Comments Add Comment

कथा : हैट ! पिउनसँग नि हात मिलाउने हो ?

हैट ! हाकिम भएर पिउनसँग हात मिलाउने !

अभिभावकीय शैलीमा उनले विस्मय प्रकट गरे ।

आफ्नो स्ट्याण्डमा बस्नुपर्छ ।

ओजिलो हुनुपर्छ । सस्तो हुनुहुन्न । यही ताल हो भने त भोलि कसरी अफिस चलाउनुहुन्छ तपाईले ?

प्रसङ्ग हाम्रै अफिसका एकजना स्टाफको छोराको ब्रतबन्धको पार्टीमा मैले कार्यालय सहयोगी अक्षेश्वरजीसंग हात मिलाएको उनले देखेछन् ।

उनी मलाई उपदेश दिन थाले । ऊनका यस्ता प्रकारका उपदेशहरू यसअघि पनि ठाउँ कुठाउँ सुन्दै आएको थिएँ ।

केन्द्रको एउटा महत्वहीन विभागका महानिर्देशक (डीजी) थिए उनी । महत्वहीन यो मानेमा कि त्यो विभागमा डीजी भएर सकेसम्म कोही जान चाहँदैनथे । म त्यहाँको सामान्य अफिसर थिएँ ।

मलाई चित्त बुझेन उनको कुरा । अनेक तर्क–वितर्क गरें । समय परिवर्तनको दृष्टान्त दिएँ । सामन्तवाद अन्त्य भई लोकतन्त्र, गणतन्त्र आइसकेको दलील पेस गरे। ‘मानिस ठूलो दिलले हुन्छ पदले हुँदैन’ भन्दै महाकवि देवकोटालाई सम्झँदै आफूले कुनै गल्ती नगरेको प्रष्ट पारें । तर, जे–जे गरे पनि, जे–जे भने पनि कार्यालय सहयोगीसँग हात मिलाएकाले उनले मलाई ‘हैसियतविहीन’ देखाउने भरमग्दूर प्रयास गरिरहे । ‘तुच्छ’ देखाउने अनेक–अनेक यत्न गरिरहे । यसै विषयलाई लिएर अरू अफिसरहरू माझ ‘फलानो त पिउनसँग हात मिलाई हिँड्छ’ भन्दै मेरो ‘मजाक’ उडाएछन् ।

यसको करीब छ/सात महिनापछि हुनुपर्छ, ऊनी र म त्यस्तै एउटा पार्टीमा संगै भेटियौं । उनी खाँदै पिउँदै आफ्ना मित्रहरूसँग गफिँदै थिए । म उनको नजिकै परें । ऊनी छक्क परे । ‘अरे तपाइँ पनि !’ भनेर एकछिन आश्चर्य प्रकट गरे ।

‘तपाईलाई पनि निम्तो छ भन्ने थाहा भएको भए त सँगसँगै आउन हुन्थ्यो नि’ भन्दै सदाशयता प्रकट गर्न खोजे । यसअघिका कयौं यस्ता जमघटहरूमा ऊनले मलाई लिफ्ट नदिएका बग्रेल्ती उदाहरण बिर्सेझैं गरे ।

ऊनी र मसँगै खानपिन गर्न थाल्यौं ।

एकछिनपछि त्यही पार्टीमा नारदनाथ आइपुगे । डीजीसापले उनलाई देख्ने बित्तिकै मधुर मुस्कानका साथ हात मिलाउन हात पसारे । नारदनाथले पनि हात दिए । दुबैले हात मिलाए । त्यसपछि निक्कै उत्ताउला भएर अनुहारमा विशेष कान्ति ल्याउँदै डीजीसापले नारदनाथलाई ग्वाम्लाम्ङ्गै अङ्गालो हाले । डीजीसापको हाउभाउ देख्दा यस्तो लाग्थ्यो कि उनले बर्षौं प्रतीक्षा गरेको मान्छे भेट्टाए । प्रेमीले प्रेमिका भेट्टाए झैं उत्ताउला भए डीजीसाप ।

नारदनाथलाई संगै बसेर पार्टी इन्जोय गर्न प्रस्ताव गरे । यसपछि भने मैले आफूलाई फाल्टु महसूस गरें । र बिस्तारै बिस्तारै साइड लाग्दै गएँ । तर, ती दुईको मित्रताको दृश्यबाट भने ओझेल परिनँ ।

नारदनाथ र डीजीसाप दुबैजना संगै बसेर खान थाले । खाँदै रमाइलो गर्दै जाँदा घरि नारदनाथ डीजीसापलाई धाप मार्थे भने घरी डीजीसाप नारदनाथसँग मजाले जिस्किन्थे । रक्सी लागेपछि यस्तो हुनु स्वाभाविक नै हो भन्ने ठाउँ नै थिएन । किनभने, डीजीसाप न रक्सी खान्थे, न माछामासु नै । शुद्ध शाकाहारी र सात्विक थिए । नारदनाथ भने भलिभाँती खान्थे । तर, खै किन हो, आज उनी पनि मदिरा पिइरहेका थिएनन् ।

‘मेरो विषयमा कुरा गर्नु भो होइन मन्त्रीज्यूसँग ?’

डीजीसाप नारदनाथलाई सोध्दै थिए ।

‘तपाईले चिन्तै गर्न पर्दैन । एक हप्ताभित्र तपाईको सरूवा तपाईंले भनेकै ठाउँमा ।’

नारदनाथले आश्वत पारे।

यस्तो लाग्थ्यो, दुबैको बर्षौंदेखि गहिरो मित्रता छ । अथवा दुबै नजिकका नातेदार हुन् । अथवा छिमेकी हुन् । अथवा सँगसँगै स्कुल कलेज पढेका साथी हुन् । तर, यथार्थ त्यस्तो छँदै थिएन ।

नारदनाथ र डीजीसाप दुबैलाई म राम्रोसित चिन्थें । नारदनाथ हाम्रै विभाग अन्तर्गतको एउटा कार्यालयका कार्यालय सहयोगी थिए । अरू कर्मचारीले तपाईं भनेर सम्बोधन गर्दा डीजीसापले सातो लिएको कयौंपटक देखेको छु । हजूर भनेर क्रियापदमा ‘स्यो’ नलगाई बोल्यो भने ‘बोल्ने सोमत छैन हाकिमसंग’ भन्दै झाँको झार्थे । हुर्मत लिन्थे । हुर्मत लिन नसक्ने रहेछ भने भित्रभित्रै मुर्मुरिन्थे । सानातिना निम्छरा कर्मचारीहरूलाई नाममा एकलखे लगाएर मात्र बोलाउँथे । तर, नारदनाथलाई नामका पछाडि ‘जी’ पनि थपेर सम्बोधन गर्थे ।

सोहीपरि नारदनाथ पनि डीजीसापको नामका पछाडि ‘जी’ थपेर सम्बोधन गरिरहेका थिए । यो ‘जी’ले दुबैलाई एकतामा बाँधेको थियो, शायद त्यसैले डीजीसापलाई कुनै आपत्ति थिएन ।

नारदनाथ जागिरका अलावा राजनीति गर्थे । उनको हकमा त राजनीतिको अलावा जागिर खान्थे भन्दा उपयुक्त हुन्थ्यो । जागिर त उनको देखाउने दाँतमात्रै थियो । चपाउने दाँत भने दलीय राजनीति नै थियो । राजनीतिमार्फत् उनी ठूल्ठूला डिलहरू भ्याउँथे । ठुल्ठुला मान्छेका दिल जित्थे । शायद यस्तै डील भ्याउन र दिल जित्न नै दल ज्वाइन गरेका थिए । दलका सक्रिय कार्यकर्ता थिए । सक्रिय त ऊनी कार्यालयमा पनि हुन्थे । तर, हाजिर गर्ने, लडाउने, भिडाउने, उचाल्ने, पछार्ने, चालुगिरी गर्ने, चुक्लीगिरी र हुकुमत गर्ने काममा । कसलाई कहाँ पठाउने, कसलाई झिकाउने, कसलाई बिकाउने, कसको खोस्ने, कसलाई पोस्ने यावत् कुराहरू नारदनाथलाई नसोधी सम्भव थिएन ।

ऊनको दलको महाधिवेशन हुँदा उम्मेद्वार भएर जितिदिन्थे । अर्थात् ‘नेपालको कानून दैवले जानून्’ भन्ने उखान चरितार्थ गरिदिन्थे । एकाध पत्रपत्रिकाले यो कुरा छाप्थे पनि । तर, पछि पानीको फोकाझैं त्यत्तिकै बिलाएर जान्थ्यो । राजनीतिक दलका नेताहरूसंग उनको जान पहिचान राम्रो थियो। त्यही आधारमा ट्रेड यूनियनको उपल्लो पदमा आसीन थिए ।

नभन्दै एक हप्तापछि डीजीसापको सरूवा वहाँले भनेकै ठाउँमा भो ।

त्यो दिनदेखि म डीजीसापको हात मिलाउने मापदण्डको ‘फ्यान’ भएको छु । नारदनाथको ‘यस म्यान’ भएको छु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment