+
+
Shares

अण्डा उत्पादक संघ र वितरकबीचको विवाद उत्कर्षमा, पाँच जना किसान पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर ३० गते १५:०१

३० मंसिर, चितवन । नेपाल अण्डा उत्पादक संघ र अण्डा, दाना तथा कुखुरा वितरक संघबीच बढेको विवाद चरम उत्कर्षमा पुगेको छ । अण्डाको मूल्य अण्डा, दाना तथा कुखुरा वितरक संघले आफुखुसी तोकेको भन्दैं नेपाल अण्डा उत्पादक संघले बिरोध गरेको छ ।

सोमबार भरतपुरमा पत्रकार सम्मेलन गरी अण्डा उत्पादक संघले बिचौलियाले किसानको उत्पादनको मूल्य तोकेको भन्दै आपत्ति जनाएको छ । गत कात्तिक २१ गते अण्डा उत्पादक संघ, अण्डा उत्पादक तथा बिक्रेता र वितरक बीच भएको त्रिपक्षीय सम्झौताको उल्लंघन गर्दै अण्डाको मूल्य वितरकले आफूखुसी घटाएर किसानलाई मारमा पारेको आरोप अण्डा उत्पादक संघले लगाएको छ ।

सहमतिमा प्रति क्रेट ठूलो अण्डाको खरिद मूल्य २७५ र बिक्री मूल्य २८० तथा मध्यम अण्डाको प्रतिक्रेट खरिद मूल्य २५५ र बिक्री मूल्य २६० तोक्ने उल्लेख छ । तर, यो सहमतिलाई तोडेर वितरकहरूले किसानका फार्मबाट ठूलो अण्डा प्रति क्रेट २४० मा खरिद गरेको संघका अध्यक्ष शिवराम केसीले आरोप लगाए । अण्डा उत्पादन गर्ने हामी किसान, मूल्य तोक्ने बिचौलिया दलाल ? अध्यक्ष केसीले आक्रोश व्यक्त गर्दै भने, ‘अण्डाको मूल्य अण्डा उत्पादन गर्ने किसानले तोक्ने की सप्लार्यस बिचौलियाले, एक पेटी बेच्दा ५ सय नाफा खान्छन् ?’ उनले प्रहरी प्रशासनले समेत बिचौलियाको भाषा बोलेको आरोप लगाए । उनले किसानको लागत अनुसारको मूल्य लिन कसैले पनि रोक्न नसक्ने बताए । ‘दाना सप्लाई गर्ने, उद्योग खोल्ने, चल्ला दिने, औषधी दिने बिचौलियाले किसान मर्कामा परेका छन्’ अध्यक्ष केसीले भने, ‘साना किसानलाई घेरावन्दीमा पारेर उनीहरुकै निर्देशन अनुसार हिड्नुपर्छ, आफ्नो उत्पादनको मूल्य आफै राख्न पाइदैन ।’

अण्डा, दाना तथा कुखुरा वितरक संघका अध्यक्ष तेजनारायण पाण्डेले अण्डा उत्पादक संघले तोकेको मूल्यमा अण्डा उठान नसक्ने भएपछि आफै मूल्य तोकेको बताए । ‘उहाँहरुले तोकेको ठूलो अण्डाको मूल्य २७५ रुपैयाँमा हामीले अण्डा वितरण गर्न सक्दैनौँ भनेर २७० रुपैयाँ मूल्य निर्धारण गरेको थियौँ’ उनले भने, ‘यसै क्रममा आक्रोश पोखियो ।’ उनले किसानका समस्याका बारेमा आफूहरु गम्भीर रहेको बताए ।

‘अण्डाको मूल्य तोक्ने अधिकार उहाँहरुलाई पनि छैन, हामीलाई पनि छैन,’ पाण्डेले भने, ‘यो राज्यले जिम्मा लिनुपर्छ, किसानले अण्डा नदिन पाउँछन्, हामीले सिण्डिकेट गरेका छैनौं ।’

संघका निर्वतनमा अध्यक्ष रामलाल भुषालले आफूहरुले मूल्य तोकेर यतिभन्दा बढीमा उठाउन सक्दैनौं भन्ने जानकारी मात्रैं वितरकलाई गराएको दाबी गरे । अण्डा उत्पादक एक किसानका अनुसार सप्लार्यसहरुले दाना, चल्ला र औषधी दिने र उसले नै आफू खुसी अण्डाको मूल्य तोकेर लैजाने गरेको गुनासो गरे । ‘हाम्रो कुनै निर्णय लागू हुँदैन, हामी स्वतन्त्र हुँदैनौं, दाना उनीहरुले नै दिन्छन्,चल्ला उनीहरुले नै दिन्छन्, मात्रै हामी पालिदिन्छौं, दुःख गछौं,’ ती किसानले दुखेसो पोख्दै भने, ‘अण्डाको भाउ हामीले तोक्यौं भने, दाना र चल्लाको पैसा माग्छन्, हामीले कहाँबाट दिने, बरु अण्डा नै आफैं मूल्य तोकेर लैजानुस् भन्छौं ।’

सप्लार्यसहरुले किसानसँग निकै सस्तोमा अण्डा लिएर २४० रुपैयाँप्रति क्रेट नाफा खाएर बेच्ने गरेका छन् । प्रति अण्डा उत्पादन लागत ११ रुपैयाँ दुई पैसा पर्न आउँछ । एक क्रेटमा ३० अण्डा हुन्छ । कुखुरा पालेर अण्डा उत्पादन गर्दा कुनै फाइदा नभएको किसानहरुको भनाइ छ ।

के हो विवादको घटनाक्रम ?

गत कार्तिक २१ गते त्रिपक्षीय रूपमा बसेर अण्डाको मूल्य तोक्ने सहमती भयो । सो मूल्य मंसिर २१ गतेसम्म लागू भयो । त्यसपछि भने अण्डा, दाना तथा कुखुरा वितरक संघले अण्डाको मूल्य आफू खुसी घटाउन थाल्यो । मंसिर २३ गते अण्डा उत्पादक संघले निर्धारण गरेको मूल्य कार्यान्वयनको अवस्थाका बारेमा उपाध्यक्ष किरणभूषण ओलीको संयोजकत्वमा ११ सदस्यीय अनुगमन समिति गठन भयो । कात्तिक २१ गते तोकिएको मूल्यमा नै बेच्ने सर्कुलर संघले मंसिर २४ मा पठायो । मंसिर २५ गते अण्डाको निर्धारित मूल्य कायम राखिदिन माग गर्दै जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा संघले ज्ञापनपत्र बुझायो । सोही दिन त्रिपक्षीय छलफल गरेर विवाद समाधान प्रयास भयो ।

मंसिर २६ गते प्रजिअको निर्देशन अनुसार आन्तरिक सहमति गरेर आउन भनियो । तर वितरक संघले आफू खुसी ठूलो अण्डाको मूल्य प्रतिक्रेट २७० कायम गरेको जानकारी दियो र मंसिर २७ गते नारायणगढ कमलनगरमा बैठक बोलायो । सोही बैठकमा किसानका प्रतिनिधिहरू उपस्थित भएपछि हातहालाहालको अवस्था आयो । वितरक संघले किसानहरूले अभद्र व्यवहार गरेको भनेर ६ जनाविरुद्ध जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिए ।

प्रहरीले जाहेरीका आधारमा पाँच जनालाई पक्राउ गरेको छ । भरतपुर महानगरपालिका-६ का प्रकाश अधिकारी, वडा-२३ का आनन्द मास्के, कालिका नगरपालिका-६ का रामहरि केसी, सोही वडाका दिपेश्वर केसी र भरतपुर-१४ का राजेन्द्र साँखीलाई पक्राउ गरेको छ ।

अण्डा, दाना, कुखुरा वितरक संघले दिएको किटानी जाहेरीका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एकनारायण कोइरालाले जानकारी दिए । उनीहरू पाँचै जनालाई अभद्र व्यवहार सम्बन्धी मुद्दामा म्याद थप गरिएको छ ।

अण्डा, दाना, कुखुरा वितरक संघका अध्यक्ष तेजनारायण पाण्डेले किसानले वितरक संघका महासचिव वीरबहादुर गुरुङ र निवर्तमान अध्यक्ष रामलाल भुषाललाई हातपात र कुर्सी तोडफोड गरेका कारण प्रहरीमा किटानी जाहेरी दिएको बताए ।

नेपाल अण्डा उत्पादक संघले पक्राउ परेका अण्डा उत्पादक किसानहरुलाई तत्काल रिहाइको माग गरेको छ । माग पूरा नभए आन्दोलन गर्ने चेतावनी संघका अध्यक्ष शिवराम केसीले दिए । अध्यक्ष केसीले किसानलाई प्रहरीको हिरासतमा राखेर ‘विचौलिया’ले राज गर्न खोजेको आरोप लगाए । उनले किसानलाई मारेर आफै मूल्य निर्धारण गर्न खोजेपछि समस्या उत्पन्न भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?