Comments Add Comment

बार्सिलोना सोसिडाडसँग बराबरीमा रोकियो

२९ मंसिर, काठमाडौं । लिग लिडर बार्सिलोनाले स्पानिस ला लिगामा रियल सोसिडाडसँग बराबरी खेलेको छ । शुरुमै गोल खाएर पछि परेको बार्सिलोनाले पुनरागमन गर्दै अग्रता लिए पनि २-२ को बराबरी खेल्दै अंक बाँडेको हो । बार्सिलोनाको लागि एन्टोनी ग्रीजमन र लुइस सुअरेजले गोल गरे ।

घरेलु मैदानमा मिकेल ओबाजयाले १२औं मिनेटमा पेनाल्टीमा गोल गर्दै सोसिडाडलाई अग्रता दिलाएका थिए । तर ३८ औं मिनेटमा ग्रीजमनले पूर्वक्लबविरुद्ध गोल गर्दा बार्सिलोना खेलमा फर्किएको थियो ।

४९ औं मिनेटमा कप्तान लिओनल मेसीको पासमा सुअरेजले गोल गरेपछि बार्सिलोनाले २-१ को अग्रता बनाएको थियो, तर जोगाउन सकेन । ६२ औं मिनेटमा सोसिडाडका अलेक्जान्डर इजाकले गोल गर्दै खेल २-२ को बराबरीमा पुर्‍याए । त्यसपछि दुवै टोलीले गोल थप्न सकेनन् र अंक बाँडे ।

बराबरीपछि बार्सिलोनाको १६ खेलबाट ३६ अंक भएको छ । बार्सिलोनाले दोस्रो स्थानको रियल मड्रिडमाथि ३ अंकको अग्ता बनाउने मौका गुमायो । एक खेल कम खेलेको रियल ३५ अंकसहित दोस्रो स्थानमा छ । रियलले भ्यालेन्सियासँग सोमबार खेल्दैछ । यस्तै ओसानालाई २-० ले पराजित गर्दै एट्लेटिकाे मड्रिड २९ अंक जाेड्दै चाैथाे स्थानमा उक्लेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment