Comments Add Comment

नाम्खाको दुःख : जहाँ टेलिफोनको घण्टी बज्दैन

नेपालको सबैभन्दा विकट जिल्ला, हुम्ला । हुम्लाको पनि विकट गाउँ, नाम्खा । कस्तो होला त यो हिमाली भेगको जनजीवन ? कस्तो होला रहनसहन र चालचलन ? कस्तो होला संस्कार र संस्कृति ?

रमाइलो कुरा भनिहालौं, नाम्खामा  स्थानीयवासीले सुन र चाँदीलाई उति महत्व दिएका छैनन् । बरु रैथाने सीप र शैलीमा बनेको निमुगा, तुतो, पुसोल, गालोङ, थाइकोर, किबु, गजुङ, किङोर, च्यार्मा जस्ता गहनाहरुमा नै पुरुष र महिलाहरु सजिने गर्छन् । पुरुष र महिला दुबैले बख्खु लगाउँछन् ।

लिउ फेरवा, बख्खु, राडी पाखी आदि त्यहीँ बुन्ने गरिन्छ । बरु त्यो तिब्बती बजार तिर निर्यात पनि हुने गर्छ । त्यहाँबाट ताक्लाकोट पुग्न हिँडेर जाँदा तीन दिन लाग्थ्यो । तर, अहिले बोर्डरबाट गाडी चल्न सुरु भएको छ । त्यसैले अलिक सहज भएको गाउँपालिकाका अध्यक्ष तामाङ बताउँछन् ।

यस्तै छ यहाँको चलन

विगतमा यहाँका वासिन्दाहरु  सयौंको संख्यामा भेँडा-च्यांग्राहरु पाल्थे । बर्खा याममा आफ्नै भूमिमा पर्याप्त रुपमा जग्गा जमिन खाली हुन्थ्यो । हिउँदमा हिउँले आफ्ना खर्कहरु खाली नहुँदा सयौं भेँडाहरु तिब्बती खर्कमा लगेर चराउने गरिएको थियो । तर, झण्डै तीन दशक अघि तिब्बतले त्यो स्वतन्त्रता खोस्यो । चीन सरकारले आफ्नो खाली भूमिमा पनि भेँडा च्यांग्राहरु चराउन बन्द गरेपछि अहिले लिमीबासीहरुले आफ्नो त्यो आम्दानीको स्रोत नै गुमाएको स्थानीय पाल्जोर तामाङ बताउँछन् ।

यो पनि पढ्नुहोस रुवीभ्यालीको छुट्टै संसार : स्वर्गजस्तो ठाउँमा अभावको चाङ

अहिले त्यहाँ जडिबुटी, काठका फुरु, च्याउ, आलु, भेडाबाख्राहरु तिब्बती बजारमा लगेर बेच्ने गरिएको छ । त्यसैबाट आएको पैसाबाट स्थानीयले खाद्यान्न, नूनतेल, लत्ताकपडा, दैनिक उपभोग्य वस्तुहरुका साथै औषधि र भाँडावर्तनहरु किनेर ल्याउने गरेका छन् । यसरी नै चलिरहेको छ त्यहाँको जीवनशैली ।

सो गाउँपालिकामा अहिले नाफल (ऊवा) उच्च हिमालयमा पाक्ने कोईरा र तोरीको मुख्य बालीको रुपमा खेती हुन्छ भने हिमचितुवा, कस्तुरी, वनघोडा, वनचौरी, नावर लगायतका जङ्गली जनवारहरु प्रशस्त भेटिने गरेको स्थानीय बताउँछन् ।

चार्डपर्व र संस्कृति

चार्डपर्व र संस्कृतिमा यो गाउँपालिका अरुभन्दा भिन्न छ । उनीहरुमध्ये सबैले लोसार मान्ने गर्छन् । स्थानीय क्यालेण्डर अनुसार कहिले आठौं महिनामा त कहिले नवौं महिनामा यो पर्व पर्छ । एक वर्ष आठौं महिनामा पर्‍यो भने अर्काे वर्ष नवौं महिनामा यो पर्व मनाउने गरिएको छ । त्यो क्यालेण्डर पनि अचम्मको रहेको तामाङ बताउँछन् । उनका अनुसार नेपाली क्यालेण्डरसँग तुलना गर्दा यहाँको दुई दिन त्यहाँको एक दिन हुने गर्छ । यो वर्ष नवौं महिनाको २९ गतेदेखि यो पर्व सुरु हुँदैछ । त्यो अबको १५ दिनपछि आउँछ । यो पर्वमा गीत गाउँने र नाच्ने, सबै एकैठाउँमा भेला हुने गरिन्छ ।

यो पनि पढ्नुहोस कालापानीको एउटा गाउँ, जहाँ ६-६ महिनामा बासस्थान बदल्नुपर्छ

उनीहरु पोता भाषा बोल्ने गर्छन् । यो भाषा तिब्बती भाषासँग मिल्दोजुल्दो हुन्छ । आफू आफू कुरा गर्दा समेत सोही भाषामा कुरा गर्ने गरिएको छ । यस बाहेक स्थानीय क्यालेण्डर अनुसार आठौं महिनाको १५ गते माने पर्व मनाइन्छ । यस पर्व अनुसार घरमा भएका विभिन्न किसिमका कपडाहरु लगाउने र ढोल बजाउने गरिन्छ । यो राति र दिउँसोको समय सहित गर्दा ४ दिन चल्ने गर्छ ।

नाम्खाको नवीकरण

सुन्दर हिमाली पर्यावरणलाई धेरैले सुन्दर भनेर वर्णन गरे । सरकारले पनि घुम्नको लागि सिफासिर गर्‍यो । तर, धेरै नेपालीहरुले अझै पनि महत्व नबुझेको एउटा सुदूर उत्तरी गाउँ हो नाम्खा ।

नेपालकै आर्थिक हिसाबले कमजोर जिल्लाको पनि कमजोर गाउँ विकास समितिहरु मिलाएर सरकारले नयाँ संरचना अनुसार यो गाउँपालिकाको संरचना खडा गर्‍यो । सम्भावनालाई नै समृद्धिको सूचक मान्नु बाहेक गाउँपालिकासँग कुनैपनि विकल्प थिएन । २०७० सालमा जिल्ला विकास समितिले विकासमा कमजोर भनेर चौथो वर्गमा राखेका ५ गाविसहरुको सूचीमा हेप्का, लिमी, मैला, मुचु र बरगाँउ परेको थियो । यो गाउँपालिका यही चौथो श्रेणीमा परेका हेप्का, लिमी, मुचु र दोस्रो श्रेणीमा परेको खलालगाउँ मिलेर बनेको हो ।

यो पनि पढ्नुहोस उपल्लो मुस्ताङको यस्तो गाउँ, जहाँ छुटै राजा छन्

नयाँ संरचनाले यो गाउँपालिकाको विकासको लागि ठूलो चुनौती थप्यो । लिमीले हल्जी गुम्बालाई आफ्नो ब्राण्डको रुपमा विकास गर्‍यो, याल्वाङ्ग गुम्बाले त्यसलाई साथ दियो । लिमी भ्याली त्यसको साक्षी बस्यो ।

खलाल गाउँले केर्मी तातोपानीलाई आफ्नो ब्राण्डको रुपमा प्रचार गर्‍यो । हिल्सा नाकालाई सिंगो गाउँपालिकाले आफ्नो सम्झिए । नाकामा झण्डै ६ महिना चल्ने होटलहरुमा केवल लिमीका लामाहरुले मात्रै दाबी गरेनन् । अरु वडाका पनि धेरैले त्यसमा सहभागिता जनाए । सबैले विशेषगरी भारतीय पर्यटकहरुलाई मानसरोवर मार्फत् मुक्तिको बाटो देखाए । आफूले त्यसैबाट गुजारा चलाए ।

नाम्खालाई यति मात्र पर्यटकले पुगेको छैन । लिमीका झण्डै ४० परिवार जति रहेको लामा गाउँ यतिबेला पर्यटन वर्षमा धेरै पर्यटकहरुलाई स्वागत गर्ने पर्खाइमा छ । अरुले जस्तो यो गाउँले प्रचारप्रसार गरेर पर्यटनको भोक देखाएको छैन । बरु उनीहरुको लागि टाढाको भएपनि ताक्लाकोटको मजदुरी नै प्यारो छ । मिस्त्री बनेर पनि जीवन चलिरहेको छ । तर, भिन्न किसिमको आनन्दको आश्वाधन गर्न चाहनेहरुको लागि यो गाउँले कहिलै पनि नराम्रो व्यवहार गरेर र गर्दैन पनि ।

स्वास्थ्य सुविधामा सुधारिँदो अवस्था

जतिबेलासम्म स्थानीय जनप्रतिनिधिहरुको अवधारणा आएको थिएन । त्यतिबेलासम्म यहाँ एउटा गाउँबाट नजिकैको स्वास्थ्य चौकीसम्म पुग्नको लागि पनि एक दिन हिँड्नुपर्ने बाध्यता थियो । तर, गाउँपालिकाको अवधारणा आएपछि प्रदेश र गाउँपालिका मिलेर स्वास्थ्य संस्थाहरुको विकास गरेका छन् । अहिले गाउँपालिकाको खलाल गाउँ, हेप्का, लिमी, मुचु चारै ठाउँमा एक-एक वटा स्वस्थ्य चौकीहरु सञ्चालनमा आएको छ । अहिले त्यहाँ भौतिक संरचना पनि खडा भइसकेको छ ।

त्यस्तै, ताला, इयारी, याल्वाङ, ताङ्गीनमा स्वास्थ्य इकाईहरु खडा गरेर आधारभूत स्वास्थ्य उपचारहरु गरिँदै आइएको छ । त्यस्तै, कुर्मीमा पनि भर्खरै आधारभुत स्वास्थ्य चौकी स्थापना भइसकेको छ । अब एक दिनसम्म हिँडेर स्वास्थ्य चौकी जानुपर्ने बाध्यता तिल, जाङ र हल्जीका बासिन्दाहरुलाई छैन ।

जहाँ टेलिफोनको घण्टी बज्दैन

नाम्खा गाउँपालिकामा कूल ३ हजार ९ सयको जनसंख्या रहेको २०६८ सालको जनगणनाको आधारमा गाउँपालिकाले जनाएको छ । तर, यहाँका अधिकांश ठाउँमा टेलिफोनको सुविधा छैन । गाउँपालिकाका उपाध्यक्ष पेमा तामाङका अनुसार गाउँपालिकाको वडा नं एक हेप्का – तान्जिङ, ३ नं को खङ्गाल गाउँ, २ नं को किर्मी, ५ नंको यारी हिल्सा र ६ नं को लिमीको पुरै वडामा टेलिफोन सेवा छैन ।

उनी भन्छन् ‘मैले धेरै पहल गरेको छु । चिनियाँ कम्पनीलाई यसको जिम्मेवारी दिएको छु भनेर टेलिकमका अधिकारीहरुले भनेका छन् । तर, अहिलेसम्म केही पनि भएको छैन । अहिले ती गाउँहरु पूर्ण रुपमा टेलिफोन सेवाबाट टाढा छन् ।’

यो पनि पढ्नुहोस पूर्वको यस्तो गाउँ : न बाटो छ, न टेलिफोन

मानसरोवरको दर्शन हुम्लाबाटै

लिमी गुम्बा, ब्यालिङ, रानी सैना, याल्वाङ गुम्बा, हेप्का गुम्बा आदि गाउँपालिका भित्र रहेको ऐतिहासिक क्षेत्रहरु हुन् । त्यसमध्ये ऐतिहासिक रानी सैना हुम्ला, बाजुरा र बजाङको सीमानामा पर्ने ठाउँ हो । रानी सैनाबाट सैपाल हिमाल, पाटन, खर्क, भँेडाका बथान, हिमश्रृङखला, जंगल, जंगली जनावर लगाएको दृश्यावलोकन गर्न सकिन्छ । यो ठाउँ हुम्ला सदरमुकामबाट जाँदा नजिक पर्ने उपाध्यक्ष तामाङले बताए ।

त्यस्तै, याल्वाङ गुम्बा झण्डै हजार वर्ष पुरानो भएको दाबी गाउँपालिकाको छ । यद्यपि यसको समय यकीन भइसकेको छैन । तिब्बतका दलाई लामासँग युद्ध हुँदा यो गुम्बा पनि भत्किएको थियो । सन् २०१८ मा यसको पुनर्निर्माण गरिएको स्थानीय बताउँछन् ।

त्यस्तै, हेप्का गुम्बा भएको ठाउँमा १५-२० वटा तालहरु छ । त्यो तालको छेउमा एउटा खोला छ । त्यो खोलामा स्थानीय पात्रो अनुसार चौथो महिनाको १५ गते देशभरका गरुडहरु नुहाउन भेला हुन्छन् भन्ने जनविश्वास छ ।

त्यस्तै, त्यही ठाउँमा रहेको लाप्चा तालबाट आकाश खुलेको बेलामा कैलाश मानसरोवर सहजै देख्न सकिन्छ । त्यो ताल आफैंमा सानो भएपनि कैलाश मानसरोवरकै आकारको रहेको स्थानीय बताउँछन् ।

होटल र यातायात सुविधा

होटल र यातायात सुविधामा गाउँपालिकाको अन्य स्थानहरुमा होमस्टे स्टाइलको बसाईको सुविधा रहेको छ । तर, हिल्सा नाकामा भने सुविधासम्पन्न होटलहरु सञ्चालनमा छन् । मानसरोवर जाने समयमा सिमीकोटबाट हिल्सासम्म हेलिकोप्टर चल्छ । हिल्साका होटलहरु हिउँदमा पुरै बन्द हुन्छ । घर कुर्ने एकाधबाहेक अरु सबै हिउँद लागेपछि बेसी र्झने गर्छन् । बैशाखबाट असोजसम्म मात्रै त्यहाँ व्यापार हुन्छ । त्यसैबाट गाउँपालिकाको आर्थिक स्रोतहरु चल्ने गरेको छ ।

हेप्का, खलाल गाँउ, लिमी र मुचु, गाविसहरुमा तामाङ्ग/पोता भाषाको बाहुल्यता रहेको क्षेत्र हो भने जिल्लाको वरई लगायत अधिकांश अन्य गाउँपालिकाहरुमा धेरैले नेपाली भाषा मात्रै बोल्ने गर्छन् ।

यो गाउँपालिकामा सबैभन्दा बढी लिमी गाविसमा ३,०३०.७१ हेक्टर पर्ति जग्गा रहेको छ । यस बाहेक टाक्ची खर्क, मिङ खर्क, टुलुङ खर्क, खिरपानी खर्क, जिमजेन, पोलु खर्क, बुकोपाल्वाङ खर्क जस्ता ठूला खर्कहरु यही गाउँपालिकामा रहेका छन् । यिनीहरु नै पर्यटनका आकर्षणहरु हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment