Comments Add Comment

मौसमसँगै चिसियो चलचित्रको व्यापार, ६ हप्तामा एक दर्जन फ्लप

काठमाडौं । गत मंसिर ६ गते चलचित्र ‘च च हुई’ हेर्न एक जना मात्र दर्शक हलमा आएपछि काठमाडौंको एक मल्टिफ्लेक्सले शो नै रद्द गर्‍यो । सो चलचित्र त्यही दिन चितवनको इन्द्रदेवमा पनि दर्शक अभावले प्रदर्शन स्थगित भयो ।

प्रसंग २- काठमाडौंको पुष्पाञ्जली हलमा चलचित्र ‘माछा माछा’ हेर्न तीनजना पनि दर्शक नभएपछि हल नै बन्द गर्नुपरेको सञ्चालक गोपाल कायस्थले गुनासो गरे ।

पछिल्ला दिनमा नेपाली चलचित्रको व्यापारको हविगत दर्शाउन यी दुई दृष्टान्त पर्याप्त छन् ।

खासगरी तिहारपछि रिलिज भएका चलचित्रले पानी पनि माग्न भ्याएका छैनन् ।

काठमाडौंमा जाडो बढेको छ । तिहारपछि काठमाडौंको मौसम चिसिएसँगै चलचित्रको व्यापार पनि चिसिन थालेको छ । यो चिसिने क्रम कहिलेसम्म जारी रहला भनेर न चलचित्रकर्मी भन्न सक्छन्, न त हल सञ्चालकले नै ।

तिहारको छेकोमा ‘छ माया छपक्कै’ लाग्दा दर्शकहरु हलमा छपक्कै छाएका थिए । त्यसअघि ‘कबड्डी’ को सिक्वेलले पनि दर्शकको साथ राम्रै पाएको थियो ।

कात्तिकमै तिहारको बिदाको फाइदा उठाउँदै ‘पोइ पर्‍यो काले’ले पनि लगानी उठाउन सफल भयो । तर, त्यसपछि सुनसान छ । नाम चलेका कलाकार, चर्चित ब्रान्ड सबै असफल भए ।

६ हप्तामा दर्जन चलचित्र

कात्तिक १५ देखि मंसिरको २७ गतेसम्म आइपुग्दा रिलिज भएका चलचित्रको सूचि लामै छ । ६ दिनको यो अवधिमा एक दर्जन चलचित्र रिलिज भए ।

कात्तिक १५ मा ‘वादशाह जुट’, कात्तिक २२ मा ‘घामड शेरे, ‘जीवन काँडा कि फूल’, कात्तिक २७ मा ‘मिस्टर नेपाली’, ‘सम्झिराख है’, मंसिर ६ गते ‘च च हुई’, मंसिरको १३ गते ‘सरौतो’ र ‘लभ यू हमेशा’, मंसिरको २० मा ‘माछा माछा’, ‘माया पिरिम’ र हिजो शुक्रबार दुई चलचित्र ‘प्रेम संसार’ र सूर्य किरण’ रिलिज भए ।

यसरी हेर्दा, करिब डेढ महिनाको अन्तरमा एक दर्जन बढी चलचित्र हलमा आएको देखिन्छ । एक दर्जन बढी चलचित्रको औषत लगानी हेर्दा करिब १० देखि १२ करोड रुपैयाँ डेढ महिनामा नै स्वाहा भएको प्रष्ट छ । यो आँकडा हेर्दा यो विकराल अवस्था हो ।

तिहारमा रिलिज भएको ‘हाउसफूल ३’ यता बलिउड चलचित्रको व्यापार पनि नेपालमा सुखद छैन । आयुष्मान खुरानाको ‘बाला’ ले मल्टिफ्लेक्समा ठीकठाकै व्यापार गरे पनि अन्य चलचित्रले दर्शक तान्न सकेनन् ।

बलिउड चलचित्रबाट समेत थ्रेट नभएको अवस्थामा नेपाली चलचित्रको व्यापार कमजोर हुनु झन् निराशाजनक हो । आउँदो साता रिलिज हुन लागेको चलचित्र ‘दबंग ३’ ले नेपाली बक्स अफिसमा बम्पर व्यापार गर्ने अपेक्षा गरिएको छ ।

खतराको घन्टी

हुन त नेपालमा चलचित्र निर्माणलाई जुवा खेलजस्तो मानिन्छ । हिजोआज डेढदेखि दुई करोड घटीमा चलचित्र नै बन्न छाडेका छन् । निर्माताले यति ठूलो रकम लगानी गर्दा पक्कै पनि प्रतिफलको आशा राख्छन् । तर, त्यसको सम्भावना चाहिँ झिनो हुन्छ । वर्षमा एकाध चलचित्रले मात्रै मुनाफा कमाउँदै आएका छन् ।

यो जुवामा हारेर धेरै निर्माता त सडकमा आएका उदाहरण छन् । एउटा चलचित्र फ्लप भएपछि अर्को बनाउने हिम्मत कसले गर्ने ? त्यसैले धेरैजसो नयाँ-नयाँ निर्माताहरु नै हुन्छन् नेपालमा चलचित्र बनाउने ।

यो बर्षको चलचित्र रिलिज र व्यापारको अवस्था हेर्दा दर्शकले पत्याउन नै छाडेको देखिन्छ । दर्शकले महजोडीलाई गरेको विश्वासका कारण मात्रै ‘दाल भात तरकारी’ले व्यापारिकरुपमा लगानी उठाउन सक्यो । ‘जात्रै जात्रा’ ब्रान्ड, कथावस्तु र कलाकारको अभिनयले चल्यो । ‘कबड्डी कबड्डी कबड्डी’ लाई कमजोर समिक्षाका बावजुद दर्शकको ब्रान्डले नै धान्यो । ‘छ माया छपक्कै’ को सफलतामा कथावस्तु, प्रस्तुतिका साथमा दीपकराज गिरीको टिममाथि दर्शकले गरेको विश्वासले भूमिका खेल्यो ।

यसरी हेर्दा, यो बर्ष जति पनि चलचित्र चलेका छन्, ती सिरिज वा ब्रान्डको कारण चलेका छन् । अन्य चलचित्र दर्शकले हेरेका नै छैनन् । यो नेपाली चलचित्रका लागि खतराको घन्टी हो । किनकि, हिट सिरिज र ब्रान्ड मात्र पत्याउने हो भने अरु निर्माताले चलचित्रमा लगानी किन गर्ने ?

अहिले बलिउडमा स्टार कलाकारभन्दा कथा चलेका छन् । कथा राम्रोसँग भनिएका चलचित्रले सहजै १ सय करोडको व्यापार गर्छन् । उनीहरुले गर्ने लगानी पनि निकै ठूलो हुन्छ । नेपालमा भने चलचित्र बनाउँदा हरेक कुरामा सम्झौता गर्नुपर्ने हुन्छ । कसरी छिटो र मितव्ययीरुपमा सिध्याउने भन्ने ध्याउन्न निर्माता-निर्देशकको हुन्छ ।

बर्षमा बनेका सबै चलचित्र चल्छन् भन्ने त विश्व बजारमै हुँदैन । तर, नेपाली चलचित्रको व्यापार भने निकै  कमजोर छ । यसतर्फ निर्माताले सोच्नुपर्ने अवस्था आएको छ । चलचित्र बनाउन हतारिनु भन्दा पनि लगानी कस्तो कथामा गर्ने भन्नेलाई ध्यान पुर्‍याउनु आवश्यक देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment