+
+

सुटुक्क हटाइए सैनिक महाविद्यालयका प्रिन्सिपल

गौरव पोखरेल गौरव पोखरेल
२०७६ मंसिर ३० गते १६:०७

३० मंसिर, काठमाडौं । सैनिक अवासीय महाविद्यालय, सल्लाघारीका प्रिन्सिपल सुरेन्द्र पनेरु जिम्मेवारीबाट हटाइएका छन् ।

विद्यार्थीमाथि यौनदुर्व्यवहार गरेको आरोप लागेपछि पनेरुलाई एक साताअघि बर्खास्त गरिएको हो । तर, नेपाली सेनाले यो विषयलाई गुपचुप राखेको छ ।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका सेनानी सुवास थापाले घटनाबारे सुनेको भए पनि बुझ्न नपाएको बताए । उनले अनलाइनखबरसँग भने, ‘अहिलेलाई हटाएको भन्ने सुन्नमा आयो, तर के हो बुझ्न पाएको छैन ।’

सैनिक स्रोतका अनुसार १३ मंसिरमा विद्यालयको मुखपत्र ‘सल्लाघारी’का लागि फोटो खिच्ने क्रममा पनेरुले कक्षा १२ मा पढ्न छात्रामाथि दुर्व्यवहार गरेको आरोप छ । त्यससम्बन्धमा विद्यालय व्यवस्थापन समितिले छानबिन गरिरहेको छ । पीडितले भने हालसम्म घटनाबारे प्रहरीमा लिखित वा मौखिक उजुरी दिएका छैनन् । घटनाबाहिर ल्याउन नदिन दबाब दिइएकाले उजुरी नपरेको स्रोतको दाबी छ ।

जिल्ला प्रहरी कार्यालय, भक्तपुरका प्रमुख एसपी सविन प्रधानले घटनाबारे कुनै जानकारी प्राप्त नभएको अनलाइनखबरलाई बताए ।

साढे दुई वर्षदेखि पि्रन्सिपलका रुपमा कार्यरत पनेरुले भने आफूलाई गलत आरोप लगाइएको बोर्डका सदस्यहरुसँग दाबी गरेका छन् ।

यसबारे अनलाइनखबरले सोध्दा उनले प्रष्ट जवाफ दिएनन् । तर सैनिक अवासीय महाविद्यालय छाडेको स्वीकार गरे ।

उनले भने, ‘छाडेर हिँडिसके अब कोट्याएर अर्थै छैन ।’

‘दुनियाँमा यस्ता यस्ता छन्… सत्य, असत्य, दुःख दिने सुख दिने सबै छन्’, पनेरुले थपे, ‘भनेर केही हुने वाला छैन । बन्दुकको गोली फर्किँदैन नि ? त्यस्तै हो ।’

वि.सं. २०३५ सालमा मकवानपुरको भिमफेदीमा स्थापना भएको महाविद्यालय वि.सं. २०४४ सालदेखि सल्लाघारीमा सञ्चालित छ ।

यसअघि १० वैशाखमा सेनाले बाँसबारीस्थित सैनिक विद्यालयका प्रधानाध्यापक, शिक्षक र कर्मचारी गरी ३ जनालाई पनि बर्खास्त गरेको थियो ।

विद्यार्थी भर्नाका लागि सञ्चालन भएको प्रवेश परीक्षामा सहभागीलाई पास गराउन भूमिका खेलेको पुष्टि भएपछि उनीहरु बर्खास्तीमा परेका थिए ।

लेखकको बारेमा
गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि राष्ट्रिय सुरक्षा एवं समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?