेर्नुपर्छ, सन् १९६२ मा महेन्द्रले शासन हातमा लिएपछि २००६ मा टोनी हेगेन फाउण्डेशनबाट नेपालको नक्सा निकालेका छन् । त्यसमा लिपुलेक, लिम्पियाधुरा नेपालको नक्सामा छैन ।
१९६२ मा भारतले नक्सा जारी गरेको थियो, त्यतिबेला नेपालले भारतलाई कुनै प्रश्न गरेको छ ? १९६३ मा अगाडिको किताबमा लिपुलेक नक्सामा छैन । त्यो बेलामा राजा महेन्द्रको सरकारले भारत सरकारलाई सुसुचित गराएको छ कि छैन ?
नेपालले भारतको सीमा मिचेको कुरा पनि आइरहेको छ । दुई देशबीच सीमा विवाद हुनु अनौठो हैन । यो कुरा आश्चर्यजनक कुरा हैन । अन्तर्राष्ट्रिय सम्बन्धको कुरालाई इमोसनल रुपमा उठाउँदा कुटनीतिक सम्बन्ध कमजोर हुन्छ ।
भीम रावल : नेपालको भूमि अतिक्रमणमा परेको कुरा आन्तरिक खपतका लागि उठाइएको भन्ने एकदमै गलत हो । यो भारतीय पक्षको हात बलियो पार्ने तर्क हो । हामीले आफ्नो भूभाग अतिक्रमणका परेको कुरा उठाउँदा आन्तरिक खपतका लागि उठायो भन्ने ? यो गलत कुरा हो ।
सरिता गिरी : म माथि आरोप लगाइयो, भारतलाई सपोर्ट गर्ने कुरा गर्यो भनेर । म सत्यको कुरा गरिरहेको छु र मेरो अधिकार छ भन्नका लागि, कि यहाँका माननीय सदस्यज्यू चाइनाको पक्षमा बोलिरहनुभएको छ ? कसैको राष्ट्रियताको बारेमा यस्तो आपत्ति गर्नुहुन्छ ? सबैले आ–आफ्नो मर्यादा/सीमा राखेर कुरा गरौं ।
सभापति पवित्रा निरौला खरेल : माननीयज्यू चीन भारतको भन्दा पनि आफ्नो देशको पक्षमा कुरा गरिरहेका छौं ।
सरिता गिरी : यो अन्तर्राष्ट्रिय समिति हो सभापतिज्यू, यसमा सबैको कुरा हुन्छ ।
सभापति खरेल : यहाँ भारत र चाइना पक्ष र विपक्षमा होइन आफ्नो देशको सीमा रक्षाको कुरा गरिरहेका छौं ।
सरिता गिरी : सभापतिज्यू, यहाँले रुलिङ गरिदिनुभएको भए मैले यति बोल्ने अवस्था आउँदैनथ्यो ।
भीम रावल– नेपालको सीमा सुरक्षाको विषय आन्तरिक खपतको लागि मात्र हो भनेर भारतको पूर्व राजदुतले भन्ने र त्यही कुरा यहाँ कसैले भन्छ भने त्यो भारतीय पक्षलाई बलियो बनाउने कुरा हो भनेको हुँ । यो कसैको मर्यादाको कुरा होइन ।
दोहोर्याएर भन्छु, यो नेपालको वार्तालाई कमजोर बनाउने कुरा हो । सीमा समस्या आन्तरिक खपतको कुरा होइन । यस विषयमा मैले कसैलाई आरोप लगाएको होइन, तथ्यले देखाउँछ ।
सरिता गिरी : माननीयज्यू, राष्ट्रिय हितको आ–आफ्नो परिभाषा हुन्छ ।
अग्नि सापकोटा : सीमा समस्या आन्तरिक खपतका लागि उठाएको भनेर संगीन आरोप लगाएको कुरा मैले पनि उठाएको थिएँ । यसको कुनै गम्भीर खालको खण्डन नै भएको छैन । नेपालले खण्डन गर्नुपर्छ भन्ने नै मेरो धारणा हो ।
आउन त अस्तिनै आयो, प्रधानमन्त्री केपी ओलीसँग सल्लाह गरेर नै भारतले नयाँ नक्सा जारी गर्या भनेर । भारतले त हामी बीचमा फाटो पार्न लाख कोसिस गर्छ । विवाद पार्नका लागि कोसिस गरिरहेको छ ।
सीमामा पर्खाल लगाउन सुझाव
सांसदहरुले सीमा समस्या समाधान गर्नका लागि थरी थरीका सुझाव दिएका छन् ।
सांसद अग्नि सापकोटाले संविधानमा भएको नक्सा नै त्रुटिपूर्ण रहेको भन्दै संविधान संशोधनको माग गरे । ‘संविधानमा भएको नक्सा नै त्रुटिपूर्ण छ । संविधान संशोधन गरेर नक्सा सच्याउने र कालापानीबाट भारतीय सेना हटाउने विषयलाई राज्यले पहिलो प्राथमिकतामा राख्नुपर्छ’ उनले भने ।
नेपाली कांग्रेसका सांसद प्रकाशमान सिंहले सरकारले सीमा समस्यालाई हल्का फुल्का रुपमा लिएको आरोप लगाए । सांसद सिंहले भने, ‘सरकारले कुटनीतिक र राजनीतिक प्रयास गरेको छ ? केही काम गरेको छ ? उठाइहाल्यो अब भइहाल्छ भनेर हल्का फूल्का रुपमा लिइरहेको छ ।’
अर्का सांसद मोहन बानियाँले सीमामा पर्खाल लगाउन सरकारलाई सुझाव दिए । ‘कि छिमेकी सुध्रन पर्यो होइन भने सरकारले सीमामा पर्खाल लगाउनुपर्यो’ उनले भने ।
सांसद उमादेवी रेग्मीले कहिले सचिवस्तरीय वार्ता गर्ने भनेर पन्छाइदिने, कहिले के भनेर पन्छाइदिने काम भइरहेको भन्दै सरकारको ध्यानाकर्षण गरिन् । ‘यति धेरै म्यान्डेट पाउँदा पनि सरकार किन खुट्टा कमाइरहेको छ ? उनले प्रश्न गरिन् ।
प्रतिक्रिया 4